पोखरामा गुड्ने आधाभन्दा बढी सवारीले फाल्छन् अत्यधिक धुवाँ

४० सवारी साधनको प्रदुषण चेकजाँच गर्दा २२ वटा भए फेल

शनिबार, २७ असार, २०८३
डिजिटल संस्करण

पर्यटकीय राजधानी सहर पोखरामा गुड्ने आधाभन्दा बढी सवारीसाधनले अत्यधिक धुवाँ फालेको भेटिएको छ। शनिबार पोखरामा ४० सवारीसाधनको प्रदूषण चेकजाँच गरिएकामा तीमध्ये २२ वटा सवारीसाधनले अत्यधिक धुवाँ फालेको अर्थात् प्रदूषण चेकजाँचमा फेल भएको भेटिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले सवारीसाधनको प्रदूषण चेकजाँच गर्ने मेसिनसहित पोखराको मुख्य बजार क्षेत्र पोखरा- ८ न्युरोडमा गरेको सवारी चेकजाँचका क्रममा आधाभन्दा बढी सवारीसाधनले अत्यधिक धुवाँ फालेको भेटिएको हो।

चेकजाँचका क्रममा पोखरा नगरक्षेत्रभित्र चल्ने सिटी बस तथा अन्य डिजेल इन्जिनबाट चल्ने सवारीसाधनहरूसमेत गरी ४० सवारीको प्रदूषण चेकजाँच गर्दा २२ सवारीसाधनले अत्यधिक धुवाँ उत्सर्जन गरेको फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले जानकारी दिए। प्रदूषण चेकजाँचमा फेल भएका सवारीसाधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको उनले जानकारी दिए।

मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारीसाधनहरू चलाउँदा वायु प्रदूषण बढेर वातावरणसँगै मानव स्वास्थ्यमा गम्भीर असर पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने उनको भनाइ छ। मानवीय र वातावरणीय जोखिम कम गर्न आफनो सवारीसाधनको प्रदूषणस्तर र प्राविधिक अवस्था चुस्त राख्न सरोकारवाला सबैमा देवकोटाले आग्रह गरे।
 

सुझावित समाचार