नयाँ अभियान सञ्चालन गर्दै कांग्रेस

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

कांग्रेसले साउन दोस्रो हप्ताबाट नयाँ अभियान सञ्चालन गर्ने भएको छ । ६ साउनमा जरा अभियान समापन भएलगत्तै ७ साउनबाट नयाँ अभियान सञ्चालन गर्ने तयारी कांग्रेसको छ ।

‘साउन ६ गते पार्टीको जरा अभियान सम्पन्न भएलगत्तै साउन ७ गतेको कार्यक्रमबाट भदौ २४ सम्मका लागि नयाँ अभियानको घोषणा गर्छौँ,’ सभापति गगन थापाले भने । नयाँ अभियानबारे उनले विस्तृत बताएनन् । उनले कांग्रेस कुनै घटनापछि प्रतिक्रिया जनाउने पार्टीका रूपमा नरहने बरु सम्भावित नागरिक समस्यालाई उजागर गर्ने अभियानमा क्रियाशील रहेको बताए ।

कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले ६ साउनमा पार्टीका तर्फबाट पाँच किलोमिटरको ग्रिन रन, चित्रकला र संवाद कार्यक्रम हुने जानकारी गराए । ‘नेपाली कांग्रेसले यो वर्षको बिपी पुण्यतिथिमा जलवायु परिवर्तन र यसका प्रभावमा केन्द्रित रहेर कार्यक्रम गर्न लागेका छौँ । साउन ७ गते राष्ट्रिय सभागृहमा विचार गोष्ठी हुँदै छ,’ शर्माले भने ।

सहमहामन्त्री प्रकाश स्नेहीले नयाँ अभियानको मोडालिटीबारे छलफल भइरहेको बताए । ‘सुशासन, पार्टी पुनर्निर्माण, सामाजिक अभियान सञ्चालन, पार्टीलाई बलियो बनाउने अभियान, जनताप्रति सरकारलाई उत्तदायी बनाउनेलगायतका विषयमा हामी आन्तरिक गृहकार्यमा छौँ । आन्तरिक रूपमा अभियानबारे छलफल भइरहेको छ । मोडालिटी छिट्टै तयार हुन्छ,’ स्नेहीले भने ।

सुझावित समाचार