राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले कानुनको कार्यान्वयन सबै नागरिकका लागि समान हुनुपर्ने भन्दै सरकारको दोहोरो मापदण्डप्रति प्रतिनिधिसभामा प्रश्न उठाएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले नागरिकको जीवनभन्दा नीति–नियमलाई ठुलो ठान्ने प्रवृत्तिको आलोचना गरे।
उनले भने, ‘हिजो सिंहदरबारभन्दा मान्छे ठुलो भन्नेहरू आज मान्छेको जीवनभन्दा नीति–नियम ठुलो भन्दैछन्।’ उनले मानिसको हत्या केवल गोली हानेर मात्र नहुने उल्लेख गर्दै नागरिकको जीविकोपार्जनको आधार खोसेर, रोजीरोटी बन्द गराएर निराशा र पीडामा धकेली आत्महत्यासम्म पुग्ने अवस्था सिर्जना गर्नु पनि गोली हानेसरहको अपराध भएको दाबी गरे।
सांसद शाहीले आफूहरूले कहिल्यै सडकमा जथाभावी पार्किङ गर्न पाउनुपर्ने माग नगरेको स्पष्ट पार्दै प्रहरीको रुखो, अमानवीय र अपमानजनक व्यवहारका कारण कुनै पनि नागरिक आत्महत्या गर्न बाध्य नहोस् भन्ने मात्र आफूहरूको माग रहेको बताए।
उनले कानुन उल्लंघन गर्ने सर्वसाधारणमाथि कारबाही हुने, तर सिटबेल्ट नलगाई सवारी चलाउने गृहमन्त्री वा प्रधानमन्त्रीमाथि कारबाही नहुने अवस्थाप्रति पनि प्रश्न उठाए। ‘न्याय सबैका लागि बराबर हुनुपर्छ,’ उनले भने। सांसद शाहीले आफूहरूले कानुन हटाउन नभई कानुन सबैका लागि समान रूपमा लागू गर्नुपर्ने माग गरेको दोहोर्याए।