नारायणी अस्पतालमा शनिबार भएको घटनामा संलग्न भएको भन्दै आकस्मिक कक्षमा कार्यरत पाँच स्वास्थ्यकर्मी निलम्बन भएका छन्। घटना भएको समयमा आकस्मिक कक्षमा खटिएका डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रह्लाद प्रसाद, नरेशकुमार चौधरी र आस्था यादव निलम्बनमा परेका हुन्।
शनिबार साँझ अस्पतालमा सहायक प्रजिअसहित बसेको बैठकले छानबिन समितिको प्रतिवेदन नआएसम्म उनीहरूलाई जिम्मेवारीबाट अलग राख्ने निर्णय गरेको हो। यस्तै, बैठकले घटनाको छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गरेको छ।
छानबिन समितिमा अस्पतालका डा. नीरजकुमार सिंह, सहायक प्रमुख जिल्ला अधिकारी विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगन्ज महानगरपालिका– २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकको आफन्तका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनीलकुमार रौनियार रहेका छन्।
बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घटनाको सम्पूर्ण सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी प्रतिवेदन पेस गरी सोहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ।
अस्पतालमा उपचारको क्रममा मृत्यु भएका वीरगन्ज महानगरपालिका– २५ का ४५ वर्षीय राजकुमार पटेलको शव धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्न परिवारलाई सहजीकरण गर्ने निर्णयसमेत गरिएको छ। अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन निरन्तर सेवा प्रवाह गर्ने प्रतिबद्धता पनि बैठकले जनाएको छ।