केही दिनअघि उदयपुरको चौदन्डीगढी नगरपालिका वडा नम्बर ७ र ४ स्थित लामाचौरी गाउँमा जंगली हात्तीले ११ घरमा आक्रमण गर्दा १६ लाख २० हजारबराबरको क्षति पुग्यो । हुल बाँधेर आएका हात्तीले मानवबस्ती पसेर भौतिक संरचना नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको तथ्यांकअनुसार जंगली हात्तीको आक्रमण बर्सेनि बढ्दै गएको छ । पछिल्लो ६ आर्थिक वर्षको विवरणअनुसार जंगली हात्तीका कारण भौतिक तथा आर्थिक क्षति निरन्तर बढ्दो छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी गणेशबहादुर बमका अनुसार ०७७/७८ देखि चालू आर्थिक वर्ष ०८२/८३ सम्मको तथ्यांकमा हात्तीबाट हुने क्षति निरन्तर बढेको देखिन्छ । उनले भने, ‘मानवबस्तीमा पसेर क्षति पुर्याउने जनावरमा जंगली हात्ती मात्र हो, बर्सेनि तथ्यांक बढेको छ ।’
६ वर्षको अवधिमा १६ जना जंगली जनावर तथा हात्तीको आक्रमणबाट घाइते भएका छन् । हात्तीकै आक्रमणमा परी १३४ वटा घर, १६ वटा गोठ र ८२ वटा अन्य संरचनामा क्षति पुग्दा कुल १३८ घरपरिवार प्रभावित भएका छन् । आक्रमणबाट एक करोड नौ लाख ११ हजार दुई सय रुपैयाँ क्षति पुगेको प्रहरीको तथ्यांक छ ।
बमका अनुसार आव ०७७/७८ मा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका थिए । १३ घरपरिवार प्रभावित भएका थिए । नौ लाख सात हजारबराबरको क्षति भएको थियो । आव ०७८/७९ मा जंगली हात्तीबाट एकजना घाइते भएका थिए । कुल ३० घरपरिवार प्रभावित हुँदा अनुमानित क्षति ३३ लाख ७७ हजार रुपैयाँ छ ।
डिएसपी बमका अनुसार आव ०७९/८० मा मानवीय क्षति केही घटे पनि भौतिक क्षति कायम रह्यो । सो वर्ष घाइते हुने घटना नभए पनि ६ घरपरिवार प्रभावित हुँदा दुई लाख ९५ हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
आव ०८०/८१ मा २६ घरपरिवार प्रभावित हुँदा १६ लाख ६६ हजारको क्षति भएको थियो । आव ०८१/८२ मा हात्तीको आक्रमणबाट चारजना घाइते भएका थिए । १८ घरपरिवार प्रभावित हुँदा १६ लाख ९० हजार क्षति भएको छ । चालू आव ०८२/८३ को १५ असारसम्म ५० घरपरिवार प्रभावित हुँदा २९ लाख ७६ हजार २ सय रुपैयाँको क्षति भएको छ ।
डिएसपी बमका अनुसार भित्री मधेशमा पर्ने उदयपुरको बेलका, चौदन्डीगढी, त्रियुगा तथा कटारी नगरपालिकाका वनक्षेत्रसँग जोडिएका बस्तीहरू जंगली हात्तीको मुख्य प्रभावित क्षेत्र मानिन्छन् । जंगलबाट बस्ती पसेर हात्तीले घर भत्काउने, अन्नबाली नष्ट गर्ने तथा स्थानीयलाई आक्रमण गर्ने गरेका छन् ।
पूर्वी नेपालको झापा, मोरङ र सुनसरीबाट कोशी टप्पु वन्यजन्तु आरक्ष हुँदै उदयपुरमा हात्तीको प्रवेश हुने गरेको छ । बेलका नगरपालिकाबाट उदयपुर प्रवेश गरेको हात्तीको बथान कटारी हुँदै सिन्धुली पुग्ने गरेका छन् । उदयपुरगढी गाउँपालिका– ७ का स्थानीय अगुवा होमबहादुर बस्नेत भन्छन्–‘उदयपुरमा विशेष गरी मदन भण्डारी लोकमार्गमा आसपासका चुरेबस्तीका गाउँमा जंगली हात्तीले क्षति पुर्याउने गरेको छ ।’