आइतबार १० बजेसम्मका प्रमुख १० खबर

आइतबार, २८ असार, २०८३
डिजिटल संस्करण

गणेश नेपालीको परिवार र सरकारबिच नौबुँदे सहमति

आत्मदाहपछि ज्यान गुमाएका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले ९ बुँदे सहमति गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबिच सहमति भएको हो।

सहमतिका बुँदामा परिवारलाई उचित राहत प्रदान गर्ने, आश्रित छोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्नेलगायतका विषय उल्लेख छन्।

कास्कीमा वर्षापछि आएको बाढीले झोलुंगे पुल बगायो

लगातारको वर्षापछि आएको बाढीले कास्कीमा एक झोलुंगे पुल बगाएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रोंग खोलाको झोलुंगे पुल बाढीले बगाएको हो। पालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार किम्रोंग खोलामा आएको बाढीले पुल बगाएपछि सो क्षेत्रमा आवतजावत पूर्ण रूपमा प्रभावित बनेको छ ।

करिब एक सय ४० मिटर लामो सो पुल बगेसगै किम्रोंग हुँदै घान्द्रुक आउने बाटो बन्द भएको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने किम्रोंग खोलामाथिका सो पुल बाढीले बगाएसँगै स्थानीय बासिन्दा, विद्यार्थी, बिरामी, दैनिक उपभोगका सामान ढुवानी गर्ने सर्वसाधारणसँगै पदमार्गमा पदयात्राका लागि गएका र जाने स्वदेशी एवं विदेशी पर्यटकहरूलाई असर परेको छ ।

गणेश नेपाली आत्मदाह घटना छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बन्ने

गणेश नेपालीको आत्मदाह घटना छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा समिति गठन हुने भएको छ।

आइतबार पीडित पक्ष र सरकारबिच स्वतन्त्र छानबिन समिति गठन गर्ने सहमति भएको हो। समितिले गठन भएको मितिले सात दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ।

गणेशलाई सहिद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानुन, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय गर्ने नौबुँदे सहमतिमा उल्लेख छ।

भारतीय विमानस्थलमार्फत श्रमिक पठाउने १५९ म्यानपावरलाई विभागको चेतावनी

वैदेशिक रोजगार विभागले विभागीय पूर्वस्वीकृतिविना भारतीय विमानस्थलमार्फत नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वैदेशिक रोजगार व्यवसायी संस्थालाई पहिलो चरणमा चेतावनी दिएको छ।

विभागका अनुसार ती संस्थाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको पुष्टि भएपछि सचेत गराउने निर्णय गरिएको हो।

विभागले ०८२ चैत १ देखि ०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकको उडानसम्बन्धी विवरण संकलन गरी अनुगमन गरेको थियो। अनुगमनका क्रममा सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामध्ये ६७८ संस्थाले मात्र मागिएको विवरण पेस गरेका थिए।

बागमतीमा आठ मन्त्रालयको संरचना लागू हुँदै, कांग्रेस–एमाले छलफलमै

बागमती प्रदेश सरकार आगामी साउनदेखि आठ मन्त्रालयको संरचनामा जाने तयारीमा छ । गएको २२ वैशाखमा बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले आगामी १ साउनदेखि कार्यान्वयनमा आउने गरी मन्त्रालयको संख्या आठ कायम गर्ने निर्णय गरेको थियो । मन्त्रालयको संख्या घटाउने निर्णय कार्यान्वयनको चरणमा आइपुगे पनि सत्तासाझेदार दलहरू कांग्रेस र एमालेले हालका मन्त्रीमध्ये कसलाई निरन्तरता दिने र कसलाई फिर्ता बोलाउने भन्ने विषयमा अझै औपचारिक निर्णय गर्न सकेका छैनन् । 

प्रदेश सरकारले चालू आर्थिक वर्षको अन्त्यसँगै नयाँ संरचनाअनुसार मन्त्रालय सञ्चालन गर्ने तयारी गरिरहेको छ । तर, मन्त्रालयको संख्या घटेपछि मन्त्रीहरूको संख्या पनि घट्ने भएकाले सत्तासाझेदार दलभित्र आन्तरिक व्यवस्थापन चुनौतीपूर्ण देखिएको छ । सत्तासाझेदार कांग्रेस र एमाले दुवैले सार्वजनिक रूपमा यस विषयमा धारणा सार्वजनिक गरेका छैनन् भने दुवै दल यस विषयमा मौन छन् ।

बाटोमा हाल्न माटो खनेको खाल्डो, एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिराहाको गोलबजार नगरपालिका- ७ स्थित पुरानो चाेक चोहर्वाको पशु हाटबजार परिसरमा बाटोमा हाल्न माटो खनेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । 

कवाडी संकलनको काम गर्दै आएका अवास शेखका छोरीहररू १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया रुविना खातुन र छोरा ८ वर्षीय साफुल शेखको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । रौतहट जिल्लाको झिंगहर्वा- २ स्थायी घर भई गोलबजार- ७ मा लामो समयदेखि डेरा गरी बस्दै आएका शेखका पाँच सन्तानमध्ये तीनजना छोराछोरी आइतबार दिउँसो करिब अढाइ बजे घरबाट खेल्न निस्किएको जनाइएको छ। 

कांग्रेसको नीति प्रतिष्ठानका ६ उपसमितिमा संयोजक चयन

नेपाली कांग्रेसले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको ६ वटा उपसमितिको संयोजक चयन गरेको छ। पार्टी उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको प्रस्तावमा २५ र २६ असारको बैठकले ६ उपसमिति संयोजकको जिम्मेवारी तोकेको हो।

कांग्रेसले अपांगता संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय र सशक्तीकरण उपसमितिमा श्री रेशम गुरुङ र दुर्व्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिमा डा. डिबी सुनारलाई संयोजक तोकेको छ।

‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को अक्सन सम्पन्न

सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन गइरहेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी हुने चार टोलीहरू—टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडीहरू अनुबन्धित गर्दै टोलीलाई पूर्णता दिएका हुन्।

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवनका एक होटेल सञ्चालक पक्राउ

होटेलमा काम गर्ने बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा चितवनको खैरहनी नगरपालिकास्थित होटेल नमस्ते मिलिजुली खाजा घरका सञ्चालक ३५ वर्षीय विकासकुमार श्रेष्ठ पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार श्रेष्ठले असार ११ गते बालिकालाई आर्थिक प्रलोभन देखाएर शारीरिक सम्पर्कका लागि प्रस्ताव गरेका थिए। बालिकाले इन्कार गरेपछि बालिकाको संवेदनशील अंग छुने तथा सामाजिक संजालमा अश्लील शब्द र भिडियोहरू पठाउने गरेपछि इलाका प्रहरी कार्यालय खैरहनीले श्रेष्ठलाई पक्राउ गरेको हो।

कर्णालीमा विद्युत् अवरोध हटाउन यान्त्रिक क्रेन पठाइने

सरकारले कर्णाली प्रदेशमा विद्युत् आपूर्तिमा भइरहेको अवरोधलाई समाधान गर्न यान्त्रिक क्रेन पठाउने निर्णय गरेको छ। कर्णालीमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्या देखिएपछि मर्मत कार्यका लागि आवश्यक यान्त्रिक क्रेन पठाउने निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्री विराजभक्त श्रेष्ठ दुई साताअघि तीन प्रदेशका पाँच जिल्लाको स्थलगत अनुगमनमा जाँदा सुर्खेतलगायत कर्णाली प्रदेशमा लाइन ट्रिपिङका कारण पटक–पटक विद्युत् अवरोध हुने समस्याबारे जानकारी प्राप्त गरेका थिए। यस विषयमा नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश प्रमुखले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएका थिए।

सुझावित समाचार