- दोस्रो वामपन्थी लहर छोटो मात्र होइन, प्रभावका हिसाबमा पनि पूर्ववर्ती लहरभन्दा कम उपलब्धिपूर्ण रह्यो
गतमा वकालत पेसामा रहेका दक्षिणपन्थी नेता एबेलार्डो डे ला एस्प्रिएलाले गत अगस्ट ७ मा कोलम्बियाको राष्ट्रपतिको रूपमा शपथ लिए । उनले वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोलाई प्रतिस्थापन गरेका हुन् । योसँगै ल्याटिन अमेरिकाको अर्को एक देशको सरकार वामपन्थीबाट दक्षिणपन्थीतर्फ गएको छ । पछिल्लो केही ल्याटिन अमेरिका भएर एकपछि अर्को वामपन्थी नेता सरकारबाट बाहिरिएको यो अर्को घटना हो ।कोभिड–१९ महामारी लगत्तैपछिको दृश्य भने अलग थियो ।
कोलम्बियामा पेट्रो निर्वाचित हुनुका साथै वरपरका धेरै देशमा वामपन्थी उम्मेद्वार सत्तामा आए । त्यस समय वामपन्थीको एकपछि अर्को विजय यति व्यापक थियो कि धेरै पर्यवेक्षकले यसलाई ‘दोस्रो गुलाबी लहर’को संज्ञा दिएका थिए । अर्थात्, यसको तुलना १९९० को दशकको अन्त्यदेखि २०१० को दशकको सुरुवातसम्म ल्याटिन अमेरिकी देशमा एकपछि अर्का वामपन्थी र समाजवादी सरकार निर्माणलाई जनाउन भनिएको ‘पहिलो गुलाबी लहर’को स्मरण गराएको थियो ।
पहिलो गुलाबी लहरमा सत्तामा आएका वामपन्थीले कैयौँ दक्षिण अमेरिकी देशको घरेलु र विदेश नीति परिवर्तन गरे । त्यस वेला ल्याटिन अमेरिकी देशबिच क्षेत्रीय एकीकरणको साझा एजेन्डा नै अघि बढेको थियो । तथापि, त्यो वेला वामपन्थी सरकारलाई धेरै मात्रामा विश्वव्यापी रूपमा आएको उपभोग्य वस्तुको मूल्यमा आएको उछालले सघाएको थियो । त्यसले यसका देशले आवश्यक पर्याप्त सार्वजनिक राजस्व बढाउन सके । बढेको राजस्वको ठुलो हिस्सा सामाजिक खर्चमा लगाइएपछि आय असमानता घट्यो र शिक्षामाथिको पहुँच एक्कासि बढ्यो । पहिलो गुलाबी लहरको अन्त्यसम्ममा दक्षिण अमेरिकाका वामपन्थी सरकारबिच स्वास्थ्य, पूर्वाधार र द्वन्द्व समाधानमा क्षेत्रीय सहकार्य निर्माण भएको थियो ।
तर, सन् २०१० को दशकको मध्यसम्ममा उपभोग्य वस्तुको मूल्यमा गिरावट आउन थालेपछि अवस्था उल्टियो । बढ्दो आर्थिक चुनौतीमाझ उच्चपदस्थ भ्रष्टाचार काण्डले वामपन्थी दललाई थप बदनाम बनायो । मतदाताले शृंखलाबद्ध रूपमा दक्षिणपन्थी नेता चुन्न थाले । यी नेताले विदेश नीतिअन्तर्गत क्षेत्रीय एकीकरणको प्रयासलाई महत्व दिएनन् । यद्यपि, दक्षिणपन्थी नेताको जितको लहर पनि कोभिड–१९ ले रोकिदियो । अर्थात्, धेरै त एकल कार्यकालमै बाहिरिएका थिए ।
त्यही राजनीतिक परिवर्तनबिच ‘दोस्रो गुलाबी लहर’को जन्म भयो । यसबिच सन् २०२३ सम्ममा अर्जेन्टिना, बोलिभिया, चिली, कोलम्बिया र पेरुमा वामपन्थी नेताले सरकारको कमान्ड सम्हालिसकेका थिए । यसपटक पनि वामपन्थी नेताले देशभित्र आर्थिक असमानता घटाउने र दक्षिण अमेरिकी देशबिच क्षेत्रीय एकीकरणलाई आफ्नो विदेश नीतिको केन्द्रीय स्तम्भको रूपमा पुनर्जीवित गर्ने वाचा गरेका थिए । (एक अपवादका रूपमा मेक्सिकोमा सन् २०१८ देखि नै मोरेना पार्टीको नेतृत्वमा वामपन्थी सरकार छ, यद्यपि यसले दक्षिण अमेरिकासँगभन्दा उत्तर अमेरिकी क्षेत्रसँगको एकीकरणलाई प्राथमिकता दिँदै आएको छ ।)
पहिलो गुलाबी लहरको तुलनामा ल्याटिन अमेरिकाको दोस्रो गुलाबी लहर निकै छोटो साबित भयो । उसो त मेक्सिकोमा मोरेना पार्टी सन् २०२४ मा चुनावपछि फेरि सत्तामा फर्कियो । ब्राजिलका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा सम्भवतः आगामी अक्टोबर महिना हुने निर्वाचनमा पुनः पदमा फर्किन सक्छन् । तर, उनीहरूबाहेक यस भेगका तिनका वैचारिक समकक्षी भने एकपछि अर्को गर्दै सत्ताच्युत भए । फेरि महादेशभर वैचारिक लहर पुनः परिवर्तन हुँदै जाँदा, एक प्रश्न उब्जिएको छ, यसपटकको गुलाबी लहरले यस भेगलाई कत्तिको परिवर्तन गर्न सक्यो ?
प्रायः दक्षिण अमेरिकी वामपन्थी सरकारले गरिबी न्यूनीकरण कार्यक्रम विस्तार गरे । कोलम्बियामा राष्ट्रपति गुस्ताभो पेट्रोको कार्यकालमा बहुआयामिक गरिबी ऐतिहासिक रूपमा न्यून तहमा झरेको छ । उता ब्राजिल खाद्य असुरक्षालाई उल्लेखनीय रूपमा घटाउन सफल भएको छ । तर, विगतमा जस्तो बलियो राजस्वको अभावका कारण यसपटक यी पहलले उल्लेख्य सरकारी बजेट खर्च गर्यो । यसबाहेक पछिल्लो लहरको अवधिमा धेरै उलेखनीय नेताले अघिल्लोपटकमा जस्तो साहसी प्रगतिशील प्रतिज्ञा गरेको देखिएन । केही उल्लेखनीय योजनामा सशस्त्र समूहहरूसँग वार्ता गरेर हिंसा घटाउने पेट्रोको योजना र तानाशाहीकालमा लेखिएको देशको संविधान पुनर्लेखन गर्ने चिलीका पूर्वराष्ट्रपति गेब्रियल बोरिकको प्रस्ताव समावेश छ ।
विदेश नीतिको हिसाबमा क्षेत्रीय एकीकरणमा ठुला वाचा गरिएको छैन । दक्षिण अमेरिकी व्यापार समूह मर्कोसुरमा सन् २०२४ मा बोलिभियालाई थपेर केही विस्तार भयो । यस वर्ष सो समूहले युरोपेली संघसँग लामो समयदेखि हुन नसकिरहेको सम्झौतामा हस्ताक्षर गर्यो । यद्यपि, अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले यसबाट पछि हट्ने धम्की दिएपछि समूहलाई अक्षुण्ण राख्न सावधानीपूर्वक कूटनीति आवश्यक पर्यो ।
दोस्रो गुलाबी लहरका वामपन्थी नेताले विशेषगरी ब्राजिलमा सन् २००० को दशकको सुरुवातदेखि छलफलमा रहेका धेरै सीमापार पूर्वाधार करिडोरमाथिको संयुक्त कामलाई पनि पुनर्जीवित गरेका छन् । यसअन्तर्गत ‘क्याप्रिकोन बायोसेनिक करिडोर’पनि पर्छ, जसले दक्षिण अमेरिकाको पूर्वी तथा पश्चिम तटमा अवस्थित बन्दरगाह जोड्नेछ । यी करिडोरका समर्थकले बाहिरी शक्ति (विशेषगरी संयुक्त राज्य अमेरिका र चीन)ले यस क्षेत्रका लागि आफ्नै एजेन्डा अगाडि बढाउन खोजेको समयमा यहाँका देशले आफ्ना लागि आफ्नै आर्थिक भाग्यको निर्णय गर्ने रणनीति बनाउनुपर्छ ।
बाह्य देशको एजेन्डा मूलतः यस भेगका स्रोतमा पहुँच हासिल गर्नेमा केन्द्रित भएको पहिलो गुलाबी ज्वारभाटाको समयमा स्थापित हाल निष्क्रिय क्षेत्रीय निकाय ‘युनियन अफ साउथ अमेरिकन नेसन्स’का पूर्वआर्थिक मामिला निर्देशक पेड्रो सिल्भा बारोसले भने । क्याप्रिकोन बायोसेनिक करिडोरले भने अलग रूपमा दक्षिण अमेरिका देशभित्रका आर्थिक सम्बन्धलाई बलियो बनाउन र अपेक्षाकृत गरिब क्षेत्रमा औद्योगीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले लिएको बारोसले बताए । ‘चीन वा अन्य बाह्य क्षेत्रीय शक्तिसँग जोडिनेभन्दा पनि यही भेगका देशलाई एक–अर्कासँग जोड्नका लागि यो करिडोर बढी महत्वपूर्ण छ,’ उनले थपे ।
जारी क्षेत्रीय एकीकरणका प्रयास अब दक्षिणपन्थी नेताको उदयबिच टिक्छन् कि टिक्दैनन् भन्ने आशंका पनि उब्जिएको छ । तथापि, यी पूर्वाधारको दिगोपन वैचारिक उतारचढावको असर क्षत्रीय एकतामा प्रभाव पर्न नदिने क्षमतामा निर्भर हुन्छ । क्याप्रिकोन बायोसेनिक करिडोरमा भइरहेको बारम्बार ढिलाइले हालैका दशकमा यो कति गाह्रो छ भन्ने देखाउँछ । तैपनि, क्षेत्रीय पूर्वाधारका लागि पछिल्लो जोड दोस्रो गुलाबी लहरभन्दा पनि टिकाउ हुन सक्ने संकेत पनि देखिएका छन् ।
गत महिना, अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली र पाराग्वेले (जसमध्ये दुई देशमा अहिले अति दक्षिणपन्थी नेता सत्तामा छन्) एकल उड्डयन बजार सिर्जना गर्नेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरे । युरोपेली संघको जस्तै अवस्था निर्माणको उद्देश्य बोकेको यस सम्झौताले एक सदस्य देशमा आधारित एयरलाइन्स सहजै अर्को देशमा सञ्चालन गर्न सजिलो हुने गरी डिजाइन गरिएको छ । यसले बाहिरी शक्तिको होइन, दक्षिण अमेरिकी प्राथमिकताद्वारा आकार दिइएको क्षेत्रीय विदेश नीतितर्फ अर्को कदमलाई संकेत गर्छ । सम्भवतः यो नै दोस्रो गुलाबी लहरको विरासत हुन सक्छ ।
फरेन पोलिसीबाट
ओसबोर्न ब्राजिलमा रहेर छापा तथा रेडियोमा पत्रकारिता गर्छिन् ।