खहरेले बगाएर बेपत्ता भएकी सुमित्राकाे शव चार दिनपछि फेला

गत मंगलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा वासुदेव खहरेमा आएको बाढीले चार बालिकालाई बगाएको थियो

शुक्रबार, ५ भदौ, २०८३
डिजिटल संस्करण
  • वासुदेव खहरेमा आएको बाढीले बगाएर ज्यान गुमाउने बालिकाको संख्या तीन पुग्याे

हेटौँडा उपमहानगरपालिका– १९, बस्तीपुरस्थित वासुदेव खहरेमा आएको बाढीले बगाएर बेपत्ता भएकी थप एक बालिकाको शव फेला परेको छ । शुक्रबार बिहान ११ वर्षीया सुमित्रा ब्लोनको शव राप्ती खोलामा फेला परेसँगै घटनामा ज्यान गुमाउने बालिकाको संख्या तीन पुगेको हाे ।

गएको मंगलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा वासुदेव खहरेमा आएको बाढीले चार बालिकालाई बगाएको थियो । उनीहरू हेटौँडा– १९, बस्तीपुरस्थित निर्मल माध्यमिक विद्यालयमा अध्ययनरत थिए ।

यसअघि बाढीले बगाएकामध्ये रेश्मा स्याङ्तानको शव घटनास्थलबाट करिब पाँच सय मिटर तल मंगलबार साँझ नै फेला परेको थियो । त्यसैगरी विनिता ब्लोनको शव बुधबार बिहान वासुदेव खहरे र राप्ती खोलाको दोभान क्षेत्रमा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुमित्राको शव खोजी गर्दै जाने क्रममा शुक्रबार बिहान करिब ७ बजे बगाएको स्थानबाट करिब पाँच किलोमिटर तल मनहरी गाउँपालिका– ३, लामिटारस्थित राप्ती खोलामा फेला परेको हो ।

प्रहरीका अनुसार शव खोलाको काँस र बालुवामा अल्झिएको अवस्थामा फेला परेको थियो । शव भेटिएपछि कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक राजेशकुमार बर्तौलाको कमान्डमाको प्रहरी टोली घटनास्थल पुगेको छ।

चारमध्ये तीनको मृत्यु
मंगलबार विद्यालय बिदापछि घर फर्कने क्रममा बाढीमा परेका चार बालिकामध्ये तीनजनाको मृत्यु भएको छ । घटनामा रेश्मा स्याङ्तान, विनिता ब्लोन र सुमित्रा ब्लोनको मृत्यु भएको हो । अर्की बालिका सीमा ब्लोन भने घाइते अवस्थामा फेला परेकी थिइन् । उनको हेटौँडा अस्पतालमा उपचार भएको छ। मकवानपुरको राक्सिराङ गाउँपालिका– १, भुमेथुम घर भएका उनीहरू अध्ययनका लागि हेटौँडा– १९, बस्तीपुर आउने गरेका थिए ।

See More On

सुझावित समाचार