महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, पूर्वाधार विकास तथा परोपकारका क्षेत्रमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले झापा, बागलुङ, मकवानपुर र चितवनका विभिन्न विद्यालयमा छात्राहरूका लागि आधुनिक शौचालय निर्माण गर्न रोटरी क्लबमार्फत आर्थिक सहयोग गरेको छ। यस्तै, बैंकको बेलौरी शाखामार्फत कञ्चनपुरको शुक्लाफाँटा– १ स्थित श्री कृष्ण आधारभूत विद्यालयका गरिब तथा जेहेनदार विद्यार्थीलाई ८० थान विद्यालय झोला वितरण गरिएको छ।
त्यसैगरी, बाराको जीतपुर सिमरा उपमहानगरपालिका– २ स्थित सिमरा कलेजलाई पठनपाठन प्रविधिमैत्री बनाउन एक थान ल्यापटप सहयोग गरिएको छ। बझाङको केदारस्युँ– ४ स्थित शिक्षोदय माध्यमिक विद्यालयको किशोरकिशोरीमैत्री सूचना केन्द्रका लागि स्वास्थ्य तथा खेलकुद सामग्री खरिद गर्न आर्थिक सहयोग गरिएको छ।
बैंकले पाल्पाको रिब्दिकोट– ४ स्थित श्री भैरवनाथ मन्दिरमा फोहोर व्यवस्थापनका लागि १० थान डस्टबिन हस्तान्तरण गरेको छ भने मकवानपुरको भीमफेदी– १ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आरओसहितको पिउने पानी संरचना निर्माणका लागि सहयोग गरेको छ। साथै, रौतहटको चपुर– १० स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई सेतो डिजिटल बोर्ड प्रदान गरिएको छ।
‘सबल बैंक, सफल सहकार्य’ भन्ने नाराका साथ वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौं महानगरपालिका– ३०, ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको छ।