इतिहासमा आज

बिहिबार, ३२ असार, २०८३
डिजिटल संस्करण

सन् १९४५ : अमेरिकाले ‘न्यु–मेक्सिको’ राज्यको विकट क्षेत्र अलामोगार्दोमा विश्वको पहिलो आणविक बमको सफल परीक्षण गर्यो । ‘ट्रिनिटी टेस्ट’ नाम दिइएको परीक्षणमा प्रयोग भएको बमको नाम ‘ग्याजेट’ राखिको थियो, जुन ‘म्यानह्याटन प्रोजेक्ट’बाट बनाइएको थियो । त्यस परियोजनामै ‘ट्रिनिटी’ बमसँगै बनाएका अन्य दुई बम भने जापानका दुई सहरमा हानिएका थिए ।

सन् १६६१ : ‘बैंक अफ स्टोकहोम’ले युरोपमा पहिलोपटक कागजी नोट जारी गर्यो ।

सन् १७८९ : फ्रान्सेली राजा लुई सोह्रौँले पाँच दिनअघि बर्खास्त गरेका वित्तमन्त्री ज्याक नेकरलाई पुनः पदमा फिर्ता गरे । आम असन्तोष साम्य पार्ने उद्देश्यले उनलाई पदमा फिर्ता गरिएको थियो । उनलाई फर्काइए पनि विरोध भने रोकिएन ।

सन् १७९० : अमेरिकी कंग्रेसले ‘रेजिडन्स एक्ट’ पारित गर्दै ‘डिक्ट्रिक्ट अफ कोलम्बिया’ अन्तर्गतको वासिंटन सहरलाई देशको स्थायी राजधानी तय गर्यो ।

सन् १८०९ : लापाज–बोलिभियाले स्पेनिस शाही शासनबाट अलग भएको घोषणा गर्यो । लगत्तै त्यहाँ दक्षिण अमेरिकाको पहिलो स्वतन्त्र सरकार गठन भयो, जसले महादेशभर स्पेनिस शासनविरुद्ध स्वतन्त्रता लहरलाई प्रेरित गर्यो ।

सन् १८७५ : फ्रान्समा तेस्रो गणतन्त्रलाई सुदृढ गर्ने संविधानको अन्तिम अंश यसै दिन पारित भयो ।

सन् १८८२ : अब्राहम लिंकनको हत्याको १७ वर्षपछि उनकी श्रीमती म्यारी टोड लिंकनको पक्षघातका कारण निधन भयो ।

सन् १९१८ : जुलाई १६–१७ मध्यराततिर बोल्जेभिक क्रान्तिकारीले बन्दी अवस्थामा रहेका निलम्बित जार निकोलस द्वितीय, उनकी श्रीमती र तिनका पाँच सन्तानलाई हत्या गरे । साथमा उनीहरूका चार सहयोगीसमेत मारिएका थिए ।

सन् १९६९ : पहिलो मानववाहक चन्द्रयान ‘एपोलो ११’ अमेरिकाको केनेडी स्पेस सेन्टरबाट चन्द्रमाको लागि उड्यो । यान २० जुलाईमा चन्द्रमा अवतरण गरेर चार दिनपछि पृथ्वीको सतह फर्किएको थियो ।

सन् १९७९ : सद्दाम हुसेन इराकका राष्ट्रपति चुनिए, जुन पदमा उनी झन्डै अढाई दशकसम्म रहे ।  

सुझावित समाचार