- युवालाई कहिलेकाहीँ सहभागिताको मौका दिइए पनि निर्णयलाई प्रभावित पार्ने वा निर्णायक भूमिका खेल्ने अवसरबाट भने वञ्चित गरिन्छ
एकजना युवा ट्रेड युनियन नेतृ जुरुक्क उठिन् र केही क्षणको मौनतापछि एउटा सशक्त विचार राखिन्, ‘हामीलाई प्रायः सहभागिताका लागि त बोलाइन्छ, तर निर्णय प्रक्रियामा भने सामेल गराइँदैन । पर्याप्त अनुभव छैन भनिन्छ । यदि मलाई कहिल्यै अवसर नै दिइन्न भने मैले कसरी अनुभव बटुल्न सक्छु ?’ उनका यी शब्दले बंगलादेशमा विद्यमान एउटा साझा संरचनात्मक चुनौतीलाई उजागर गर्छ, युवालाई कहिलेकाहीँ सहभागिताको मौका त दिइन्छ, तर निर्णयलाई प्रभावित पार्ने वा निर्णायक भूमिका खेल्ने अवसरबाट भने वञ्चित गरिन्छ । कार्यस्थल, नागरिक संघसंस्था र विशेषगरी ट्रेड युनियनमा युवाले सक्रिय योगदान पुर्याउँदै आए पनि नेतृत्व र निर्णय प्रक्रियामा सहभागी हुने अवसर भने प्रायः वरिष्ठ नेतामा मात्र सीमित रहने गरेका छन् । यो अनुभवलाई युवापनले विस्थापित गर्ने विषय होइन, बरु त्यो अनुभवलाई नयाँ दृष्टिकोणसँग जोड्ने विषय हो । हरेक सशक्त श्रमिक आन्दोलन पुस्ताबिचको निरन्तरतामा आधारित भएर निर्माण भएको हुन्छ । यहाँको चुनौती केवल युवाका लागि स्थान सिर्जना गर्नु मात्र होइन, बरु प्रभाव, जिम्मेवारी र विश्वास आर्जन गर्नु हो । मूलतः, युवा नेतृत्वले वरिष्ठ नेतृत्वलाई विस्थापित गर्न खोजिरहेको छैन । युवाहरू त उनीहरूबाट सिक्न, उनीहरूसँगै मिलेर योगदान पुर्याउन र भोलिको श्रमिक आन्दोलन निर्माणमा सघाउन चाहन्छन् ।
बंगलादेश विश्वको सबैभन्दा युवा जनसंख्यामध्ये एक हो, जसमा लगभग एकतिहाइ १५ देखि ३५ वर्ष उमेर समूहका युवा छन् । प्रत्येक वर्ष लाखौँ मानिस डिजिटलाइजेसन र जलवायु परिवर्तनमार्फत द्रुत रूपमा रूपान्तरण भइरहेको श्रम बजारमा प्रवेश गर्छन् । यसले फराकिलो विश्वव्यापी वास्तविकतालाई प्रतिबिम्बित गर्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को युवा रोजगार प्रवृत्ति प्रतिवेदन २०२६ अनुसार, वर्तमान चुनौती युवाका लागि रोजगारी सिर्जना गर्नु मात्र होइन, बरु श्रम बजार संक्रमणले सुरक्षित र सम्मानजनक कामतर्फ डोर्याउने कुरा सुनिश्चित गर्नु हो । नयाँ दृष्टिकोणको सर्वाधिक आवश्यकता रहेको यस समयमा नीतिगत छलफल र ट्रेड युनियनको नेतृत्वमा युवाको सहभागिता अनिवार्य छ । यदि श्रमिकको सामूहिक आवाजले युवा पुस्ताको आकांक्षालाई समेट्न सकेन भने यो आजको श्रम बजारको यथार्थबाट अलग्गिने जोखिममा पर्छ । तसर्थ, युवा सहभागितालाई नयाँ ढंगले अघि बढाउने वा पुनर्परिभाषित गर्ने महŒवपूर्ण अवसर ट्रेड युनियनसँग छ ।
युवा कामदारले डिजिटल संगठन, प्लेटफर्म कार्य, जलवायु लचिलोपन र हेरचाह अर्थतन्त्रजस्ता उदीयमान सीमामा अमूल्य अन्तर्दृष्टि प्रदान गर्छन् । तिनको सम्भावनालाई खुला गर्न, समन्वित कार्य आवश्यक छ, युनियनले निर्णय लिने र परामर्शका लागि स्पष्ट मार्ग निर्माण गर्नुपर्छ । सरकारले युवालाई सामाजिक संवादमा समावेश गर्नुपर्छ र आइएलओलगायत विकास साझेदारले अर्थपूर्ण अन्तर–पुस्ता सहकार्य प्रवर्द्धन गर्नुपर्छ । त्यसो भए श्रम आन्दोलनले कसरी कामदारको अर्को पुस्तालाई राम्रोसँग संलग्न गराउन सक्छ ?
तीव्र गतिमा परिवर्तन भइरहेको श्रम बजारमा टिक्नका लागि सामूहिक मोलमोलाइ र सामाजिक संवादका लागि अपरिहार्य संस्था मानिने ट्रेड युनियनले समयसापेक्ष रूपमा आफूलाई परिमार्जन गर्नुपर्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को हालैको एक परामर्शले युवा नेतृत्व यसका लागि तयार रहेको देखाएको छ । हामीले युवालाई यस अभियानको अग्रपंक्तिमा देखिरहेका छौँ, जस्तै युनियन स्थापना गर्ने, विवाद समाधान गर्ने र श्रमिकका अधिकार रक्षा गर्ने कार्यमा । उनीहरूले नेतृत्व सम्हाल्न आफू तयार रहेको प्रमाणित गरिरहेका छन् ।
यद्यपि, राष्ट्रिय नेतृत्व, सामूहिक सौदाबाजी र नीतिगत संवादमा सहभागी हुने अवसर भने सीमित छन् । धेरै युनियन सदस्यलाई के लाग्छ भने कसको कुरा सुनुवाइ हुन्छ भन्ने कुरा क्षमता र सक्रियताभन्दा पनि उमेर र अनुभवले निर्धारण गर्छ । युवा महिलाले पारिश्रमिक नपाइने र नेतृत्वमा न्यून अवसरलगायतका थप अवरोध उल्लेख गरे । महŒवपूर्ण कुरा के छ भने युवा नेतृत्वले आफूलाई सक्षम बनाएका छन् । उनीहरू ‘बंगलादेश श्रम (संशोधन) ऐन, २०२६’, औद्योगिक सम्बन्ध, सामूहिक सौदाबाजी, पेसागत सुरक्षा तथा स्वास्थ्य, डिजिटल रूपान्तरण, जलवायु परिवर्तन र कामको भविष्यबारे अझ गहिरो ज्ञान हासिल गर्न चाहन्छन् । उनीहरू वरिष्ठ नेतृत्वबाट मार्गदर्शन, वार्ता तथा नीतिगत छलफलमा संलग्न हुने थप अवसर र अर्थपूर्ण योगदान पुर्याउने मौकाको खोजीमा छन् ।
युवाका पनि विशिष्ट जिम्मेवारी हुन्छन् । प्रतिबद्धता, निरन्तर सिकाइ, संवाद र सेवामार्फत नेतृत्वको विकास हुन्छ । हामीले भेटेका युवा नेतृत्वले यो कुरा आफैँले महसुस गरेका थिए । यस अन्तर्राष्ट्रिय युवा दिवसमा, केवल उत्सव मनाउने कार्यभन्दा माथि उठेर युवालाई वास्तविक जिम्मेवारी सुम्पने र उनीहरूमाथि विश्वास गर्ने दिशामा अघि बढ्नु आवश्यक छ । कामको भविष्य आजका युवा श्रमिकले नै निर्माण गर्नेछन्, त्यसको नेतृत्वमा अवसर पाउन उनीहरू हकदार छन् ।
द डेलीस्टारबाट
(तुन्योन आइएलओका बंगलादेशस्थित कन्ट्री डाइरेक्टर हुन्)