सिराहाबाट करिब साढे ५३ किलो गाँजाजस्तो पदार्थ बरामद

शुक्रबार, २२ साउन, २०८३
डिजिटल संस्करण

सिराहा प्रहरीले जिल्लाको पूर्वी भेगमा पर्ने सखुवानन्कारकट्टी गाउँपालिका– ४, सिमराहा गाउँनजिकै रहेको बलान खोला क्षेत्रबाट प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको छ । महेशबारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले बुधबार राति चारवटा बोरामा प्याक गरिएको ५३ किलो ४६५ ग्राम प्रतिबन्धित गाँजाजस्तो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार कपडाको नाम्लोमा चारवटा बोरा बोकेका चारजना भने गस्तीमा रहेको प्रहरीलाई देखेपछि फरार भएकाले खोजतलास जारी रहेको छ । बरामद गरिएको गाँजाजस्तो पदार्थ इलाका प्रहरी कार्यालय लहानमा ल्याएर थप अनुसन्धान भइरहेको उनले बताए । मुख्य नाकाहरूमा प्रहरीले निगरानी बढाएपछि सप्तरीसँग सीमा जोडिएको बलान खोला हुँदै तस्करहरूले प्रतिबन्धित गाँजा भारतीय सीमावर्ती क्षेत्रमा पुर्याउन भरिया प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ । 

त्यसअघि प्रहरीले ६ साउनमा लहान नगरपालिका– ३, नयाँबस्तीस्थित स्थानीयको घर कम्पाउन्डमा पार्किङ गरेर राखिएको फलफूल लोड भएको पिकअप भ्यानबाट ६५२ किलो गाँजाजस्तो देखिने पदार्थसहित तीनजनालाई पक्राउ गरेको थियो । प्रहरीले स्थानीय श्यामकुमारी साहको घर कम्पाउन्डमा पार्किङ गरेर राखिएको बा.२१च ५८६६ नम्बरको भ्यानको पछाडि नासपती हालिएको प्लास्टिक क्रेटहरूमा ३१ वटा बोरा र दुईवटा प्लास्टिकमा लुकाएको गाँजाजस्तो पदार्थ बरामद भएपछि एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको थियो ।

See More On

सुझावित समाचार