मंगलबार १० बजेसम्मका प्रमुख १० खबर

मंगलबार, ५ साउन, २०८३
डिजिटल संस्करण

शिक्षा र स्वास्थ्यमा लगाइएको तीन प्रतिशत समता शुल्क तत्काल लागू हुँदैन : प्रधानमन्त्री बालेन

सरकारले निजी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको तीन प्रतिशत समता कर तत्काल लागू नगर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै हालको अवस्थामा कर कार्यान्वयन गर्दा आमनागरिकमाथि थप आर्थिक भार पर्ने र सेवाग्राहीले अनावश्यक सास्ती व्यहोर्नुपर्ने अवस्था देखिएकाले निर्णय पुनर्विचार गरिएको बताएका हुन्।

स्वदेश फर्किँदै देउवा, सरकारले प्रतिशोध साध्ने आशंका

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कने भएका छन्। मंगलबार प्रेस विज्ञप्तिमार्फत स्वदेश फर्कन लागेको जानकारी दिँदै देउवाले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गरेका छन्।

नेपालमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमलाई निरन्तर नियालिरहेको उल्लेख गर्दै देउवाले भनेका छन्, ‘आज फरक विचारप्रतिको असहिष्णुता, राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन साथै भौतिक र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन सक्दैन।’

प्रदीप अधिकारीले श्रीमतीको नाममा एक करोड ७१ लाखको जग्गा घुस लिएको अभियोग, सम्पत्ति शुद्धीकरणको पनि कसुर

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ। ठेक्का दिलाएपछि एक करोड ७१ लाख रुपैयाँबराबरको जग्गा श्रीमतीको नाममा घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

उनले गायत्री निर्माण सेवाका प्रेमप्रकाश ढकालसँग घुस लिएको आयोगको दाबी छ। जसमा ढकाललाई समेत प्रतिवादी बनाएर घुस र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। 

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : महतको मुद्दा मुलतबी राख्न अदालतको इन्कार

पोखरा विमानस्थलको भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दा मुलतबी राख्न अस्वीकार गरेको छ।

महत अदालतमा उपस्थित भएका बखत कानुनबमोजिम उपयुक्त आदेश हुने अवस्था भएको उल्लेख गर्दै अदालतले मुद्दा मुलतबीमा राख्न इन्कार गरेको हो।

मानसिक अस्वस्थताका कारण महत आफ्नो प्रतिरक्षा गर्न असमर्थ रहेको उल्लेख गर्दै उनकी श्रीमती रोशना महतले निवेदन दिएकी थिइन्। न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार सो मुद्दा मुलतबीमा राख्न अस्वीकार गरेको हो।

यो वर्ष दुई हजार कर्मचारी हुँदै छन् अवकाश

यो वर्ष दुई हजार कर्मचारी अवकाश  हुँदै छन्। अवकाश भएर जाने कर्मचारीको विकल्पमा पनि लोकसेवाले हरेक वर्ष नयाँ विज्ञापन खोल्छ । चालू आवमा पनि करिब दुई हजार कर्मचारी अवकाशमा जाँदै छन् ।

निजामती किताबखानाले सार्वजनिक गरेको ०८३/८४ मा अवकाश हुने कर्मचारीको अनुमानित विवरणअनुसार विभिन्न श्रेणी तथा तहका एक हजार ९८५ कर्मचारीको अनिवार्य अवकाश हुँदै छ ।

विद्युतमा लगाइएको ५ प्रतिशत कर फिर्ता लिन कांग्रेसको माग

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विद्युतमा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता लिन सरकारसँग माग गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता शुल्क तत्काल लागू नगर्ने सरकारी निर्णयको स्वागत गर्दै आङ्देम्बेले चालु आर्थिक वर्षदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी उपभोक्तामाथि लगाएको ५ प्रतिशत भ्याट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

रास्वपाका सांसदले निर्वाचन क्षेत्र भ्रमण गर्दा पार्टीसँग अनिवार्य समन्वय गर्नुपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमण गर्दा पार्टीसँग अनिवार्य समन्वय गर्न निर्देशन दिएको छ। पार्टीले सांसदहरूको जनसम्पर्क गतिविधि व्यक्तिगत भेटघाटमा सीमित नभई संगठन विस्तार र जनताका मुद्दा संसदमा उठाउने माध्यम बन्नुपर्ने जनाएको छ।

महामन्त्री विपिनकुमार आचार्यद्वारा जारी विज्ञप्तिमा क्षेत्र तथा जिल्ला भ्रमणलाई राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउन ‘रणनीतिक समन्वय’ आवश्यक रहेको उल्लेख गरिएको छ।

कोरियन भाषा परीक्षाको आवेदन खुला

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत दक्षिण कोरिया जान चाहने नेपालीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला भएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले विभिन्न चार क्षेत्रमा सात हजार दुई सयजनाको कोटासहित आवेदन आह्वान गरेको हो।

आवेदन आगामी जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत दिन सकिनेछ। आवेदन शुल्क २८ अमेरिकी डलर तोकिएको छ।

नाबिमियासँग नेपालको हार, ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा धक्का

आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबियासँगको खेलमा नेपालले कमजोर प्रदर्शन गरेको छ। नेदरल्याड्समा भएको खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित ग¥यो । टस हारेर पहिला ब्याटीङ गरेको नेपालले १५८ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा २ विकेट गुमाएर ३७.४ ओभरमै नामिबियाले सहज जित निकालेको छ।  

नेपालका लागि ब्याटीङतर्फ कप्तान रोहित पौडेलले ३१, दीपेन्द्रसिंह ऐरीले ३० तथा गुल्सन झाले २० रनको योगदान दिए। सुरुवातदेखि नै कमजोर देखिएको नेपाल ४६.५ ओभरमै अलआउट बनेको थियो। 

नेप्से सात अंकले बढ्दा कारोबार रकम साढे ६ अर्बमाथि

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। नेप्से ७.२५ अंकले बढेर दुई हजार ७२६.४९ विन्दुमा कारोबार बन्द भएको हो।

‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घटेको छ। आज सेन्सेटिभ फ्लोट इन्डेक्समा कुनै परिवर्तन देखिएन।

मंगलबार कारोबार रकममा पनि वृद्धि भएको छ। सोमबार पाँच अर्ब ४४ करोडको सेयर खरिद–बिक्री भएकोमा आज बढेर ६ अर्ब ४७ करोडभन्दा माथि पुगेको छ। मंगलबार ३४३ कम्पनीका एक करोड ४९ लाख २४ हजार कित्ता खरिद–बिक्री भए।

सुझावित समाचार