भदौ १ मा विश्वासको मत लिँदै मुख्यमन्त्री बानियाँ

बहुमत जुटाउने प्रयासबिच दुई दिनअघि नै शक्ति परीक्षण

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले यसअघि तय गरिएको मितिभन्दा दुई दिनअघि नै प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । यसअघि भदौ ३ गते विश्वासको मत लिने आन्तरिक तयारी भए पनि अब भदौ १ गते (सोमबार) दिउँसो १ बजे विश्वासको मत लिने निर्णय गरिएको हो ।

मुख्यमन्त्री बानियाँले प्रदेश सभा सचिवालयलाई पत्राचार गर्दै भदौ १ गते दिउँसो १ बजे प्रदेश सभा बैठकको व्यवस्था गरी विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् । सरकारमा सहभागी एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ संविधानअनुसार तोकिएको अवधिभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।

एमालेको समर्थन फिर्तापछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री बानियाँले भदौ ४ गतेभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता थियो । यही विषयमा कांग्रेस संसदीय दलको बैठकले पनि भदौ ३ गतेअघि नै विश्वासको मत लिने निर्णय गरेको थियो । तर, राजनीतिक अन्योल लम्ब्याउनुभन्दा छिट्टै शक्ति परीक्षण गरेर सरकारको अवस्थाबारे स्पष्ट हुन मिति अगाडि सारेको मुख्यमन्त्रीनिकट स्रोतको दाबी छ ।

बहुमतको अंकगणित अझै पेचिलो, दलहरूबिच संवाद जारी
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ । हालसम्म उनको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी ३८ सांसदको समर्थन रहेको छ । हाम्रो नेपाली पार्टी सरकारमा एक मन्त्रीसहित सहभागी भइसकेको छ। सरकारलाई निरन्तरता दिन मुख्यमन्त्री बानियाँले अझै १५ सांसदको समर्थन जुटाउनुपर्ने अवस्था छ ।

यता, २६ सदस्यीय नेकपा र २५ सदस्यीय एमाले नयाँ सत्तासमीकरण बनाउने प्रयासमा छन् । तर, दुवै दलले मिलेर पनि आवश्यक बहुमत जुटाउन सकेका छैनन् । प्रदेश सभाको तेस्रो ठुलो दल १२ सदस्यीय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनको प्रक्रियामा भूमिका नलिने निर्णय गरिसकेको छ । यस्तै, तीन सदस्यीय नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पनि परम्परागत रूपमा प्रतिपक्षमै रहने अडानमा छ ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रदेशको राजनीतिक गतिविधि तीव्र बनेको छ। कांग्रेसले सरकारलाई निरन्तरता दिन अन्य दलसँग संवादलाई तीव्र बनाएको छ भने एमाले–नेकपाबिच नयाँ सरकार गठनका लागि निरन्तर छलफल भइरहेको छ । मुख्यमन्त्री बानियाँले केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पनि बागमती प्रदेशको राजनीतिक अवस्थाबारे ब्रिफिङ गर्दै हालको अंकगणितअनुसार कुनै पनि पक्षले सहज रूपमा बहुमत पुर्याउन नसक्ने बताएका थिए ।

उनले प्रदेशमा राजनीतिक स्थायित्वका लागि सबै दलसँग सहकार्यको प्रयास भइरहेको जानकारी गराएका थिए । भदौ १ गते दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफलपछि मतदान हुनेछ । यदि उनले आवश्यक बहुमत प्राप्त गरे कांग्रेस नेतृत्वको सरकार यथावत् रहनेछ । बहुमत जुटाउन नसके संविधानअनुसार बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

सुझावित समाचार