दिल्लीबाट आएको बसमा ५३ लाखका तस्करीका सामान बरामद

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण

दिल्लीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसबाट प्रहरीले करिब ५३ लाख रुपैयाँबराबरका मोबाइल, ल्यापटप, कपडा तथा विद्युतीय सामग्री बरामद गरेको छ।

भदौ ४ गते नागढुंगा चेक प्वाइन्टमा नियमित जाँचका क्रममा बागमती प्रदेश ०३-००१ ख ३५३६ नम्बरको बसबाट बिल-बिजकविहीन सामान फेला परेको हो। प्रहरीले बसका विभिन्न भागमा लुकाइएका २६२ थान मोबाइल, ६ थान ल्यापटप, चार्जर, ब्याट्री, कपडा, जुत्तालगायत सामान बरामद गरेको जनाएको छ।

घटनामा संलग्न भएको आरोपमा बसचालक ३४ वर्षीय पवित्र रानामगर पक्राउ परेका छन्। बरामद सामान र चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

सामान कसको स्वामित्वमा थियो र तस्करीमा अन्य व्यक्ति संलग्न थिए–थिएनन् भन्नेबारे अनुसन्धान भइरहेको छ।

सुझावित समाचार