- चीनमा निर्यात गर्न नेपाली व्यवसायीले गुणस्तर, ब्रान्डिङ, प्याकेजिङ र परिमाणमा विशेष ध्यान दिनुपर्ने राजदूतको भनाइ, क्षमता विस्तार र निर्यात वृद्धिमा सघाउने प्रतिबद्धता
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाली वस्तुको चीनतर्फको निर्यात वृद्धिका लागि सघाउन नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङलाई आग्रह गरेका छन् । नेपाल र चीनबिचको व्यापारमा असन्तुलन उच्च भइरहेको सन्दर्भमा निजी क्षेत्रले निर्यात वृद्धिका लागि चिनियाँ सरकारको साथ खोजेको हो ।
सोमबार महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा अध्यक्ष श्रेष्ठले व्यवसायीको प्राथमिकता वास्तविक अर्डर र खरिदमा रहेको भन्दै त्यसमा सघाउन आग्रह गरेका हुन् । उनले चिया, कफी, जडीबुटी तथा हर्बल उत्पादन, हस्तकला, फेल्ट, हस्तनिर्मित कागज, तयारी पोसाक र सिंगिङ बाउललगायत नेपाली उत्पादनको चीनमा निर्यात बढाउन सकिने बताए ।
भेटमा चिनियाँ राजदूत माओमिङले नेपाल–चीन सम्बन्धलाई आर्थिक तथा व्यावसायिक क्षेत्रमा थप गहिरो बनाउनुपर्ने धारणा राख्दै नेपाली उत्पादनलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्न तथा दुई देशका व्यवसायीबिच प्रत्यक्ष सम्पर्क विस्तारमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल–चीन सम्बन्धलाई परम्परागत व्यापारिक सम्बन्धभन्दा माथि उठाउँदै लगानी, प्रविधि, संयुक्त उद्यम, निर्यात, पर्यटन तथा प्रत्यक्ष व्यावसायिक सहकार्यमा आधारित दीर्घकालीन आर्थिक साझेदारीमा रूपान्तरण गर्नुपर्ने बताए । त्यसका लागि सहजीकरण गर्न चीन तयार रहेको उनले बताए ।