शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, १६ साउन, २०८३
डिजिटल संस्करण

ब्रोड पिक हिमपहिरोमा बेपत्ता विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाको निधन

पाकिस्तानको कराकोरम हिमशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परेर विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को निधन भएको पुष्टि भएको छ। लाइट एक्सपेड संस्थाले शनिबार निधन भएको पुष्टि गरेको हो।

गत बिहीबार (१४ साउन) दिउँसो आएको हिमपहिरोमा पुर्जासहित १० जना आरोही बेपत्ता भएका थिए। तीमध्ये ६ जना नेपाली थिए। शुक्रबार चारजनाको शव फेला परेपछि खोजी कार्य जारी रहँदा अन्ततः निर्मल पुर्जाको निधन भएको पुष्टि भएको हो।

गृहमन्त्रीले गरे सुनसरी र गोलबजार घटनापछि पीडितसँग सम्झौता, सामाजिक सद्भाव कायम राख्न सबैलाई आह्वान

गृहमन्त्री सुदन गुरुङले सुनसरी र गोलबजारमा भएका घटनापछि पीडित परिवारसँग सम्झौता भएको जानकारी दिएका छन्। उनले देशमा अमन–चैन र सामाजिक सद्भाव कायम राख्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

गृहमन्त्री गुरुले धर्म र आस्थाको नाममा हिंसा भड्काउने वा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास गर्ने जो–कोहीलाई पनि नेपाल सरकारले कडा निगरानीमा राख्ने र कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।

ब्रोड पिक दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, निम्स दाइलगायत दिवंगत आरोहीलाई श्रद्धाञ्जली

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार फेसबुकमार्फत शोकसन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

सहकारी ठगीका मुद्दा छिटो टुंग्याउन सहकारी कसुर हेर्ने समर्पित इजलास गठनको अनुरोध गर्दै मन्त्री रावलले प्रधानन्यायाधीशलाई बुझाइन् प्रतिवेदन

सहकारी ठगीसम्बन्धी मुद्दाको शीघ्र न्याय निरूपणका लागि मुद्दाको चाप बढी रहेका जिल्ला अदालतहरूमा तत्काल ‘सहकारी कसुर हेर्ने समर्पित इजलास’ गठन गर्न माग गर्दै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको छ। उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिसअनुसार मन्त्रालयले समर्पित इजलास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो।

आठ वर्षपछि बागमती प्रदेश सरकारको आफ्नै संरचना निर्माणतर्फ

बागमती प्रदेश सरकार स्थापना भएको करिब आठ वर्षपछि प्रदेशको स्थायी राजधानी हेटौँडामा एकीकृत प्रशासनिक संरचना (प्रदेश मन्त्रालय तथा सरकारी कार्यालय) निर्माणको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको प्रशासनिक भवन निर्माणका लागि आवश्यक वन क्षेत्र व्यवस्थापनको प्रक्रिया सुरु भएसँगै प्रदेश सरकारको आफ्नै प्रशासनिक केन्द्र निर्माणको बाटो खुलेको हो।

प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरेको गाँजा विधेयक हुबहु पुनः पारित

प्रदेश प्रमुखले प्रमाणीकरण नगरी प्रदेश सभामा फिर्ता गरेको गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पुनः गण्डकी प्रदेश सभाले पारित गरेको छ।

२५ असारमा बसेको प्रदेश सभा बैठकले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेपछि सभामुख कृष्णप्रसाद धितालले प्रमाणित गरेका थिए। त्यसपछि प्रदेश सभा सचिवालयले प्रमाणीकरणका लागि ३० असारमा प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

‘जलस्रोत क्षेत्रको विकासमा सबैभन्दा ठुलो चुनौती आयोजना बाहिरका नीतिगत तथा प्रक्रियागत अवरोध’

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिंचाइ क्षेत्रको विकासमा सबैभन्दा ठूलो चुनौती आयोजना निर्माणभन्दा बाहिर रहेका नीतिगत तथा प्रक्रियागत अवरोध भएको बताएका छन् । जग्गा अधिग्रहण, मुआब्जा व्यवस्थापन, स्रोत सुनिश्चितता, अन्तरनिकाय समन्वय र ठेक्का व्यवस्थापनमा सुधार नगरी अपेक्षित विकास सम्भव नहुने उनकाे भनाइ छ ।

सल्यानमा घरमै थन्कियो आलु

बर्खे आलु उत्पादनका लागि परिचित सल्यानमा यस वर्ष आलु बिक्री नहुँदा किसान समस्यामा परेका छन् । उत्पादन राम्रो भए पनि उचित मूल्य र बजार नपाउँदा जिल्लाको प्रमुख आलु उत्पादन क्षेत्र बागचौर नगरपालिका–११ र १२ का किसानले अधिकांश आलु घरमै थन्क्याउन बाध्य भएका छन् भने केही आलु अझै बारीमै खन्न बाँकी छ ।

महोत्सवसहित पोखरामा राष्ट्रिय कोदो दिवस मनाइयो

कोदोको महत्व बुझाउन ‘कोदोबाली संरक्षण र प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षा संवर्द्धन’ भन्ने नारासहित पोखरामा शनिबार विविध कार्यक्रमका साथ महोत्सव आयोजना गरी दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ।

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाअन्तर्गतको कृषि विकास शाखाको सहयोगमा पोखरा २२ स्थित पुम्दीभुम्दी कृषि सहकारी संस्थाको आयोजनामा पोखरा २२ स्थित कोदीमा दिवस मनाइएको हो। दिवस मनाउन वडास्तरीय कृषि सञ्जाल २२ र ली बर्ड नेपालले समेत सहकार्य गरेका थिए। 

डडेल्धुराको अजयमेरुमा लालपुर्जा वितरण, ७ अव्यवस्थित परिवार बने जग्गाधनी

जिल्ला भूमि समस्या समाधान समिति, डडेल्धुराले अजयमेरुमा गाउँपालिका वडा नम्बर २ का ७ अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ।

सुझावित समाचार