लागुऔषधसहित पाँचजना भारतीय नागरिक पोखराबाट पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो पोखरा, जिल्ला प्रहरी कार्यालयमातहतको इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारीसाधन चेकजाँचका क्रममा पोखरा महानगरपालिका– ३२, मझुवा क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
मझुवा क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँचको क्रममा आइतबार राति १० बजेको समयमा उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश सरदार नगर गोरखपुर बस्ने वर्ष २७ का विकाश कुमार, फोराबार सुबाबजार गोरखपुर बस्ने वर्ष २९ का आशिष कुमार, अराजी वसाडिला कुसमही बजार गोरखपुर बस्ने वर्ष २९ का अभयकुमार मिश्रा, भारत कुसुमी बजार गोरखपुर बस्ने वर्ष ३३ का पृतम कुमार र नन्दनगर बरगहिता कुडाघाट खोराभार गोरखपुर बस्ने वर्ष २५ का अविशेक कुमार रहेका छन् ।
पोखरातर्फ आउँदै गरेको युपी ५३ इवाई ७७०४ नम्बरको कारलाई रोकी चेकजाँच गर्दा उक्त कारको विभिन्न भागमा लुकाइछिपाई राखेको लागुऔषध डाइजापाम ६ सय एम्पुल, फेनरागन ६४८ एम्पुल, बुप्रिनुर्फिन ६ सय एम्पुल गरी एक हजार ८४८ एम्पुल, नाइट्रोभ्याट ट्याब्लेट ३० चक्की, ट्यापेन्टाडोल ट्याब्लेट एक सय चक्की, ट्रामाडोल ३८० चक्की र मोबाइल पाँचथान प्रहरीले बरामद गरेको पासवानले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई सोमबार कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी कसुरमा सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।