एनआइसी एसिया बैंक स्थापनाको २९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले सप्ताहव्यापी कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । यस अवसरमा बैंकले देशभर विभिन्न कार्यक्रम तथा सामाजिक कार्य सञ्चालन गरिरहेको छ ।
यसै अवसरमा ४ साउनमा पशुपति मन्दिर दर्शन गर्ने भक्तजनका लागि खानेपानी वितरण गरेको बताइएको छ । त्यसैगरी, बैंकले नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवासँगको सहकार्यमा बैंकको केन्द्रीय कार्यालय, कमलादीमा रक्तदानसमेत गरेको छ । रक्तदान कार्यक्रममा एक सयभन्दा बढी कर्मचारी तथा ग्राहकले रक्तदान गरेका थिए ।
यसका साथै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सातै प्रदेशका विभिन्न स्थानमा १३ वटा विद्यालय र एक आश्रमलाई सहयोग उपलब्ध गराइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार, कोशी प्रदेशमा चार, बागमतीमा चार र अन्य प्रदेशमा एक–एक विद्यालयमा कम्प्युटर, फर्निचर, स्मार्ट बोर्ड, भवनको छाना ट्रस निर्माण, प्रोजेक्टर, वाटर प्युरिफायर, प्रिन्टर, झोला र शैक्षिक सामग्री सहयोगसमेत उपलब्ध गराइएको छ ।
बैंकले सातै प्रदेशका सांस्कृतिक सम्पदा, मन्दिर, विद्यालय तथा अन्य सार्वजनिकस्थलको संरक्षण तथा प्रवर्द्धन गर्न सरसफाइ कार्यक्रम सञ्चालन गरेका बताइएको छ ।