मेल्लेख गाउँपालिका– ७, नन्देगडास्थित दुर्गादेवी माविमा दिवा खाजाले विद्यार्थीको हाजिरी दर बढेको छ । दिवा खाजाको व्यवस्थाले बाल कक्षादेखि पाँच कक्षासम्ममा हाजिरी दर बढेको हो ।
विगतमा प्राथमिक तहमा निकै कम विद्यार्थी हाजिर हुने गरे पनि अहिले दिवा खाजा कार्यक्रम सञ्चालनपछि बालबालिकाहरू कक्षामा उपस्थित हुने र पूरा समयसम्म बस्ने गरेको शिक्षक सुरतबहादुर साउदले बताए ।
उनका अनुसार दिवा खाजाकै कारण गरिब परिवारका बालबालिकाको शैक्षिक अवस्था सुधारोन्मुख देखिन्छ । उनीहरू खाजा खानकै लागि मात्र भए पनि नियमित विद्यालय आउने र पूरै समय कक्षामा बस्ने गरेको शिक्षक साउदले बताए ।
दैनिक एक सय ८० जनाभन्दा बढी बालबालिकाले दिवा खाजा खाने गरेको दुर्गादेवी माविमा कोदो, आलु, चना, जाउलो, भटमासलगायत अन्य स्थानीय खाद्यान्नबाट बन्ने परिकार खुवाउने गरिएको बाल कक्षाकी शिक्षिका सरिता साउदले बताइन् ।
सबैभन्दा कम विद्यार्थी हुने बाल कक्षामा अहिले दिवा खाजाकै आकर्षणले दैनिक ३५ जनाभन्दा बढी बालबालिका नियमित कक्षामा उपस्थित हुने गरेको उनको भनाइ छ । साउदका उनुसार अहिले बिचमै कक्षा छाडेर घर जाने साना बालबालिकाको संख्य शून्य छ । उनीहरू सबै विद्यालय समय पूरा नभएसम्म नियमित कक्षामा बस्ने गरेका छन् ।
विद्यालयमा लामो समयदेखि खाजा व्यवस्थापन गरिरहेका स्थानीय अमरबहादुर बुढाका अनुसार ०६४ मा विश्व खाद्य कार्यक्रममार्फत कक्षा ६ सम्मका विद्यार्थीलाई खाजा खुवाउने गरिएको थियो । त्यसको केही वर्षपछि त्यो कार्यक्रम सकिँदा कक्षा पाँचसम्मका बालबालिकालाई मात्र खाजा उपलब्ध गराउन थालिएको हो ।
दुर्गादेवी माविमा अहिले मेल्लेख गाउँपालिकाको सहयोगमा विद्यालय आफैँले दिवा खाजा व्यवस्थापन गरिरहेको छ । जसकारण बालबालिका नियमित हाजिर हुने, पूरै समय कक्षामा बस्ने र मन लगाएर पढ्ने गरेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर विकले बताए ।