शनिबार १० बजेसम्मका प्रमुख १० खबर

शनिबार, ९ साउन, २०८३
डिजिटल संस्करण

एमाले–नेकपाबिच सातै प्रदेशमा सत्तासाझेदारी, तीन प्रदेशको नेतृत्व एमाले र दुईको नेकपाले गर्ने

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच सातै प्रदेशमा सत्तासाझेदारी गर्दै संयुक्त सरकार गठन गर्ने सहमति भएको छ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ। समितिका अनुसार ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिक, स्वीकृतिप्राप्त चिकित्सकबाट प्रमाणित प्राणघातक रोगबाट पीडित बचतकर्ता, एकल महिला, पूर्ण अपांगता भएका व्यक्ति तथा पाँच लाखभन्दा बढी बचत भएका बचतकर्तालाई एकपटकमा अधिकतम ५० प्रतिशतसम्म, तर ५० हजार रुपैयाँ ननाघ्ने गरी रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।

मधेशका १० पालिका केन्द्रित कार्यक्रममार्फत किसानको खेतसम्म सेवा पुर्याइने : मन्त्री चौधरी

पर्यावरणमन्त्री गीता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी कम्तीमा १० वटा पालिकालाई नमुना कार्यक्रमका रूपमा छनोट गरी कार्यान्वयन गरिने बताएकी छिन्।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको भेट तथा संघ–प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कम्तीमा १० वटा पालिका छनोट गर्न माग गरेकी हुन् ।

मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् । शनिबार मुख्यमन्त्री कँडेलले प्रदेशसभा समक्ष राजीनामा दिएका हुन्  

शनिबार बसेको प्रदेश सभा बैठकमा आफ्नो भनाइ राख्दै उनले पदबाट राजीनामा दिएका छन् ।

गाभीले नेपालसँग तीन लाख ८ हजार अमेरिकी डलर फिर्ता नमाग्ने

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलपछि खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग तीन लाख ८ हजार दुई  सय ७१ अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। उक्त रकम गाभी ६.० अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको छ। गाभीले स्वास्थ्य मन्त्री निशा मेहतालाई पठाएको पत्रमार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपाल सरकारले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको हो।

प्रधानमन्त्रीको गीत ब्यानरमा लिएर चिकित्सक आन्दोलनमा (फोटोफिचर)

नेपालमा नेपालमा युवा तथा प्रशिक्षार्थी चिकित्सक (इन्टर्न र आवाशीय चिकित्सक) हरूको सिकाइको नाममा चरम शोषण हुने गरेको भन्दै संघर्ष समितिले प्रदर्शन गरेको छ। सरकारलाई यो विषयमा ध्यानाकर्षण गराउन भन्दै उनीहरुले ब्यानर प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन्।

राष्ट्रिय किताबखानाको पुनर्संरचना, प्रहरी र शिक्षक किताबखाना एउटै छातामुनि

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ साल असार ३२ गते बसेको बैठकले राष्ट्रिय किताबखानाको जिम्मेवारी क्षेत्र विस्तार गर्ने महत्वपूर्ण निर्णय गरेको छ। निर्णयअनुसार साबिकका प्रहरी किताबखाना र शिक्षक किताबखाना अब राष्ट्रिय किताबखानाका शाखाका रूपमा रूपान्तरण हुने भएका छन्। पुनर्संरचनासँगै राष्ट्रिय किताबखानाले निजामती, शिक्षक तथा प्रहरी सेवासम्बन्धी अभिलेख तथा सेवा व्यवस्थापनको जिम्मेवारी एउटै संस्थामार्फत सञ्चालन गर्नेछ।

सिँचाइ विद्युत् महसुल अनुदान रोकिएको भन्ने समाचारप्रति अर्थ मन्त्रालयको स्पष्टीकरण

अर्थ मन्त्रालयले सिँचाइमा प्रयोग हुने विद्युतको महसुलमा दिइँदै आएको अनुदान रोकिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अर्थमन्त्रीको सचिवालयले शनिबार जारी गरेको विज्ञप्तिमा केही सञ्चारमाध्यममा प्रकाशित ‘सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या’ भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

फुटबलर्स मिसन टुगेदरको अध्यक्षमा राणा निर्विरोध

 पूर्वफुटबल खेलाडी भिक्टर जंगबहादुर राणाको अध्यक्षमा फुटबलर्स मिसन टुगेदरले नयाँ कार्यसमिति पाएको छ । शनिबार काठमाडौंमा भएको तेस्रो साधारण सभाले राणाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति नै निर्विरोध पायो। नेपाली फुटबलको समग्र विकास, विस्तार र पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरूको हकहितका लागि क्रियाशील सामाजिक संस्था ’फुटबलर्स मिसन टुगेदर’ स्थापना भएको थियो। 

दाङमा ८ वर्षीया बालिकाद्वारा बलात्कार गरेको बयान, स्वास्थ्य परीक्षणमा देखिएन

दाङ जिल्ला अदालतले ८ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गरेको कसुरमा एक भारतीय नागरिकलाई कैद र क्षतिपूर्तिको फैसला सुनाएको छ। यद्यपि ती भारतीय नागरिकले बलात्कार गरेको भनी ती बालिकाले बयान दिएकी थिइन्। तर, स्वास्थ्य परीक्षणमा नदेखिएपछि ती भारतीय नागरिकलाई बलात्कारको मुद्दा नभई बाल यौन दुरुपयोगको मुद्दा लागेको छ।  

भारतको उत्तर प्रदेश, बलरामपुर जिल्ला घर भई घोराहीस्थित शक्ति ग्रिल उद्योगमा कार्यरत दिननाथले २०८१ जेठ २१ गते राति बिजुली गएको समयमा छिमेकी बालिकालाई मोबाइल देखाउने प्रलोभन देखाई आफ्नो कोठामा लगेर अभद्र यौन क्रियाकलाप गरेको ठहर भएको छ।

सुझावित समाचार