लालबकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता

बुधबार, २७ साउन, २०८३
डिजिटल संस्करण
लालबकैया नदीमा डुबेर तीन बालबालिका बेपत्ता

तस्बिर : एआई जेनेरेटेड

रौतहटको देवाही गोनाही नगरपालिका– २, लक्ष्मीनियास्थित लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार तीन बालबालिका डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक बालक र दुई बालिका छन् ।

बेपत्ता हुनेमा देवाही गोनाही नगरपालिका– २, लक्ष्मीनियाका शेख अमरे आलमका १० वर्षीय छोरा मोहम्मद रहमतुल्लाह, शेख खुर्सेदकी १० वर्षीया छोरी रौशन खातुन र शेख ओसी अख्तरकी १० वर्षीया छोरी सवनम खातुन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू मंगलबार दिउँसो करिब २ बजेतिर लालबकैया नदीमा नुहाउन गएका थिए । नुहाउने क्रममा तीनैजना डुबेर बेपत्ता भएका थिए । बालबालिका नदीमा डुबेर बेपत्ता भएको खबर पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

घटनापछि सशस्त्र प्रहरी सुरक्षा बेस देवाहीबाट सातजना र इलाका प्रहरी कार्यालय देवाही गोनाहीबाट नौजनाको टोली खोजी तथा उद्धारका लागि परिचालन गरिएको थियो । तर, अवस्था पत्ता लाग्न सकेको छैन ।

खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट रबर बोटसहित नौजनाको डाइभिङ तथा खोजी टोलीसमेत घटनास्थलमा खटाइएको सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले बताए । नदीमा पानीको बहाव तथा गहिराइका कारण खोजी कार्यमा कठिनाइ भइरहेको उनले बताए । बुधबार फेरि खोजी हुने प्रहरीले जनाएको छ । 

सुझावित समाचार