केराको बिरुवाले बदलिएको जीवन

शनिबार, ३० साउन, २०८३
डिजिटल संस्करण

जीवनमा सबै निर्णय ठुला हुँदैनन् । कतिपय निर्णय यति साना हुन्छन् कि त्यसबेला तिनको महत्व नै महसुस हुँदैन । तर समयसँगै त्यही सानो निर्णयले जीवनको सम्पूर्ण दिशा बदलिदिन्छ । मेरो जीवनमा पनि त्यस्तै एउटा निर्णय थियो, जसले नसोचेको नतिजा दियो । त्यो निर्णय थियो, केरा रोप्ने ।

विसं २०५१ सालको कुरा हो । मैले एउटा केराको सकर बारीमा रोपेँ । त्यो एउटा केराको सकर आज करिब पाँच सय बोटमा विस्तार भयो । कसैका लागि यो एउटा सामान्य बगैँचा हुन सक्छ । तर, मेरा लागि यी बोटहरू केवल फल दिने बिरुवा होइनन् । यी मेरा दुःखका साक्षी, संघर्षका साथी, परिवारका रक्षक र जीवनभरका मौन सहयात्री हुन् ।

देशले आन्दोलन, अस्थिरता र सशस्त्र द्वन्द्वका कठिन दिनहरू भोग्यो । मैले जागिर गुम्ने डर देखेँ, घर छोड्नुपर्यो, परिवारबाट टाढा बस्नुपर्यो । तर, एउटा कुरा कहिल्यै बदलिनँ–मेरो बारीका केराका बोटहरूले हरेक वर्ष परिवारलाई आशा, अन्न र आम्दानी दिइरह्यो ।

०५१ सालतिर हाम्रो गाउँमा पहिलोपटक ‘हजारिया केरा’ भित्रिएको थियो । गाउँकै गैरीगाउँनिवासी जगन्नाथ अधिकारीको बारीबाट एउटा सकर ल्याएर मैले आफ्नै खेतमा रोपेँ । त्यो बेला मैले कल्पना पनि गरेको थिइनँ कि यही सानो बिरुवाले एक दिन मेरो परिवारको भविष्यसँग यति गहिरो सम्बन्ध गाँस्नेछ भनेर ।

अर्को वर्ष त्यसैबाट नयाँ बिरुवा बढाउँदै करिब १० गाँजसम्म पुर्याएँ । सुरुका केही वर्ष उत्पादन निकै राम्रो भयो । पछि उत्पादन घट्न थाल्यो । तर, त्यसले मेरो उत्साह घटाएन । बरु एउटा नयाँ सपना जन्मायो—राम्रो जातको केरा लगाएर व्यवस्थित खेती गर्ने । विसं २०५५ सालमा त्रिशूली बागवानी फार्म पुगेँ । त्यहाँ खोजेजस्तो बिरुवा भेटिएन । कर्मचारीहरूले देवीघाटपारि रहेको शिवप्रसाद न्यौपानेको फार्ममा जान सुझाव दिए । त्यहाँ पुगेपछि मैले पहिलोपटक चिनियाँ चम्पा र विलियम हाइब्रिड जातका केराहरू देखेँ । विशेष गरी, चिनियाँ चम्पाको एउटा घरीमा २०० देखि ३५० वटासम्म कोसा देख्दा म चकित परेँ । त्यही क्षण मैले दुई सय बिरुवा किन्ने निर्णय गरेँ । तर, निर्णय गर्नु सजिलो थियो, बिरुवा घर पुर्याउनु कठिन ।

त्यतिवेला हाम्रो गाउँसम्म सडक पुगेको थिएन । देवीघाटबाट ट्र्याक्टर, त्यसपछि विभिन्न स्थान हुँदै अन्त्यमा पाँचजनाले काँधमा बोकेर ती बिरुवा घरसम्म ल्याए । त्यो यात्राको दुःख आज सम्झँदा पनि शरीर थाकेजस्तो लाग्छ । तर, त्यही दुःखले आज मिठो सफलता दिएको छ ।

जागिरभन्दा ठुलो भरोसा
त्यतिवेला म अस्थायी शिक्षक थिएँ । सानो तलबले परिवार धान्न निकै कठिन थियो । घरमा दुई छोरी र एक छोरा थिए । पढाइ, लुगाफाटा, औषधोपचार र दैनिक खर्चले भविष्यलाई अनिश्चित बनाइरहेको थियो । मनमनै एउटा निर्णय गरेँ, यदि कुनै दिन जागिर रहेन भने पनि परिवार भोकै बस्नुहुँदैन । त्यही सोचले केराखेतीलाई दोस्रो होइन, पहिलो प्राथमिकतामा राखेर हुर्काउन थालेँ ।

देश सशस्त्र द्वन्द्वको चपेटामा थियो । म राजनीतिक रूपमा सक्रिय थिएँ । साथी कृष्णप्रसाद घिमिरे र प्रधानाध्यापक पोषकनाथ पुडासैनीको हत्या भएपछि गाउँमा त्रास फैलियो । अन्ततः मैले पनि घर छोड्नुपर्ने अवस्था आयो । त्यो वेला मेरी श्रीमती गर्भवती थिइन् । चौथो सन्तान जन्मिन बाँकी थियो । घर छोड्ने दिन धेरैबेर बारीतिर हेरिरहेँ । करिब दुई सय गाँज केरा लहलहाइरहेका थिए । मनमनै मैले ती बोटहरूलाई भनेँ,‘म युद्धमा जाँदै छु । तिमीहरूले मेरो परिवारलाई साथ दिनू है ।’ सायद जीवनमा पहिलोपटक मैले बिरुवासँग यति ठुलो भरोसा गरेको थिएँ ।

म युद्धमा हिँडेपछि परिवारले केरा बिक्री गरे । त्यहीबाट जीविका चल्न थाल्यो । साना केरा भने घरमै खाने गरिन्थ्यो । मेरा बालबच्चालाई केरा अत्यन्त मनपर्थ्यो । कहिलेकाहीँ ५० कोसाको घरी एकै घण्टामा सकिन्थ्यो । १००–२०० कोसाको घरी पनि दिनभर टिक्दैनथ्यो । आज सम्झँदा लाग्छ– मेरा सन्तान वास्तवमै केरासँगै हुर्किएँ ।

म वैज्ञानिक होइन । तर, मेरो अनुभवले भन्छ– घरमै फल्ने ताजा केराले मेरा बालबच्चाको स्वास्थ्य र पोषणमा ठुलो योगदान दियो । उनीहरू सामान्यतया स्वस्थ हुर्किएँ । ठुलो रोगले कहिल्यै सताएन । अस्पताल धाउनुपर्ने अवस्था विरलै आयो । सायद प्रकृतिले दिएको यही सरल उपहार नै उनीहरूको स्वस्थ बाल्यकालको आधार बन्यो ।

हरेक चाडपर्वमा गाउँलेहरू हाम्रो घरमै केरा किन्न आउँथे । व्यापार ठुलो थिएन । तर, सानो आम्दानीले पनि ठुलो राहत दिन्थ्यो । त्यही पैसाले बालबच्चाको कापी किनियो, विद्यालय शुल्क तिरियो, खाजा जुट्यो र घरमा मुस्कान फर्कियो । त्यसैले हाम्रो परिवारका लागि चाडपर्वको खुसीमा केराको पनि उत्तिकै योगदान थियो ।

आज पनि उस्तै भरोसा
समय बदलियो । द्वन्द्व सकियो । म घर फर्किएँ । छोराछोरीले आफ्नो पढाइ पूरा गरे । सबै आ–आफ्नो खुट्टामा उभिए । मेरो बगैँचाको केराले आज पनि परिवारलाई साथ दिइरहेको छ । यस वर्ष त झन् केराले राम्रो मूल्य पाएको छ । भदौमा काट्न मिल्ने करिब ४० घरी केरा तयार छन् । थप ४०–५० बोटमा घरी लाग्ने संकेत देखिँदै छ ।

एक दिन मेरी श्रीमतीले खुसी हुँदै भन्नुभयो— यसपालि एउटा घरी दुई हजार रुपैयाँभन्दा कममा बेच्नुपर्दैन जस्तो छ । उहाँको अनुहारको त्यो मुस्कान मेरा लागि कुनै पुरस्कारभन्दा कम थिएन । मेरो सबैभन्दा ठुलो सम्पत्ति धेरै मानिसले ठुलो घर बनाएँ, गाडी किनेँ, धेरै धन कमाए । मसँग त्यस्तो केही छैन । तर, मलाई गर्व लाग्छ– इमानदार पसिनाले चार सन्तानलाई हुर्काएँ, पढाएँ र आफ्नै खुट्टामा उभ्याएँ ।

आज पनि म बारीमा उभिएर केराका घरीहरू हेर्छु । छोराछोरीलाई जीवनमा अघि बढिरहेको देख्छु । मनमा एउटै कुरा आउँछ– विसं २०५१ सालमा रोपिएको एउटा सानो केराको सकरले केवल फल मात्रै दिएन, त्यसले मेरो परिवारको भविष्य हुर्कायो । मेरो जीवनमा सिकेको पाठ यही हो– हामीले रोपेको बिरुवाले फलसँगै आशा, आत्मविश्वास, सम्मान र परिवारको भविष्य पनि दिँदोरहेछ । आज म आफ्ना प्रत्येक केराका बोटलाई मनदेखि धन्यवाद दिन्छु । ती मेरा लागि खेती मात्र होइनन्, जीवनभरका मौन सहयात्री हुन् ।

See More On

सुझावित समाचार