माफी मागेपछि जोगियो इन्फान्टिनोको पद

मोरोक्कोमा भएको बैठकमा फिफाका वरिष्ठ अधिकारीहरूले समर्थन गरेपछि इन्फान्टिनो फिफाको अध्यक्ष पदमा कायम रहनेछन्, योसँगै उनले तत्काल अविश्वासको प्रस्ताव सामना गर्नुपर्नेछैन

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले निजी लगानीकर्तालाई आफ्ना प्रतियोगिताहरूको स्वामित्वको हिस्सेदार बिक्री गर्ने विवादास्पद योजना त्रुटि रहेको स्वीकार गर्दै सदस्यराष्ट्रहरूसँग माफी मागेका छन् । मोरोक्कोमा भएको बैठकमा फिफाका वरिष्ठ अधिकारीहरूले समर्थन गरेपछि इन्फान्टिनो फिफाको अध्यक्ष पदमा कायम रहनेछन् । योसँगै तत्काललाई उनले अविश्वासको प्रस्ताव सामना गर्नुपरेन । 

चौतर्फी आलोचना र विवाद बढेपछि गत शुक्रबार नै इन्फान्टिनोले विश्वकपको हिस्सेदार बिक्री गर्ने विवादास्पद योजना फिर्ता लिएका थिए । तर, युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)सँगै एसियाली फुटबल महासंघ (एएफसी) र अफ्रिकन फुटबल महासंघले इन्फान्टिनोप्रति विश्वास गुमेको धारणा राख्दै चरम असन्तुष्टि जनाएका थिए । उनीहरूले फिफा फरवार्ड इन्टरप्राइज प्रस्तावलाई कमसल, गोप्य र पारदर्शी नभएको सम्झौता भन्दै टिप्पणी गरेका थिए । त्यसपछि उनीहरूले अविश्वासको प्रस्ताव लैजाने तयारीसमेत गरेका हुन् । 

संकटकालीन अवस्था देखेपछि इन्फान्टिनोले बुधबार मोरोक्कोको रबातस्थित फिफाको अफ्रिकी कार्यालयमा व्यवस्थापन बोर्डका सदस्यहरूलाई बैठकमा बोलाएका थिए । बैठक सकिएको चार घण्टापछि विश्व फुटबलको सर्वोच्च निकायले समर्थनसहितको विज्ञप्ति जारी गरेको थियो । बैठकमा फिफा महासचिव म्याथियास ग्राफस्ट्रोम पनि सहभागी थिए । त्यसछि नै उनले फिफाको कर्मचारीलाई आन्तरिक पत्र पठाउँदै यो परिस्थितिलाई दुःखद र निन्दनीय घटनाक्रम भनेर उल्लेख गरेका थिए । त्यसपछि मात्रै सबै पक्ष इन्फान्टिनोलाई स्वीकार गर्न तयार भएका थिए । 

इन्फान्टिनो र ग्राफस्ट्रोमले संयुक्त हस्ताक्षर गर्दै फिफाका उपाध्यक्षहरू, काउन्सिल र २११ सदस्य संघहरूलाई माफी माग्दै पत्र पठाएका छन् । उनीहरूले भविष्यमा यस्ता गल्ती नदोहो¥याउने प्रतिबद्धता पनि जनाएका छन् । बैठकपछि इन्फान्टिनोले फिफाका अन्य प्रतिनिधिसँग रबातमा चलिरहेको महिला अफ्रिका कप अफ नेसन्सको खेल खेलेका थिए । 

यसअघि इन्फान्टिनोले नयाँ सहायक कम्पनी एफएफईमार्फत पुरुष तथा महिला विश्वकपलगायत प्रतियोगितामा निजी लगानीलाई आयोजना गर्न दिने प्रस्ताव राखेका थिए । यदि प्रस्तावलाई समर्थन गरेमा सबै संघहरूलाई चार करोड अमेरिकी डलर दिने प्रस्ताव इन्फान्टिनोले राखेका थिए ।

युरोपबाट असन्तुष्टि सुरु 
इन्फान्टिनो फिफामा लगातार हाबी हुँदै आएपछि एकल निर्णय गर्दै आएको आरोप लागेको थियो । फिफा विश्वकपपछि निजी कम्पनीलाई विश्वकपको हिस्सेदार सुम्पिने भएपछि युरोपियन फुटबलका ५५ वटै संघले यस्ता कार्यक्रम बहिष्कार गर्ने धम्की दिए । साथै उनीहरूले अविश्वासको प्रस्तावको अवस्थामा पुर्याए । तर, यो निकै कठिन थियो । त्यसपछि कोन्काकाफ र एएफसीले पनि युइएफएलाई साथ दिए । त्यसपछि भने इन्फान्टिनो दबाबमा आएका थिए । तर, इन्फान्टिनोले माफी मागेपछि तत्काललाई कुनै पनि संघ र महासंघले विरोध गरेका छैनन् । अब मार्चमा हुने निर्वाचनमा के हुन्छ त्यो भने हेर्नलायक हुनेछ । इन्फान्टिनो सन् २०१६ देखि चौथोपटक अध्यक्ष हुने तयारीमा छन् । 

सुझावित समाचार