मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आएसँगै शनिबार साँझबाट सक्रिय बनेको वर्षा गराउने प्रणाली आज आइतबार झन् सशक्त हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज आइतबारदेखि सोमबार बिहानसम्मको अवधिमा देशभर वर्षा हुनेछ ।
त्यसमा पनि कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका थोरै तथा मधेश, बागमती र गण्डकीका तराईको एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागको एक–दुई स्थानमा भने भीषणदेखि अत्यधिक वर्षाको चेतावनी पनि दिइएको छ ।
मुसलधारेदेखि अत्यधिक वर्षाको सम्भावना देखिएपछि विभागले यस मनसुनमा पहिलो पटक २३जिल्लामा रेडअलर्ट जारी गरेको छ । बाढीपहिरोको अत्यधिक जोखिम भएका क्षेत्रमा विभागले रेडअलर्ट जारी गर्ने गरेको छ । ‘हामीले जारी गरेको रेडअलर्ट प्रभावमा आधारित हो । कोशी, बागमती र गण्डकीका जिल्लामा रेडअलर्ट जारी गरेका छौँ,’ जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले भने, ‘यसअघि नै ठुलो पानी परिसकेको, माटो गलेको र बाटो बिग्रेका क्षेत्रमा अझ बढी जोखिम हुने भएकाले त्यहाँ वार्निङ दिएका हौँ ।’
विभागका अनुसार आइतबार देशका धेरै ठाउँमा मध्यमसम्मको वर्षा हुनेछ । त्यसमा पनि कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभाग तथा बागमती र गण्डकीका थोरै स्थान तथा मधेश, बागमती र गण्डकीका तराईको एक–दुई स्थानमा मुसलधारेदेखि भीषण वर्षाको सम्भावना छ । त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा अत्यधिक वर्षाको समेत चेतावनी दिइएको छ । तर, आइतबार राति पनि देशभर वर्षा हुनेछ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग थोरै स्थानमा मुसलधारेदेखि भीषण वर्षा तथा मधेश र बागमती प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना छ । कोशी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ ।
सोमबार पनि देशभर वर्षाको आकलन छ । तर, ठुलो वर्षा भने तुलनात्मक रूपमा कम वर्षा हुनेछ । सोमबार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । यद्यपि, सुदूरपश्चिमका पहाडी र तराई भूभागका थोरै स्थान तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा ठुलो वर्षाको आकलन छ ।
काठमाडौं जोड्ने मुख्य राजमार्ग ठप्प
वर्षापछि बाढीपहिरोका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य राजमार्ग ठप्प भएका छन् । नेपाल प्रहरीका अनुसार कान्ति लोकपथ र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक पहिरोका कारण अवरुद्ध बनेका हुन् । यसबाहेक बिपी राजमार्ग र नारायणगढ–मुग्लिन–काठमाडौं सडकमा सम्भावित जोखिमका कारण सवारी आवागमनमा रोक लगाइएको हो ।
बागमती गाउँपालिका– ३, भालुखोलामा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध बनेको हो भने यही राजमार्गको हेटौँडा–ठिंगन–बागमती–ललितपुर खण्डमा सम्भावित बाढी र पहिरोको जोखिमका कारण अर्को सूचना नभएसम्म सवारी सञ्चालन बन्द गरिएको छ । पहिरो खस्दा शनिबार राति नै भीमफेदी–कुलेखानी–सिस्नेरी सडक ठप्प छ ।
चितवन प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्डमा अनिश्चितकालका लागि राति गाडी गुडाउन रोक लगाएको छ । यो सडकमा हरेक दिन पहिरो खसिरहेको छ ।
बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी खण्डमा आइतबार साँझ ६ बजेदेखि सवारी सञ्चालन रोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले ट्राभल एडभाइजरी जारी गर्दै उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका प्रवेश विन्दुबाट बाहिरिने एवं भित्रिने सवारीसाधनलाई विशेष सावधानी अपनाउन र सम्बन्धित क्षेत्रका प्रशासनको सूचना लिन भनेको छ ।
अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४, जिरोकिलो र गाउँपालिका– २, कोदारी क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ । त्यस्तै, चितवन प्रशासनले नारायणगढ– मुग्लिन–काठमाडौं सडक पनि अनिश्चितकालका लागि बन्द गरेको छ ।
नेपाल प्रहरीले शनिबार राति विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनीमा सडक तथा राजमार्ग अवरुद्ध भएको जनाएको छ । प्रहरीले अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न आग्रह गरेको छ ।
इलाम (मेची राजमार्ग)को राजदुवाली क्षेत्रमा पहिरोका कारण झापा–ताप्लेजुङ सडक पूर्ण रूपमा अवरुद्ध छ । वैकल्पिक मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ । भोजपुरको (मध्यपहाडी लोकमार्ग) भोजपुर नगरपालिका– ५, बोखिममा बाढीका कारण सडक एकतर्फी सञ्चालनमा छ ।
रसुवामा (पासाङ ल्हामु सडक) गोसाइकुण्ड गाउँपालिका– ६, बोकेझुन्डामा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ । यसैगरी, बागलुङमा (कालीगण्डकी करिडोर) जैमिनी नगरपालिका– ८, बेलबगर क्षेत्रमा पहिरोका कारण मुस्ताङतर्फ जाने सडक पूर्ण रूपमा अवरुद्ध छ ।
अर्घाखाँची (सालझन्डी–ढोरपाटन सडक) पाणिनी गाउँपालिका– २, ढुंगेखोलामा पहिरोका कारण बागलुङ, रुकुम र गुल्मीतर्फ जाने सडक पूर्ण रूपमा बन्द छ । गुल्मीमा (वामी–रिडी सडक) चन्द्रकोट गाउँपालिका– ८, तल्लाफाँटमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढी, पहिरो एवं डुबानको जोखिमलाई मध्यनजर गर्दै विपत् व्यवस्थापन प्राधिकरणले रेडअलर्ट जारी भएका जिल्लामा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाउन भनेसँगै जिल्ला प्रशासन कार्यालयहरूले धमाधम सूचना जारी गरेका छन् ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टको निर्णय
–रातो रङ (प्रतिकार्य गर्नुपर्ने) श्रेणीमा राखिएका जिल्लामा जिल्ला सुरक्षा समिति र स्थानीय तहलाई उच्च सतर्कता अपनाउन निर्देशन
–रातो रङअंकित जिल्लामा रातिको समयमा सवारी आवागमनमा रोक लगाउन र परिस्थितिअनुसार जुनसुकै वेला यातायात बन्द गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन
–पहिरो वा बाढीले सडक अवरुद्ध भएमा तत्काल खुलाउन जोखिमयुक्त राजमार्ग र सडकहरूमा डोजर, एक्स्काभेटर, लोडरजस्ता साधन तयारी अवस्थामा राख्न सडक विभाग र सम्बद्ध निकायलाई अनुरोध
–पूर्वसूचना र चेतावनीका आधारमा जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति तथा घरपरिवारलाई विपत् आउनुपूर्व नै सुरक्षित स्थानमा सार्न जिल्ला सुरक्षा समिति, स्थानीय तह र सुरक्षा निकायलाई अनुरोध
–नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवकहरूलाई प्रतिकार्यका लागि तयारी अवस्थामा रहन
–राहत र उद्धार सामग्रीका लागि आपत्कालीन गोदाम घरलाई आवश्यकता पर्नासाथ तुरुन्त परिचालन गर्न सकिने गरी व्यवस्था मिलाइएको