- नेदरल्यान्ड्स भ्रमणमा रहेको नेपालले घरेलु टोली र नामिबियासँग समान दुई खेलमा हारको सामना गर्यो । नेपालले एक खेलमा मात्र पूरै ओभर ब्याटिङ गरेको थियो ।
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आइसिसी विश्वकप लिग २ सिरिजअन्तर्गत नेदरल्यान्ड्समा खराब प्रदर्शन गरेको छ । नेदरल्यान्ड्समा नेपालले चारै खेलमा हारको सामना गर्यो । घरेलु टोली नेदरल्यान्ड्स र नामिबियाविरुद्धको समान दुई खेलमा नेपालले पूरै ५० ओभर ब्याटिङ गर्न सकेन । कमजोर ब्याटिङका कारण नेपालले मध्यम योगफलसमेत पछ्याउन सकेन । सिरिजअन्तर्गत बुधबार भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६७ रनको फराकिलो अन्तरले हरायो । पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्सले नौ विकेट गुमाएर २२५ रन बनाएको थियो ।
प्रत्युत्तरमा नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १६८ रन जोड्यो । जितसँगै नेदरल्यान्ड्सले दोस्रो स्थान रक्षा गर्दै ग्लोबल छनोटको सम्भावना बलियो बनाएको छ । स्कटल्यान्ड तेस्रो स्थानमा झरेको छ । नेदरल्यान्ड्स र स्कटल्यान्डले समान ३८ अंक बटुलेका छन् । रनरेटमा नेदरल्यान्ड्स अगाडि रहेको हो । नेपालले ३२ खेलमा २४ अंक जोडेको छ । नेपालले ११ जित र १९ हारको सामना गरेको छ । आइसिसीका अनुसार शीर्ष चार टोली एकदिवसीय विश्वकप प्रतियोगिताको ग्लोबल छनोटमा छनोट हुनेछन् ।
साथसाथै उनीहरूले चार वर्षका लागि एकदिवसीय मान्यतासमेत पाउनेछन् । आगामी सिरिजमा जित निकाल्न नसक्दा नेपालको एकदिवसीय मान्यतासमेत धरापमा पर्न सक्छ । नेपालभन्दा चार खेल कम खेलेको क्यानडा २४ अंकका साथ सातौँ स्थानमा छ । आगामी सिरिजमा एक खेलमा मात्र जित निकाल्दा क्यानडा छैटौँ स्थानमा उक्लिनेछ भने नेपाल सातौँ स्थानमा झर्नेछ ।
नेदरल्यान्ड्सको भ्रमण गर्नुअघि नेपालले घरेलु सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको थियो । दुई महिनाअघि त्रिवि क्रिकेट मैदानमा भएको सिरिजमा नेपालले १६ मध्ये १२ अंक बटुलेको थियो । त्यसवेला नेपालको ब्याटिङ, फिल्डिङ र बलिङ उत्कृष्ट थियो । तर, नेदरल्यान्ड्समा नेपालले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिन सकेन । चारैवटा खेलमा नेपालको अत्यन्तै खराब ब्याटिङ प्रदर्शन भयो । दुईपटक नेपाल समान १५७ रनमा अलआउट भएको थियो । तेस्रो खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको थियो ।
लगातार फितलो ब्याटिङ
नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको थियो । ओनपर कुशल भुर्तेल इनिङ्सको पहिलो ओभरमै आउट भए । सामना गरेको तेस्रो बलमै उनी केइनबाट बोल्ड भए ।
सुरुवातमै ब्याटिङ धरमराएको नेपालले पुनरागमन गर्न सकेन । कुनै पनि विकेटका लागि ठुलो साझेदारी हुन सकेन । सबैले खराब सट रोजे । नेपालका सात ब्याट्सम्यान क्याच आउटका रूपमा पेभेलियन फर्केका थिए । नेपालको ब्याटिङमा आसिफ शेखले सर्वाधिक ३८ रन बनाउन ७८ बलको सामना गर्दा दुई चौका प्रहार गरे । ब्याटिङमा पूरै फ्लप भएका भीम सार्कीले मौका पाउँदा १५ बलमा १० रन बनाए । यसैगरी ईशान पाण्डेले ३१ बलमा १६ तथा कप्तान रोहित पौडेलले ३८ बलमा २६ रनको योगदान दिए । नेपालले ३०.३ ओभरमा ६ विकेट गुमाउँदा स्कोर बोर्डमा १०४ रन बनाएको थियो ।
इनिङ्समा नेपालले चार बलको अन्तरमा आरिफ शेख र गुल्सन झालाई गुमायो । अलराउन्डर करण केसीले २९ बलमा दुई छक्का प्रहार गरी २३ रन जोडे । चौथो खेलमा मौका पाएका हेमन्त धामीले २६ बल खेलेर १५ रन बनाए ।
विकेटविहीन भएका सन्दीप बाहिर
नामिबियासँग दुवै खेल र नेदरल्यान्ड्ससँग पहिलो खेलमा नेपालका मुख्य स्पिनर सन्दीप लामिछाने चौथो खेलमा बाहिर रहे । नामिबियाविरूद्धको पहिलो खेलमा ३२ रन खर्चिंदा उनी विकेटविहीन भएका थिए ।
उनले नेदरल्यान्ड्ससँगको पहिलो खेलमा पनि ३६ रन दिए । नामिबियासँगको दोस्रो खेलमा पनि सन्दीप चलेनन् । यस खेलमा उनले ३६ रन दिए भने कुनै विकेट हात पारेनन् । लगातार तीन खेलमा विकेट लिन नसकेपछि सन्दीप चौथो खेलमा प्लेइङ ११ मा पर्न सकेनन् । उनी मात्र नभएर सोमपाल कामी पनि बाहिर बसे । सोमपाल एकदिवसीय खेलमा सय विकेटनजिक छन् ।
उनले ९९ विकेट लिएका छन् । एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक १५४ विकेट लिएका सन्दीप पहिलोपटक टोलीमा नपरेका हुन् । चौथो खेलमा हेमन्त धामी र ललित राजवंशीले मौका पाए ।
मध्यक्रमले सम्हालेको नेदरल्यान्ड्स
नेदरल्यान्ड्सको सुरुवाती ब्याटिङ राम्रो रहेन । इनिङ्सको १७.१ ओभरमा नेदरल्यान्ड्स ५६–४ को अवस्थामा थियो । त्यसपछि कप्तान स्कट एडवाड्स र नोआच क्रोजबिच पाँचौँ विकेटका लागि ११५ रनको साझेदारी भयो । उनीहरूले टोलीलाई ४१.५ ओभरमा १७१–५ को स्थितिमा राखे । यसै साझेदारीका कारण नेदरल्यान्ड्स खेलमा फर्कियो । स्कटले ९१ बलमा तीन चौकाको सहयोगमा ५७ रन बनाए । कुशल भुर्तेलबाट रनआउट हुनुअघि नोआचले ९३ बलमा तीन चौका प्रहार गरी ७० रन बनाएका थिए । नेपालका लागि करण केसीले सर्वाधिक चार विकेट लिए ।