दुई महिनाभित्र हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन गरिने

कार्यदलले उद्योगमन्त्रीलाई बुझायो पुनः सञ्चालनको कार्ययोजना

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

दुई दशकभन्दा लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनतर्फ सरकार निर्णायक चरणमा पुगेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगलाई दीर्घकालीन रूपमा पुनर्जीवित गर्ने लक्ष्यसहित तयार गरिएको अध्ययन प्रतिवेदन सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ।

प्रतिवेदनले आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने कार्ययोजना अघि सारेको छ। उद्योग मन्त्रालयका प्रशासन तथा संस्थान महाशाखा प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग पुनः सञ्चालनका लागि आवश्यक प्राविधिक, आर्थिक तथा नीतिगत तयारी समेटिएको प्रतिवेदन मन्त्री यादवलाई हस्तान्तरण गरेको हो।

यद्यपि, प्रतिवेदन बुझाउनुअघि नै सरकारले परीक्षण उत्पादनको तयारी अघि बढाइसकेको जनाएको छ। अर्थ मन्त्रालयले विनियोजन गरेको बजेटअनुसार नेपाली सेनाले उद्योगभित्र रहेका पुराना मेसिनहरूको मर्मत तथा परीक्षण सञ्चालनको काम सुरु गरिसकेको मन्त्रालयले दाबी गरेको छ ।

दुई महिनाभित्र परीक्षण उत्पादन गर्ने लक्ष्य
प्रतिवेदनअनुसार सरकारले नेपाली सेनालाई आगामी दुई महिनाभित्र हेटौँडा कपडा उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने बताइएको छ। त्यसका लागि उद्योगभित्र आवश्यक प्राविधिक तयारी तीव्र पारिएको जनाइएको छ। नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयअन्तर्गतको प्राविधिक टोली उद्योगपरिसरमा खटिएर सरसफाइ, मेसिन परीक्षण तथा मर्मतको काम गरिरहेको उल्लेख छ। परीक्षण उत्पादनका लागि आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

अर्थ मन्त्रालयबाट ३३ लाख बजेट निकासा, मर्मतमा थप ५० लाख खर्च हुने
परीक्षण उत्पादनको प्रारम्भिक तयारीका लागि उद्योग मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ निकासा गरिसकेको छ। उक्त बजेटबाट मेसिन मर्मत, सरसफाइ र परीक्षण उत्पादनका लागि आवश्यक प्रारम्भिक काम भइरहेको मन्त्रालयले जनाएको छ।

उद्योग सञ्चालनका लागि मेसिन मात्र होइन, भौतिक संरचनाको मर्मतसमेत आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ। उद्योगपरिसरका भवन तथा अन्य संरचना मर्मतका लागि ५० लाख रुपैयाँ लागत अनुमान तयार गरिएको छ। उक्त लागतअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयले उद्योगका संरचना मर्मत गर्ने जिम्मेवारी लिएको छ। यसैबिच, उद्योगभित्रको विद्युत् प्रणाली मर्मत गर्ने काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको मन्त्रालयले जनाएको छ ।

परीक्षणपछि दीर्घकालीन सञ्चालनको योजना
सरकारले तत्कालका लागि पुरानै मेसिन मर्मत गरेर परीक्षण उत्पादन गर्ने रणनीति अपनाएको छ । परीक्षण उत्पादन सफल भएपछि उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने प्रतिवेदनमा उल्लेख छ । डिपिआरका आधारमा उद्योगको आधुनिकीकरण, आवश्यक लगानी, कानुनी सुधार तथा नीतिगत व्यवस्था गरी दीर्घकालीन रूपमा उद्योग सञ्चालन गर्ने सरकारको योजना रहेको छ ।

प्रतिवेदन बुझ्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले राष्ट्रिय गौरवसँग जोडिएको उद्योगलाई पुनर्जीवित गर्ने अभियानलाई सफल बनाउन मन्त्रालयले आवश्यक समन्वय, बजेट व्यवस्थापन तथा नीतिगत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन्।कार्यदलले दिएको सुझावअनुसार तोकिएको समयभित्र परीक्षण उत्पादन सुरु गरी त्यसलाई दीर्घकालीन सञ्चालनतर्फ लैजाने तयारी सरकारले गरिरहेको मन्त्री यादवको भनाइ छ।

लामो प्रतीक्षापछि सञ्चालनको आशा
नेपालको औद्योगिक इतिहासमा महत्त्वपूर्ण मानिएको हेटौँडा कपडा उद्योग लामो समयदेखि बन्द रहँदा पुनः सञ्चालनकाे घोषणा पटक–पटक भए पनि कार्यान्वयन हुन सकेको थिएन। यसपटक भने परीक्षण उत्पादनको स्पष्ट समयसीमा, बजेट निकासा, नेपाली सेनाको प्रत्यक्ष संलग्नता र मन्त्रालयहरूबिचको समन्वयसँगै उद्योग पुनः सञ्चालन हुने सम्भावना बलियो बनेको छ। यदि निर्धारित समयअनुसार आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सफल भयो भने हेटौँडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने सरकारी योजना कार्यान्वयनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।
 

सुझावित समाचार