- अलोकप्रिय युद्ध अन्त्य गर्न रिचर्ड निक्सन दक्षिण भियतनामबारे मौन रहेजस्तै ट्रम्पले पनि इरानको आणविक कार्यक्रमको मुद्दा छोडे
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य गर्न इरानसँग सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकाले इस्लामिक देशविरुद्धको तेल प्रतिबन्ध हटायो । दशकौँ पुरानो कडा प्रतिबन्ध र तेहरानलाई अलग्याउने नीतिलाई उल्ट्याउँदै ट्रम्प इरानको सर्तअनुसार सम्झौता गर्न तयार भए । तेहरानले अमेरिकासँग कुनै नयाँ प्रतिबद्धता नगरेकोमा जोड दिएको छ । यसले अमेरिका र इजरायलको युद्धले तेहरानलाई कति फाइदा पुर्याएको छ भन्ने कुरा देखाउँछ । दुई साताअघि फ्रान्सको भर्साइल्समा ट्रम्पले हस्ताक्षर गरेको समझदारीपत्रलाई इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले ‘अमेरिकी असफलताको रेकर्ड’ भनेर वर्णन गरेका छन् । ट्रम्पका आलोचकहरूले यसलाई ‘आत्मसमर्पण’ दस्ताबेजको रूपमा पहिले नै निन्दा गरिसकेका छन् ।
स्मरण होस्, मार्चमा ट्रम्पले ‘इरानले विनासर्त आत्मसमर्पण गर्नुपर्ने’ माग गरेका थिए । हर्मुज पुनः खोल्ने गुनको रूपमा सम्झौतापत्रमा अमेरिकालाई इरानी बन्दरगाहको सम्पूर्ण प्रतिबन्ध हटाउन र विदेशमा राखिएका सम्पत्ति फुकुवा गर्ने उल्लेख छ । १४बुँदे दस्ताबेजमा इरानका लागि ३०० अर्ब डलरको पुनर्निर्माण कोष पनि समावेश छ, जुन ठुलो क्षतिपूर्ति हो । अमेरिकाले अन्तिम सम्झौताको ३० दिनभित्र इरानवरपरबाट आफ्नो सेना फिर्ता लिन पनि सहमति जनाएको छ ।
अपमानजनक सर्त
अमेरिकी राष्ट्रपतिले यस्तो अपमानजनक सर्त स्वीकार गरेको हालैको अमेरिकी इतिहासमा कुनै उदाहरण छैन । इरानलाई ब्यालिस्टिक क्षेप्यास्त्र राख्न अनुमति दिएको भन्ने ट्रम्पको हालैको अभिव्यक्तिले अमेरिकाको शिर निहुरिएको छ । क्षेप्यास्त्र विनाश युद्धको प्रमुख उद्देश्य थियो । दुई साताअघि जी–७ शिखर सम्मेलनमा बोल्दै ट्रम्पले भने, ‘मेरो मतलब, उनीहरू (इरान) सँग केही हुनुपर्छ ।’ उनले थपे, ‘के म साउदी अरबलाई क्षेप्यास्त्र राख्न दिऊँ त ? तर, तिनीहरूसँग यस्तो हतियार हुन सक्दैन ।’ अमेरिकी सुरक्षामा भर परेका साउदीहरू उनको अभिव्यक्तिले डराएको हुनुपर्छ । इरानले ६० दिनमा अन्तिम सम्झौता नभएसम्म आफ्नो आणविक कार्यक्रममा यथास्थिति कायम राख्दा हुन्छ, अब निःशस्त्र भइरहनु आवश्यक परेन ।
ट्रम्प युद्धका कारण सम्भावित आर्थिक विपत्तिबाट बच्न चाहन्थे । उनी हर्बर्ट हुवरसँग तुलना गर्न चाहँदैनन्, जो १९२९ को बजार दुर्घटनाको समयमा राष्ट्रपति थिए । दुर्घटनाले महामन्दी निम्त्याएको थियो । अमेरिकी वेबसाइट द बुलवार्कका अनुसार ट्रम्पले वास्तवमा स्वीकार गरेका थिए कि ‘उनले इरानमा आत्मसमर्पण’ वा ‘आर्थिक विपत्ति’मध्ये एउटा छनोट गर्नुपर्नेछ । उनले पहिलो विकल्प रोजे । अमेरिकी राष्ट्रपतिले विदेशी युद्धबाट हतारमा अपमानजनक फिर्ती स्वीकार गर्न बाध्य भएको पाँच वर्षमा यो दोस्रोपटक हो । जो बाइडेनले २०२१ मा अफगानिस्तानबाट सेना फिर्ता गरेर देशलाई क्रूर तालिबानको हातमा छाडे । ट्रम्पको निर्णय बाइडेनको भन्दा धेरै अपमानजनक र १९७३ मा भियतनामबाट अमेरिकी सेनाको लज्जास्पद फिर्तीसँग मिल्दोजुल्दो छ ।
इरान–भियतनाम युद्धका समानता
ट्रम्पको इरान युद्ध र दशकौँसम्म चलेको भियतनाम युद्धबिच कुनै प्रत्यक्ष तुलना नभए पनि (भियतनाम युद्धमा ५८ हजार अमेरिकीको ज्यान गएको थियो र धेरै अमेरिकी राष्ट्रपतिहरू संलग्न थिए) दुई द्वन्द्वको अन्तिम चरण र तिनीहरू कसरी समाप्त भए भनेर तुलना गर्दा केही समानता निकाल्न सकिन्छ । रिचर्ड निक्सन १९६९ मा अमेरिकी राष्ट्रपति बने, जतिवेला अमेरिकी जनता पहिले नै भियतनाम युद्धबाट वाक्क भइसकेका थिए । निक्सन र उनका शक्तिशाली राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जर दक्षिण भियतनामलाई त्याग्न चाहँदैनथे । उनीहरूले सुरुमा कम्युनिस्ट देश उत्तरी भियतनाममा बमबारी बढाउने प्रयास गरे, नयाँ धम्की र अल्टिमेटम दिए, तर त्यसले पनि काम गरेन, जसरी अहिले इरान मामलामा भएको छ । त्यतिवेला सोभियतहरूले अमेरिकाको दुर्दशाका कारण गदगद भए, जसरी इरान द्वन्द्वको समयमा अहिले चिनियाँ र रुसी भित्रभित्रै खुसी भए । त्यसपछि निक्सनले दक्षिण भियतनामबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरे । उनले १९७३ मा युद्ध अन्त्य गर्न उत्तरी भियतनामसँग सम्झौता गरे । दुई वर्षपछि उत्तर भियतनामी सेनाले दक्षिण भियतनामको राजधानी साइगनमा मार्च गरे, जसले संयुक्त राज्य अमेरिकाको पराजय अंकित गर्यो । निक्सनले जस्तै ट्रम्पले पनि इरानमाथि बम आक्रमण गर्ने र आत्मसमर्पण गर्न धम्की दिने प्रयास गरे, तर त्यसले काम गरेन । १९६८ मा उत्तर भियतनामी दृष्टिकोणबाट सिक्दै इरानीहरूले ‘हरिजन्टल’ विस्तार अपनाए, जसले गर्दा द्वन्द्व व्यापक रूपमा खाडी क्षेत्रमा फैलियो । यो दृष्टिकोणले विश्वको ऊर्जा आपूर्तिको पाँच भागको एक भाग प्रवाहस्थल र विश्वव्यापी अर्थतन्त्रका अन्य महŒवपूर्ण घटकहरूलाई नियन्त्रण गर्ने हर्मुज जलमार्गको नाकाबन्दीसँगै ट्रम्पलाई इरानको सर्तमा सम्झौता गर्न बाध्य पार्यो । अलोकप्रिय युद्ध अन्त्य गर्न निक्सनलाई दक्षिण भियतनामबारे मौन रहेजस्तै ट्रम्पले पछिल्ला वार्ताका लागि इरानको आणविक कार्यक्रमको मुद्दा छोड्नुपर्यो ।
नेतन्याहुको पासोमा परे ट्रम्प
विदेशी द्वन्द्वमा अमेरिकी संलग्नताविरुद्ध अभियान चलिरहेका वेला इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्रम्पलाई इरानसँग विनाशकारी युद्ध सुरु गर्न लोभ्याए । इजरायली नेताले ट्रम्पलाई विश्वस्त पारे कि इस्लामिक शासन दशकौँमा सबैभन्दा कमजोर विन्दुमा छ र संयुक्त अमेरिकी–इजरायल आक्रमणले इस्लामिक शासनको पतनसहित द्रुत र पूर्ण विजय प्रदान गर्नेछ । यसले अक्टोबरको चुनावमा नेतन्याहुलाई ठुलो प्रोत्साहन दिने थियो र इतिहासको सबैभन्दा शक्तिशाली अमेरिकी नेताहरूमा ट्रम्पको नाम लेखिने निश्चित थियो । तर, हजारौँको ज्यान गए पनि र आफ्नो सैन्य र नागरिक पूर्वाधारमा गम्भीर क्षति पुगे पनि अमेरिका र इजरायलविरुद्ध इरान दृढ रह्यो ।
अघिल्ला अमेरिकी राष्ट्रपतिले इरानसँग युद्ध सुरु गर्ने नेतन्याहुको तर्कलाई खारेज गरे । ओबामाले कूटनीतिक समाधान रोजे र २०१५ मा इरानको आणविक कार्यक्रममा बहुपक्षीय संयुक्त व्यापक कार्ययोजना (जेसिपिओए)मा हस्ताक्षर गरे, जुन पछि तेहरानको अनुपालनका बाबजुद ट्रम्पले च्याते । ओबामा र अन्य राष्ट्रपतिले इरानविरुद्ध बलको धम्कीलाई आरक्षित राखे, तर यसको प्रयोग गरेनन्, किनभने उनीहरूका सल्लाहकारले यो धेरै जोखिमपूर्ण हुनेछ भनेर चेतावनी दिएका थिए । तर, ट्रम्पले ती सबैलाई बेवास्ता गरे । एकपटक बल प्रयोग असफल भएपछि यसलाई दोहोर्याउने धम्कीले काम गर्दैन । इरानसँग त्यस्तै भएको छ ।
इजरायलका लागि दुःस्वप्न
युद्धपछि इरान अब धेरै शक्तिशाली भएको छ । इजरायल र यसका खाडी छिमेकीका लागि इरानको कट्टरपन्थी शासन अझ जोखिमयुक्त बन्दै छ । अमेरिकी गुप्तचरका अनुसार इरानसँग अझै पनि मिसाइल र लन्चरको ठुलो भण्डार छ । ट्रम्पको सम्झौताले लेबनानमा इरानको प्रतिनिधि हिजबुल्लाहलाई कूटनीतिक आवरण दिएको छ । त्यसैले, इजरायल कम सुरक्षित छ, नेतन्याहु राजनीतिक रूपमा धेरै कमजोर छन् । र, ट्रम्पले इतिहासको पुस्तकमा आफ्नो नाम एक राष्ट्रपतिको रूपमा लेखेका हुन सक्छन्, जसले गलत परिकल्पना गरिएको युद्धबाट आफूलाई मुक्त गर्न आत्मसमर्पण गरे ।
इजरायलमा डर यो छ कि साहसी इरानले आणविक वार्तालाई ६० दिनको अवधिभन्दा बाहिर तान्नेछ, किनकि अब अमेरिकी प्रतिबन्धको सीमा छैन । धेरैले यो दुर्दशाका लागि नेतन्याहुलाई दोष दिन्छन्, किनकि उनले नै जेसिपिओएविरुद्ध अभियान चलाए र आणविक कार्यक्रममा वार्ता चलिरहेका वेला इरानसँग दुईपटक युद्ध सुरु गरे । युद्धमा विजय हासिल गरेपछि इरानले क्षेत्रीय महाशक्तिको रूपमा इजरायलको स्थितिलाई चुनौती दिन सक्छ ।
भियतनामपछिको कुनै पनि युद्धले इरानयुद्धले जत्तिको अमेरिकाको कमजोरीलाई उजागर गरेको छैन । भियतनाम युद्धपछिको यो महाशक्तिको सबैभन्दा खराब हार हो, यसको पतनको अर्को संकेत हो । इराकमा भएको दोस्रो युद्ध (२००३–२०११) र अफगानिस्तानमा भएको युद्धले विनाशको निसान छोड्यो र यस क्षेत्र र संलग्न देशका लागि थप समस्या सिर्जना गरेकोमा आलोचना गरिएको थियो । तर, अमेरिकाले अझै पनि विश्वको सबैभन्दा बलियो शक्तिको रूपमा आफ्नो छवि कायम राख्यो, घटनाहरूलाई आफ्नो पक्षमा प्रभाव पार्न सक्षम भयो । इरानमा भएको विपत्तिले अमेरिकालाई कूटनीतिक रूपमा कमजोर भएको खुलासा गरेको छ । ट्रम्पलाई धन्यवाद, इरानले एउटा नयाँ हतियार, हर्मुजको जलमार्ग पत्ता लगाएको छ, जुन उसले आर्थिक विनाश सिर्जना गर्न इच्छाअनुसार प्रयोग गर्न सक्छ र अमेरिकाले यसबारे धेरै गर्न सक्दैन ।
एनडिटिभीबाट
(कौशिक एसोसिएटेड प्रेस र बिबिसी न्युजका पूर्वसम्पादक हुन्)