बारामा रुखको हाँगाले च्यापिएर एक श्रमिकको मृत्यु

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

बाराको सुवर्ण गाउँपालिकामा रुखको हाँगा काट्ने क्रममा एक श्रमिकको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलबार बिहान करिब ८ः३० बजे सुवर्ण–२, सनफुलवास्थित शिवधारी पण्डितको जग्गामा रहेको एउटा ठुलो पकडको रुखको हाँगा काट्ने क्रममा दुर्घटना भएको हो।

प्रारम्भिक अनुसन्धानअनुसार उक्त रुख सुवर्ण गाउँपालिका–३, सन्तगजनिवासी बाबुलाल यादवले खरिद गरेका थिए। रुख काट्ने तथा हाँगा व्यवस्थापन गर्ने कामका लागि सुवर्ण गाउँपालिका–१, रामटोलनिवासी ५५ वर्षीय जोखन महरालाई काममा लगाइएको थियो।

महराले रुखको एउटा हाँगा काटिरहेका वेला अचानक सन्तुलन बिग्रिएर अर्को ठुलो हाँगा भाँचिँदै उनीमाथि खसेको प्रहरीले जनाएको छ। भारी हाँगाले च्यापिएपछि उनी गम्भीर घाइते भएका थिए। घटनास्थलमै उनको मृत्यु भएको र उद्धारको कुनै अवसर नै नपाएको स्थानीयले बताएका छन्।

घटनाबारे बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय कवहीगोठ, बारामा सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरी पुगेपछि घटनास्थललाई सुरक्षित राख्दै प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। लगत्तै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमान्डमा अर्को अनुसन्धान टोली घटनास्थल पुगेको थियो। टोलीले घटनास्थलको सूक्ष्म निरीक्षण गरी कानुनी प्रक्रियाअनुसार मुचुल्का तयार पारेको जनाएको छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि मृतकको शव दिउँसो १२ः२० बजे पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाइएको प्रहरीले जनाएको छ। पोस्टमार्टम प्रतिवेदनपछि मृत्युको कारण पुष्टि हुनेछ। प्रहरीले घटनामा कुनै लापरबाही वा अन्य कारण जोडिएको छ वा छैन भन्ने विषयमा पनि अनुसन्धान जारी राखेको छ। साथै, रुख कटानका क्रममा आवश्यक सुरक्षा मापदण्ड पालना गरिएको थियो वा थिएन भन्ने विषयमा समेत बुझ्ने काम भइरहेको जनाइएको छ।

सुझावित समाचार