राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले सञ्चार गृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने कार्यको विरोध गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध सिर्जना गर्नु गलत भएको बताएका हुन्। यस्तो घटनामा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी कारबाही हुनुपर्ने उनको माग छ।
झाले राज्यको दायित्व नागरिकका चिन्ता र समस्या समाधान गर्नु भएको उल्लेख गर्दै राज्यले आफ्ना गतिविधिबाट नागरिकलाई थप त्रसित बनाउनु नहुने बताए। उनले यस्ता कार्यलाई ‘बचपना’को संज्ञा दिँदै यस प्रकारका स्तरहीन र गलत अभ्यासबाट सुशासन सम्भव नहुने टिप्पणी गरेका छन्।
उनले लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सञ्चारमाध्यमको काममा अवरोध पुर्याउने कुनै पनि गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको पनि जनाएका छन्।