नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा अन्त्य गर्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। करिब साढे पाँच महिनापछि काठमाडौं फर्किएका देउवाले आफू कुनै शक्ति प्राप्तिको उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका हुन्।
देउवाले कांग्रेस एकताबद्ध भएर देशका क्रियाशील सबै राजनीतिक दलसँग सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सबै राजनीतिक शक्तिबिच सहकार्य आवश्यक रहेको बताएका छन्।
‘नेपाली कांग्रेसले आफू एकताबद्ध भएर देशका क्रियाशील अन्य सबै राजनीतिक दलहरूसँग समेत सहमति र सहकार्य गरेर जानुपर्ने आजको आवश्यकता हो। सबै मिलेर देशको राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण गर्नुपर्नेछ,’ उनले भनेका छन्।
वर्तमान संविधान लामो राजनीतिक संघर्ष र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै देउवाले यसको संरक्षण गर्नुपर्ने बताएका छन्। संविधान संशोधन आवश्यक भए पनि राष्ट्रिय सहमतिका आधारमा मात्रै गर्नुपर्ने उनको धारणा छ।
देउवाले २००७ सालदेखि मुलुकमा भएका राजनीतिक परिवर्तनका हरेक चरणमा कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको दाबी गर्दै पार्टीभित्रको विवादले राष्ट्रिय राजनीतिलाई समेत असर पार्न सक्ने चेतावनी दिएका छन्।
‘अंकगणितीय रूपमा संसदमा नेपाली कांग्रेस सानो–ठुलो भयो होला, तर २००७ सालदेखि नेपाली राजनीतिक परिवर्तनको हरेक खुट्किलोको नेतृत्वकर्ता हो– कांग्रेस,’ उनले भनेका छन्।
उनले कांग्रेसभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। मुलुकको ‘मियो दल’ कांग्रेसमा विवाद हुँदा राष्ट्रियता नै कमजोर हुन सक्ने भन्दै उनले नेता–कार्यकर्ता, शुभेच्छुक, समर्थक तथा मतदातालाई सामूहिकताको भावनाका साथ अघि बढ्न अपिल गरेका छन्।
कांग्रेस कसैको व्यक्तिगत अहंकार वा ‘इगो’का आधारमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने देउवाको भनाइ छ।

