- उद्योग बन्द भएयता पहिलोपटक मुख्य भवनको बाहिरी संरचनामा सेना, सशस्त्र र प्रहरीले गरे सफाइ
- कपास समिति र बुटवल धागोसमेत सञ्चालन गरेर कपडा उद्योगलाई दिगो रूपमा चलाउने रणनीति
दुई दशकअघिबाट बन्द हेटौँडा कपडा उद्योगको ढोका खुल्ने खबरले स्थानीयमा आशा पलाएको छ । अहिले उद्योग सरसफाइको काम धमाधम चलिरहेको छ भने नेपाली सेनामार्फत कपडा उद्योग चलाउने योजना रहेको सरकारले नै सार्वजनिक गरिसकेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राष्ट्रिय सभा बैठकमा उद्योग मर्मतका लागि ३३ लाख रुपैयाँ निकासा भएर काम पनि भइरहको जानकारी दिएकी थिइन् ।
गत मंगलबारको राष्ट्रिय सभा बैठकमा मन्त्री यादवले भनेकी थिइन्, ‘कपडा उद्योगका लागि ३३ लाख रुपैयाँ निकासाका लागि अर्थ मन्त्रालयलाई लेखिपठाएका थियौँ । रकम निकासा भएर उद्योगमा पुगिसकेको छ, मर्मतकार्य पनि अघि बढिसकेको छ । केही महिनामै उद्योग सञ्चालनमा आउँछ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ उनले कपडा उद्योगसँगै बुटवल धागो उद्योग र नेपालगन्जको कपास उत्पादन कार्यक्रम पनि पुनः सञ्चालन गर्ने सरकारको योजना रहेको जानकारी दिइन् ।
हेटौँडा कपडा उद्योगको जिम्मेवारी पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडकी प्रमुख संगीता कुँवरले पनि अहिले उद्योगपरिसरमा चहलपहल सुरु भएको देखेर खुसी लागेको बताइन् । यद्यपि, अहिलेसम्म उद्योगमा सरसफाइबाहेक उल्लेखनीय मर्मतकार्य सुरु नभएको उनको भनाइ छ । ‘सरकारले उद्योग सञ्चालनको तयारी थालेपछि हामीले परिसर सफा गर्ने काम सुरु गरेका छौँ । तर, धेरै वर्षदेखि बन्द भएकाले सबै काम एकैपटक गर्न सम्भव छैन,’ उनी भन्छिन् । केही दिनअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा उद्योगपरिसरको सरसफाइ गरेका थिए । उद्योग बन्द भएपछि पहिलोपटक मुख्य भवनको बाहिरी संरचना सफा गरिएको हो ।
