पोखरा बजारको बिच भाग भएर बहने सेती नदी ठेलिएको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ र १७ को सिमानामा पर्ने रातोपैरो क्षेत्रमा गत वैशाखमा आएको सुक्खा पहिरोको कारण सेती बहने सतहको बाटोमा अवरोध भएपछि करिब ३५/४० मिटरमाथिबाट पानी बगेको हो ।
सेती बहने सतहमा अवरोध भएपछि नदीको करिब आधा पानी नदीको सतहबाट बगेको छ भने आधा पानी करिव ३५/४० मिटरमाथिबाट झरनाजस्तै गरी बगेको छ । पोखरा–१० स्थित रामघाटबाट भूमिगत, खोँच, अर्ध–भूमिगत हुँदै करिब सात किलोमिटरको दूरी पार गर्दै रातोपैरो क्षेत्रमा सेती निस्केको छ । भूमिगत स्थान पार गर्दै खुला क्षेत्रमा निस्कने स्थानमा करिब ३५/४० मिटर अग्लो सतहमा सेतीको करिब आधा पानी बगेपछि करिब सात किलोमिटर क्षेत्रमा पानी रोकिएको छ । रातोपैरो क्षेत्रमा पानीको बहाव रोकिएका कारण रामघाटमा समेत सेतीको सतह बढेको छ, जसले गर्दा रातोपैरोसम्मको क्षेत्रमा समेत भित्र ताल बनेको देखिन्छ ।
लगातार वर्षा भइरहने र ठेलिएको पानी यही अवस्थामा अबको दुई तीन दिन रहे त्यसले ठुलो जोखिम निम्त्याउन सक्ने आकलन गरिएको छ । सेती भूमिगत भएको स्थानबाट निस्कने रातोपैरोसम्मको क्षेत्रका विभिन्न स्थानमा गहिरो चिरा, सुरुङजस्ता भाग जहाँ चुनढुंगा र क्याल्सियमयुक्त निक्षेपभित्र गहिरो खोँच तथा कतिपय स्थानमा नदी सतहबाट नदेखिने गरी सुरुङजस्ता भागभित्र भूमिगत च्यानल बनाउँदै बगेकाले पानी रोकिरहँदा दायाँ–बायाँ छिरेको खण्डमा त्यसले ठुलो समस्या खडा गर्न सक्ने अनुमान गरिएको छ । सँगै ठेलिएको पानी एकैपटक फुटे तल्लो तटीय क्षेत्रमा धेरै असर गर्ने अनुमान गरिएको छ ।
स्थानीय हरि बास्तोलाले ठेलिएको स्थानमा दायाँ–बायाँ भाग अझै बिस्तारै भासिने र थप पहिरो खस्ने क्रम रहेको बताए । थुनिएको भागमा शुक्रबारसमेत माथिबाट पहिरो आएको बताउँदै भत्किने वा थप पहिरो खस्ने जोखिम अझै बढेको बताए । ठेलिएको पानीका कारण त्यस क्षेत्रको भूभागसमेत कमजोर बन्दै गएकाले एक्कासि ठेलिएको पानी खोलिए यसले रातोपैरोसँगै महत्तगौडा, लामातारा, दोबिल्ला हुँदै तनहुँको दमौली बजारसम्मलाई असर पार्ने उनले बताए ।
पृथ्वीनारायण क्याम्पसअन्तर्गतको भूगोल विभागका विभागीय प्रमुख डा. रामजीप्रसाद पोखरेल पोखराको भूवनोट खोक्रो रहेकाले नदीको बहावमा अवरोध भइरहे यसले ठुलो समस्या निम्त्याउन सक्ने बताउँछन् । नदीको पानीले लामो समय बाटो नपाए त्यो पानी दायाँबायाँ खेल्न सक्ने भएकाले सतर्क रहन आवश्यक रहेको उनको भनाइ छ ।
भूगोलविद् डा. कृष्ण केसीले यस क्षेत्रमा विगतदेखि नै जमिन भासिने र सेती नदीको डिल खस्ने समस्या रहेको बताए । नदीको जोखिमयुक्त किनार क्षेत्रमा नियमित निगरानी आवश्यक रहेको उनी बताउँछन् । पोखरा महानगरले नगर क्षेत्रमा रहेका भूजोखिमका क्षेत्रसँगै विपत् व्यवस्थापनबारे आवश्यक बहस, अध्ययन र दीर्घकालीन योजना बनाएकाले समय–समयमा समस्या आउने गरेको केसीले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले पानी ठेलिएको विषयमा विज्ञ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सरोकारवाला निकायसँग छलफल गरी आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको बताए ।