प्रमुख प्रतिपक्षी दल कांग्रेसले ७ साउनदेखि जनताकेन्द्रित अभियान थाल्ने भएको छ । गत १ वैशाखदेखि जारी कार्यकर्ताकेन्द्रित ‘जरा अभियान’ ६ साउनमा समापन हुँदै छ । जरा अभियानअन्तर्गत कांग्रेसले सातै प्रदेशमा समीक्षा कार्यक्रम र सदस्यता अद्यावधिकको काम गरेको छ ।
अब जनताको मुद्दामा पार्टीलाई केन्द्रित गर्न अभियान सुरु हुने सहमहामन्त्री प्रकाश स्नेहीले बताए । उनका अनुसार सभापति गगन थापाले ७ साउन राजधानीमा आयोजना हुने कार्यक्रमबाट अभियानको प्रारम्भ गर्नेछन् । पार्टी र जनताबिच ग्याप रहेको निष्कर्षसहित कांग्रेसले अभियान सञ्चालनको तयारी गरेको हो । कांग्रेसका नेता तथा कार्यकर्तालाई ५० प्रतिशत सांगठनिक र ५० प्रतिशत सामाजिक काममा जोड्ने कांग्रेसको नीति छ ।
जुन अभियानले कांग्रेसलाई निर्वाचनकेन्द्रितभन्दा नागरिककेन्द्रित बनाउने कांग्रेसको विश्वास छ । ‘जनताकेन्द्रित अभियानको अन्तिम तयारीमा छौँ । अभियानको समय र मोडालिटी केही दिनमै टुंगिन्छ र ७ साउनबाट प्रारम्भ हुन्छ,’ स्नेहीले भने ।
कांग्रेसलाई मत हाल्ने १० लाखले गत निर्वाचनमा मत परिवर्तन गरेको र तिनीहरूका साथै नयाँ मतदातालाई पनि कांग्रेसप्रति आकर्षित हुने वातावरण बनाउने दाबी कांग्रेसको छ । विगतमा कमजोरी भएको स्विकार्दै कांग्रेसले अब सत्तामुखी नभई जनतामुखी हुने प्रतिबद्धता जनाएको छ । ‘अब कांग्रेस जोसँग पनि जतिवेला पनि सत्तागठबन्धन बनाउने काममा लाग्दैन । हामी बोलीबाट होइन, व्यवहारबाट परिवर्तन भएर देखाउन चाहन्छौँ,’ स्नेहीले भने ।
१५औँ महाधिवेशनको काम पनि सँगसँगै अघि बढ्ने उनले बताए । ‘क्रियाशील सदस्यताको काम भइरहेको छ । सबै अद्यावधिक गरेपछि त्यसलाई अन्तिम रूपमा दिने काम हुन्छ । त्यसपछि निर्वाचन समितिलाई बुझाउँछौँ,’ क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेको स्नेहीले भने, ‘१५औँ महाधिवेशनको काम निरन्तर अघि बढिरहेको छ ।’ सुशासन, जनजीविकालगायतका सामाजिक अभियान सञ्चालन गरिने उनले बताए ।