संगीतले आकार दिएको सुडानको क्रान्ति

बिहिबार, २५ असार, २०८३
डिजिटल संस्करण
  • विरोध प्रदर्शनमा संगीतको प्रयोग केवल सजावटी वा सहायक तत्व मात्र नहुने अनुसन्धानले देखाउँछ

सन् २०२३ को अप्रिलमा सुडानी सशस्त्र बल र र्यापिड सपोर्ट फोर्सेसबिच सुरु भएको युद्धले सन् २०१९ मा सुडानमा भएको क्रान्तिलाई ओझेलमा पारेको छ । तर, सन् २०१९ का घटनाले अहिले पनि धेरैको ध्यानाकर्षण गर्नुपर्छ, किनकि ती घटना युद्धपछिको सुडानका लागि महत्वपूर्ण पाठ हुन् ।

सन् २०१९ का विरोध प्रदर्शनमा संगीतको भूमिका निकै महत्वपूर्ण रह्यो । राजधानी खार्तुमस्थित सैन्य मुख्यालयबाहिरको एउटा शिविरमा प्रदर्शनकारीले नागरिक शासनको माग गर्दै हप्तौँसम्म भेला भएर विरोध गरेका थिए । उक्त आन्दोलनलाई सुडानको अहिलेसम्मकै सबैभन्दा ठुलो कला महोत्सवका रूपमा मानिन्छ ।

प्रतिरोध आन्दोलनबारे मेरो अनुसन्धानले मलाई यो विश्वास दिलाएको छ कि विरोध प्रदर्शनमा संगीतको प्रयोग केवल सजावटी वा सहायक तत्व मात्र हुदैन । सुडानमा ओमर अल–बसिरको सत्तापलट गर्ने क्रान्तिकारी आन्दोलनमा संगीत एक अभिन्न अंग थियो । दशकौँसम्म संगीतले सरकारविरोधी भावना जगाउन तथा सन् २०१९ को क्रान्तिलाई निरन्तरता दिने खालका सञ्जाल निर्माण गर्न र समुदाय जागरुक बनाउन मद्दत गर्यो । मैले हालैको एउटा शोधपत्रमा प्रदर्शनकारी र संगीतकर्मीसँग गरिएका कुराकानीका आधारमा यस्तो निष्कर्ष निकालेको हुँ ।

सुडानी संगीत र प्रतिरोध
सुडानमा संगीत ऐतिहासिक रूपमै जन–प्रतिरोधसँग जोडिएको छ । सुरुमा औपनिवेशिक शासकविरुद्ध र त्यसपछि सन् १९५६ मा स्वतन्त्रता प्राप्त भएपछिको निरंकुश शासकविरुद्ध भएको प्रतिरोधमा पनि यसको भूमिका थियो । सन् १९६० र ’७० को दशकका देशभक्तिपूर्ण गीतहरूले सुडानको निर्माण सरकारले नभई जनताले गरिरहेका छन् भन्ने भावना व्यक्त गर्थे ।

सन् १९७० को दशकको सुरुतिर किशोरावस्थामा रहेका एक संगीतप्रेमी भन्छन्, ‘के सुन्दा राम्रो लाग्ला, तर कोही संगीत सिर्जना गर्दैछ भने उसलाई सरकारविरुद्ध उभिएको मानिन्थ्यो । यो कुरा निश्चितजस्तै मानिन्थ्यो ।’

तर, एकपछि अर्को गर्दै निरंकुश शासकले प्रतिबन्धसम्बन्धी कानुन र कलाकारलाई योजनाबद्ध रूपमा तर्साउने कार्यमार्फत सम्पूर्ण सिर्जनशीलता र विशेषगरी संगीतलाई कुल्चिने प्रयास गरे । गिग (मनोरञ्जन) मानिसहरूको घरमा निजी कार्यक्रमका रूपमा आयोजना गर्नुपर्थ्यो र यी पनि नियमित रूपमा नैतिक अनुगमन एकाइद्वारा निरीक्षण गरिन्थ्यो । धेरै लोकप्रिय संगीतकार करियरका लागि विदेश भासिए । तर, भूमिगत संगीत दृश्यले सरकारविरोधी भावनालाई जागृत राखे ।

मेरो अनुसन्धानले देखाउँछ कि वसिर शासनअन्तर्गत संगीतकार र प्रशंसकहरूको पलायनले लोकप्रिय प्रतिरोधलाई खासै कमजोर बनाएन । बरु, यो विस्थापनले बलियो अन्तर्राष्ट्रिय सामाजिक सञ्जाल निर्माण गर्न मद्दत गर्यो, जसका कारण संगीतकारलाई सुडानबाहिर संगीत रेकर्ड गर्न सक्षम बनायो । त्यसपछि यसलाई सीमाभित्रका समुदायमा फिर्ता पठाइयो । त्यही सामाजिक सञ्जालको बलमा २०१९ क्रान्ति सम्भव भयो ।

हालैको इतिहासमा संगीतले सुडानीलाई अधिनायकवादी शासनको विकल्पबारे कल्पना गर्न र सामूहिक कदमका लागि आवश्यक सम्बन्ध निर्माण गर्न मद्दत गरेको छ । प्रतिरोध आन्दोलन र सांगीतिक क्षेत्रबिचको घनिष्ठ सम्बन्धलाई हेर्दा संगीतको अध्ययनले सुडानको क्रान्तिकारी आन्दोलनलाई आकार दिने मूल्य–मान्यता, पहिचान र लोकतान्त्रिक परिवर्तनसम्बन्धी दृष्टिकोणबारे बुझ्न सहयोग गर्छ ।

संगीत, लिंग र वर्ग
मेरो अनुसन्धानपत्रमा म प्रदर्शनकारीको विरोधले के प्रकट गर्छ भनेर अन्वेषण गर्न प्रमुख क्रान्तिकारी गीत (सेयर गर्न मिल्ने युट्युब प्ले लिस्टमा संकलन गरिएका) विश्लेषण गरेको छ । गीतहरूले लिंग र वर्गप्रति बढ्दो खुलापनलाई औँल्याउँछन् ।

२०१९ को विरोध प्रदर्शनमा क्रान्तिकारीहरूले दमनविरोधी गानाको एक मान्यतालाई सम्मान गरे । यसमा परम्परागत आधारभूत सामग्री, हिप–हप क्लासिक र समकालीन पप गीत समावेश थिए । तथापि, सबै क्रान्तिकारी गाना राजनीतिक हुँदैनन् र यसका लागि लैंगिक कारण छन् ।

सुडानको दशकौँ पुरानो पितृसत्तात्मक निरंकुशतामा गीतका शब्दमार्फत राजनीतिबारे खुलेर बोल्नु पुरुषहरूको तुलनामा महिलाहरूको लागि धेरै जोखिमपूर्ण थियो । फलस्वरूप, महिला–नेतृत्वमा रहेका विधा, जस्तै– तुमटम र अघानी अल्बानत, सामान्यतया रोमान्स र दैनिक जीवनमा केन्द्रित थिए । उच्चस्तरीय रचनात्मकमाझ यी स्वर र तालका विधालाई कलात्मक रूपमा पुरुषप्रधान विधाको अधीनस्थ मानिन्छ । यसमा हकिबा समावेश छ, जसले प्राविधिक रूपमा माग गर्ने औडमा वाद्य संगत प्रस्तुत गर्दछ ।

यद्यपि, २०१९ मा तुमटम र अघानी अल्बानत प्रदर्शनकारीमाझ लोकप्रिय थिए । यसको कारण उनीहरूका गीतका शब्द प्रत्यक्ष रूपमा राजनीतिक हुनु थिएन । बरु, ती शब्दले महिलाको कलात्मकतामा दशकौँदेखि राज्यले लगाउँदै आएको प्रतिबन्धका बाबजुद संगीत सिर्जना र प्रदर्शन गर्न जारी राख्ने महिलाहरूको अवज्ञालाई प्रतिनिधित्व गर्थे ।

उनीहरूको गीतात्मक चञ्चलता र राजनीतिक तटस्थताका बाबजुद सुडानी समाजले क्रान्तिमा यी गीतका विविध विधालाई अंगीकार गरेको थियो । यसले महिला रचनात्मकताप्रति बढ्दो सांस्कृतिक खुलापनबारे एक शक्तिशाली राजनीतिक सन्देश दिन्छ, जुन राज्यद्वारा निषेध गरिएको थियो ।

‘जेनिग’ सुडानी संगीतको एउटा नयाँ विधा हो । यो सन् २०१० को दशकको सुरुतिर खार्तुमका गरिब तथा सीमान्तकृत बस्तीबाट उदाएको हो । यसले ‘तुमतुम’ शैलीबाट आफ्नो लयगत आधार लिन्छ र यसमा रेट्रो किबोर्ड तथा तत्काल सिर्जित गायनको सम्मिश्रण गर्छ । यो मूलतः खार्तुममै विकास भएको विधा हो र यसले लैंगिक तथा वर्गीय रुढिवादी श्रेणीक्रमलाई जानाजान चुनौती दिन्छ ।

क्रान्तिमा महिलाको नेतृत्व
क्रान्तिको संगीतमा महिला नेतृत्वलाई अघि बढाएर सुडानी क्रान्तिकारीले एउटा वैकल्पिक र आदर्श सुडानी समाज कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरे । यस्तो समाज जहाँ महिलाहरू सिर्जनात्मक र राजनीतिक अग्रदूतका रूपमा अझ बढी सशक्त छन् ।

सन् २०१९ को धर्ना कार्यक्रममा ‘जेनिग’जस्ता संगीतले यो देखाउँछ कि सुडानको क्रान्ति केवल सत्ता परिवर्तनमा मात्र सीमित थिएन । धेरै युवा सुडानीका लागि यो व्यापक सामाजिक परिवर्तन र सामाजिक सम्बन्धलाई उल्ट्याउने वा आमूल परिवर्तन गर्ने चाहनाको अभिव्यक्ति पनि थियो । सन् २०१९ को क्रान्ति संगीतको माध्यमबाट भविष्य निर्माणका लागि एउटा विशिष्ट कालखण्ड साबित भयो ।

युद्धका कारण सुडानी नागरिकले महत्वपूर्ण सामाजिक संवादलाई निरन्तरता दिन पाएका छैनन् । प्रतिरोध आन्दोलनमा संलग्न व्यक्ति तथा संगीतकारहरू सुडानभित्रै वा छिमेकी कायरो (इजिप्ट) र नैरोबी (केन्या) जस्ता क्षेत्रीय केन्द्रमा विस्थापित भएका छन् । धेरैले दुःखद रूपमा ज्यान गुमाएका छन् । कोही भने खार्तुममै बसेका छन् र प्रतिकूल परिस्थितिमा पनि आशा जगाउने खालका संगीत सिर्जना गरिरहेका छन् ।

द कन्भर्सेसनबाट
(विलकक म्यान्चेस्टर विश्वविद्यालयमा राजनीति मानवशास्त्र र सांस्कृतिक भूगोलको विषयकी रिसर्च फेलो हुन् )

सुझावित समाचार