धर्मको राजनीतिमा देउवा समूह

६ महिना विदेशमा उपचार गराएर फर्केका देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिकवृत्त तरंगित

सोमबार, १ भदौ, २०८३
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा कुटपिटमा परेका तथा विशेष महाधिवेशनबाट नेतृत्व गुमाएका कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ र ‘विवादित’ राजनीतिक कोर्स अगाडि बढाउने संकेत दिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित देउवा पक्षले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएर नयाँ राजनीतिक कोर्स सुरु गर्ने जनाउ दिएको हो । ६ महिना विदेशमा उपचार गराएर फर्केका देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरंगित भएको छ । 

पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षता तथा पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पारित पाँचबुँदे प्रस्तावमा सनातन धर्म–संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखिएको छ । जब कि कांग्रेस ठुलो शक्ति रहेकै वेला बनेको नेपालको संविधान–२०७२ ले सबै धर्मलाई समान मान्यता दिँदै धर्मनिरपेक्षतालाई आत्मसात् गरेको छ । 

सम्मेलनमा पारित प्रस्तावको तेस्रो बुँदामा नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख छ । साथै, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने तथा सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।

‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ,’ प्रस्तावमा छ । 

त्यस्तै, चौथो बुँदामा जनअपेक्षाअनुसार वर्तमान संविधानमा आवश्यक संशोधनका लागि संविधानमा रहेको व्यवस्थाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने उल्लेख छ । संविधानले धर्मनिरपेक्षतालाई आत्मसात् गरेको छ । राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रस्ताव तथा सुझाव समेटेर परिमार्जनसहित पारित निर्णयको अन्तिम दस्ताबेज तयार पार्ने जिम्मेवारी एनपी साउद नेतृत्वको कार्यदललाई दिइएको छ । कार्यदलमा उमाकान्त चौधरी, सीता राना, मीनबहादुर विश्वकर्मा र दीपक कुइँकेल सदस्य छन् । अब उक्त कार्यदलले ल्याउने प्रस्तावमाथि सबैको चासो छ । 

यति मात्र होइन, सम्मेलनको समापन कार्यक्रममा देउवाले आफू हिन्दु भएको पटक–पटक दोहोर्याएर यो विषयलाई राजनीतिक वृत्तमा प्रवेश गराएका छन् । यद्यपि, हिन्दु राष्ट्रको पक्षमा भने उनले स्पष्ट धारणा सार्वजनिक गरेनन् । आफू हिन्दु भए पनि सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने उनको भनाइ थियो । 

‘एउटा साथीले लेख्नुभएको छ– सनातन हिन्दु राज्यबारे केही बोलिदिनुपर्यो, बोलिदिनुपर्यो भनेर । सबै साथीहरूको इच्छा छ । मैले बोल्ने कुरा धेरै छैन, तर म हिन्दु हुँ । मेरो व्रतबन्ध पनि हिन्दु परम्पराअनुसार भएको हो । बहिनीको बिहे गर्नुपर्यो, के गर्ने भन्ने कुरा उठ्दा व्रतबन्ध गरेपछि बहिनीको बिहे गर्न मिल्छ भने । त्यसैले बहिनीको बिहे गर्न मैले व्रतबन्ध गरेर जनै पनि लगाएको हुँ । त्यसपछि मेरो बिहे पनि गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार नै भएको हो । त्यसकारण म व्यक्तिगत रूपमा पूर्ण हिन्दु हुँ । मलाई कसैले हिन्दु होइन भन्न सक्दैन ।’

देउवा यतिमा मात्र रोकिएनन् र भने, ‘म नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा छु । नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर, नेपाली हिन्दुलाई ‘हिन्दु हुन पाउँदैनस्’ भन्नचाहिँ पाइँदैन । म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ । म पशुपतिमा जान्छु, पशुपतिमा पूजा गर्छु । मलाई पर्सि पशुपति जाने मन छ । त्यसकारण मैले के भनिसकेँ भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।’

देउवाले बुद्धप्रति माया, श्रद्धा रहेको र बुद्धिजमलाई आज संसारले मानेको पनि बताए । ‘बुद्धप्रति मेरो माया छ, श्रद्धा छ । बुद्धिजमलाई आज संसारले मानेको छ । आज बुद्धिजमलाई त साइन्टिफिक रिलिजन पनि भनेको छ । वैज्ञानिक धर्म पनि मानेका छन् । त्यो प्राकृतिक धर्म मान्ने देश हाम्रो राई, लिम्बूहरूको प्राकृतिक त्यो सबैलाई हामीले सम्मान गर्नुपर्छ, त्यसलाई म सम्मान गर्छु,’ सम्बोधनमा देउवाले भने ।

राजनीतिक विश्लेषक गोपाल प्रसाईंले देउवाले हिन्दु धर्मको नाममा ब्रह्मास्त्र फालेको भए पनि त्यसले काम गर्ने सम्भावना कमजोर रहेको टिप्पणी गरेका छन् । ‘खासमा कांग्रेस स्थापनाकालदेखि नै धर्मनिरपेक्षताको पक्षमा उभिँदै आएको पार्टी हो । ०४७ सालको संविधान जारी गर्दा कांग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिए पनि पार्टीका नेताहरूले व्यवहारतः धर्मनिरपेक्षताको वकालत गर्दै आएका थिए । कांग्रेस आफ्नो ८० वर्षे इतिहासकै कमजोर अवस्थामा पुगेको छ ।

पार्टीको आधिकारिकता विवाद अदालतमा विचाराधीन छ भने आन्तरिक आरोप–प्रत्यारोप र गालीगलौजले पनि चरम रूप लिएको छ,’ उनले नयाँ पत्रिकासँग भने, ‘करिब ६ महिना विदेशमा उपचार गराएर फर्किएपछि देउवाले हिन्दु धर्मको विषय उठाउनुभएको छ । तत्काल केही हिन्दु मतदातालाई प्रभावित पार्ने उद्देश्यले यो विषय अघि सारिएको हुन सक्छ । देउवालाई कसैले गैरहिन्दु भनेकै छैन, उहाँले पटक–पटक ‘म हिन्दु हुँ’ भनिरहनुपर्ने अवस्था पनि थिएन । धर्म मान्ने स्वतन्त्रता संविधानले नै सुनिश्चित गरेको छ । जेन–जी आन्दोलनपछि पुरानो नेतृत्वप्रति व्यापक वितृष्णा देखिएको छ । यस्तो अवस्थामा हिन्दु धर्मको मुद्दालाई ‘अन्तिम ब्रह्मास्त्र’का रूपमा अघि सारिएको हुन सक्छ । तर, यो अस्त्रले पनि कांग्रेसको संकट टार्न काम गर्लाजस्तो देखिँदैन ।’

सम्मेलनका प्रचार समिति प्रमुख मीन विश्वकर्माले देउवाले आफूले लेखेको ड्राफ्टका आधारमा बोलेको नभई व्यक्तिगत रूपमा धारणा राखेको र त्यसलाई कांग्रेसको आधिकारिक लाइनका रूपमा बुझ्न नहुने बताएका छन् । ‘सबै नेताहरूको सहमतिमा मलाई ड्राफ्ट तयार पार्न भनिएको थियो । मैले सहमतिअनुसार ड्राफ्ट तयार पारेर ल्याएँ । सभापतिलाई वक्ताका रूपमा बोलाउने काम भएको थियो । सभापतिको नाम बोलाउँदा म गेटबाट भित्र छिर्दै थिएँ ।

सभापतिले बोलिदिनु भनेपछि उहाँले बोलिदिनुभएको हो,’ उनले भने, ‘आफ्नो धर्म मान्ने अधिकार प्रत्येक नागरिकलाई छ । म यो धर्म मान्छु भन्नु नौलो कुरा होइन । विवाद झिक्न खोजिएको हो । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षधरबाट खेल्ने काम भएको देखियो । कांग्रेसको आधिकारिक लाइन त्यस्तो होइन । हामी कुनै धर्म विशेषको पक्षमा छैनौँ ।’

आइतबार साँझ विश्वकर्माले जारी गरेका सम्मेलनका २० निष्कर्ष तथा निर्देशनमा भने धर्म सम्प्रदायको विषय मात्र उठान गरिएको छ । १६ नम्बर बुँदामा लेखिएको छ, ‘नेपाल एक बहुजाति, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक भएकाले संविधानले निर्दिष्ट गरेका सबै धर्म सम्प्रदायलाई आ–आफ्नो धर्म संस्कृतिको पालना तथा संरक्षण गर्न पाउने स्वतन्त्रतालाई संवैधानिक रूपमै थप स्पष्ट र सुदृढ गर्दै मुलुकमा सामाजिक सद्भाव तथा धार्मिक–सांस्कृतिक सहिष्णुता थप मजबुत गरिनेछ ।’ 

कांग्रेस उपसभापति पुष्पा भुसालले इतर पक्षको सम्मेलन र त्यसले पारित गरेका प्रस्तावमाथि गम्भीर छलफल गरेर सोमबार निर्णय गर्ने बताइन् । ‘उहाँहरूले भेला बोलाएर त्यसलाई राष्ट्रिय सम्मेलनमा रूपान्तरण गरी विभिन्न प्रस्ताव पारित गर्नुभएको कुरा आएको छ । सम्मेलन भनेपछि त्यो विधानभित्रको विषय पनि हो । त्यसैले यस विषयमा हामी गम्भीरतापूर्वक छलफल गछौँ । यसको औचित्य, आवश्यकता र विधानसम्मत प्रक्रियालगायतका विषयमा विचार गरेर भोलिको बैठकबाट एउटा निर्णयमा पुग्छौँ,’ उनले नयाँ पत्रिकासँग भनिन् । 

भेलाले १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा गर्ने जिम्मा शशांकलाई दिएको छ । ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ,’ पारित प्रस्तावको पहिलो बुँदामा छ । 

शशांकले वेलावेलामा हिन्दु राष्ट्रका विषय उठाउँदै आएका छन् । १५औँ महाधिवेशनको तयारीमा शशांकलाई अघि सार्नुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ । दुई वर्षअघि कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै हिन्दु राष्ट्रका विषयमा जनमतसंग्रह गराइनुपर्ने बताएका थिए । पार्टीहरूको हस्तक्षेपविनाको जनमतसंग्रहबाट आउने परिणाम सबैले स्विकार्नुपर्नेमा उनले जोड दिएका थिए ।

दुई वर्षअघि ललितपुरमा भएको कांग्रेसको महासमिति बैठकस्थलमा सनातन हिन्दु राष्ट्रको पक्षमा चलाएको अभियानमा पनि कोइरालाले हस्ताक्षर गरेका थिए । यसअघि कांग्रेसका नेता तथा पूर्वसांसद शंकर भण्डारी समूहले राजसंस्था र हिन्दु राष्ट्रका विषयमा आवाज उठाउँदै आएको छ । सबै धर्मको सम्मान हुने गरी वैदिक सनातन हिन्दु राष्ट्र राष्ट्रिय एकता र शान्तिको आधार भएको उनीहरूको दाबी छ । पहिला खुमबहादुर खड्काको नेतृत्वमा थियो ।

२ वर्षअघि गोदावरीमा भएको महासमिति बैठकमा उपस्थितमध्ये बहुमतको हस्ताक्षर हुँदा पनि बैठकले अघि बढाएन । त्यसअघि १४औँ महाधिवेशनमा पनि उनीहरूले हस्ताक्षर अभियान चलाएका थिए । तर, महाधिवेशनले त्यसलाई अपनत्व लिएन ।

‘०७१ सालदेखि वैदिक सनातन हिन्दु राष्ट्र महाअभियान जारी छ । यो प्रज्ञा प्रतिष्ठानमा भेला गरेर गठन गरिएको हो । पुनस्र्थापित संसद्ले गल्ती ग¥यो भनेर हामीले क्याम्पियन गर्यौँ,’ महाअभियानका  सहसंयोजक एवं प्रवक्ता लोकेश ढकालले भने, ‘राष्ट्र बचाउने हो भने संवैधानिक राजसंस्था र वैदिक सनातन हिन्दु राष्ट्र हुनुपर्छ ।’ 

राष्ट्रियता संकटमा भएको वेला कांग्रेस सच्चिएर अगाडि जानुपर्नेमा उनले जोड दिए । ‘सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता सकारात्मक रहेको उनले बताए । वामपन्थी धारबाट कांग्रेसलाई मुक्त गर्न र कांग्रेसभित्र कांग्रेस खोज्न सच्चिनु जरुरी छ । कम्युनिस्टको मुद्दा कांग्रेसले बोक्ने होइन । पार्टीले करेक्सन गरोस् भन्ने अभियानमा छौँ,’ ढकालले भने । 

निधि र महतबिच नोकझोक
भेलाबाट धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा मञ्चमै पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री प्रकाशशरण महतबिच विवाद भएको छ । उनीहरूबिच को बोल्नेजस्तो विषयमा धकेलाधकेलसमेत भएको थियो । भेला आयोजक सचिवालयको तर्फबाट दीपक कुइँकेलले प्रस्ताव पेस गरिरहँदा केही अलमल भएपछि सुरुमा महत पोडियममा पुगेका थिए । उनले ‘कार्यसमिति’ शब्द निर्णयमा राख्न आग्रह गरेका थिए । महतपछि नेता निधि पनि पोडियममा पुगे । निधिले महतलाई हट्न आग्रह गरे । उनले भने– ‘तपाईंहरू हट्नुस् म बुझ्छु ।’ त्यसपछि माइक काटियो । त्यसक्रममा उनीहरूबिच प्रस्तावको कागज खोसाखोस नै भएको थियो । 

एक नेताले धर्मसम्बन्धी प्रस्तावको विषयमा विवाद भएको बताए । ती नेताका अनुसार महतसहितका नेताहरूले प्रस्ताव तयार पारेका थिए । त्यसमा धर्मसम्बन्धी विषयमा निधिको आपत्ति रहेको थियो । निधि धार्मिक स्वतन्त्रता शब्द राख्ने पक्षमा थिए । 

नोकझोकबारे महतले सामान्य शब्दमा मात्रै के राख्ने भन्ने विषयमा अलिकति कुरा नमिलेजस्तो देखिए पनि सहमतिमै प्रस्ताव पास भएकाले कसैको पनि विमति नभएको बताए । ‘सामान्य शब्दहरूमा मात्रै के राख्ने भन्ने अलिकति नमिल्नेजस्तो देखिएको हो । पहिले धर्मनिरपेक्षता भनिएको थियो, त्यसमा सनातन धर्म नै पहिचान हो, त्यसको संरक्षण गर्ने हो र धार्मिक स्वतन्त्रता अरू धर्म मान्नेहरूले निर्वाध मान्न पाउने अधिकार संविधानमै छ, त्यो यथावत् रहने नै भयो । पारित यो प्रस्ताव पार्टीकै दस्ताबेज भइहाल्यो । यसमा कसैले पनि विमति जनाएको छैन । सहमतिले पास भयो,’ महतले भने ।

राष्ट्रिय सम्मेलनबाट पारित पाँचबुँदे प्रस्तावमा छ–नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्दछ ।

 राष्ट्रिय सम्मेलनको समापन समारोहमा देउवाले भने–मेरो व्रतबन्ध पनि हिन्दु परम्पराअनुसार भएको हो । बहिनीको बिहे गर्न मैले व्रतबन्ध गरेर जनै पनि लगाएको हुँ । मेरो बिहे पनि गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार नै भएको हो । त्यसकारण म व्यक्तिगत रूपमा पूर्ण हिन्दु हुँ । मलाई कसैले हिन्दु होइन भन्न सक्दैन । नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर, नेपाली हिन्दुलाई ‘हिन्दु हुन पाउँदैनस्’ भन्नचाहिँ पाइँदैन । म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ । म पशुपतिमा जान्छु, पशुपतिमा पूजा गर्छु । मलाई पर्सि पशुपति जाने मन छ । त्यसकारण मैले के भनिसकेँ भने– म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।

 विश्लेषक गोपाल प्रसाईंको टिप्पणी हिन्दु धर्मको मुद्दालाई ‘अन्तिम ब्रह्मास्त्र’का रूपमा अघि सारिएको हुन सक्छ, तर यो अस्त्रले पनि कांग्रेसको संकट टार्न काम गर्लाजस्तो देखिँदैन 
करिब ६ महिना विदेशमा उपचार गराएर फर्किएपछि देउवाले हिन्दु धर्मको विषय उठाउनुभएको छ । तत्काल केही हिन्दु मतदातालाई प्रभावित पार्ने उद्देश्यले यो विषय अघि सारिएको हुन सक्छ । देउवालाई कसैले गैरहिन्दु भनेकै छैन, उहाँले पटक–पटक ‘म हिन्दु हुँ’ भनिरहनुपर्ने अवस्था पनि थिएन । धर्म मान्ने स्वतन्त्रता संविधानले नै सुनिश्चित गरेको छ । जेन–जी आन्दोलनपछि पुरानो नेतृत्वप्रति व्यापक वितृष्णा देखिएको छ । यस्तो अवस्थामा हिन्दु धर्मको मुद्दालाई ‘अन्तिम ब्रह्मास्त्र’का रूपमा अघि सारिएको हुन सक्छ । तर, यो अस्त्रले पनि कांग्रेसको संकट टार्न काम गर्लाजस्तो देखिँदैन ।

 देउवा समूहका नेता मीन विश्वकर्मा भन्छन्– हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षधरबाट खेल्ने काम भयो, कांग्रेसको लाइन यो होइन
सबै नेताहरूको सहमतिमा मलाई ड्राफ्ट तयार पार्न भनिएको थियो । मैले सहमतिअनुसार ड्राफ्ट तयार पारेर ल्याएँ । सभापतिलाई वक्ताका रूपमा बोलाउने काम भएको थियो । सभापतिको नाम बोलाउँदा म गेटबाट भित्र छिर्दै थिएँ । सभापतिले बोलिदिनु भनेपछि उहाँले बोलिदिनुभएको हो । आफ्नो धर्म मान्ने अधिकार प्रत्येक नागरिकलाई छ । म यो धर्म मान्छु भन्नु नौलो कुरा होइन । विवाद झिक्न खोजिएको हो । हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षधरबाट खेल्ने काम भएको देखियो । कांग्रेसको आधिकारिक लाइन त्यस्तो होइन । हामी कुनै धर्मविशेषको पक्षमा छैनौँ ।

निधि र महतबिच नोकझोक
सम्मेलनबाट धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयमा मञ्चमै पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री प्रकाशशरण महतबिच विवाद भयो । त्यसक्रममा उनीहरूबिच प्रस्तावको कागज खोसाखोस नै भएको थियो । उनीहरूबिच को बोल्नेजस्तो विषयमा धकेलाधकेलसमेत भएको थियो ।

समापनमा गएनन् पूर्णबहादुर र शेखर
नेताद्वय पूर्णबहादुर खड्का र शेखर कोइराला भने समापन समारोहमा देखिएनन् । उद्घाटन सत्रमा देउवाको दायाँबायाँ शेखर र शशांकलाई राखिएको थियो । शशांकको छेउमा पूर्णबहादुर थिए । जेन–जी आन्दोलनपछि देउवाले कार्यवाहक सभापति पूर्णबहादुरलाई दिएका थिए । तर, राष्ट्रिय भेलाको संयोजक शशांकलाई बनाइएको थियो । भेलाले १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप सभापतिको निर्देशनमा संयोजन गर्ने जिम्मेवारी शशांकलाई नै दिएको छ । खड्का अस्वस्थताका कारण समापनमा उपस्थित हुन नसकेको नेताहरूले दाबी गरेका छन् । शेखरले भने पहिले नै उद्घाटन सत्रमा मात्र सहभागी हुने बताएका थिए । 

देउवा पक्षलाई गगन थापाले आज जवाफ दिने 
कांग्रेस सभापति गगन थापाले इतर पक्षलाई सोमबार जवाफ दिने बताएका छन् । आइतबार धर्र्म गौतमद्वारा लिखित पुस्तक ‘बिपी र विद्रोहका ती दिन’ विमोचन कार्यक्रममा उनले भने, ‘सुकेधारा भेलामा धेरै निन्दा गरिएको विषय सञ्चारमाध्यमबाट थाहा पाएको छु । त्यसबारे भोलि म एक घण्टा बोल्छु ।’ 

सुझावित समाचार