पूरै रित्तियो क्यान्सरका बिरामीलाई किमोथेरापीमा अत्यावश्यक ‘सिसप्लाटिन’

आइतबार, २१ असार, २०८३
डिजिटल संस्करण
पूरै रित्तियो क्यान्सरका बिरामीलाई किमोथेरापीमा अत्यावश्यक ‘सिसप्लाटिन’

तस्बिर : एआई जेनेरेटेड

क्यान्सरका बिरामीलाई किमोथेरापी चढाउँदा अत्यावश्यक हुन्छन् कार्बोप्लाटिन र सिसप्लाटिन औषधि । तर, देशका सरकारी क्यान्सर अस्पतालमा अहिले सिसप्लाटिन चरम अभाव छ । गत ९ जेठदेखि नै हाहाकार भएको यो अैषधि आयातकर्ताले ८ असारमा १२०० भायल भित्र्याएका थिए । तर, गत बुधबारदेखि फेरि सकिएको छ ।

तर, स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ताबिच मूल्यमा कुरा नमिल्दा थप आयात अन्योलमा छन । ‘अब केही भायल ‘कार्बोप्लाटिन’ होला, तर ‘सिसप्लाटिन’ सकिएको छ । यो औषधिको अन्तर्राष्ट्रिय बजारमा मूल्य महँगिए पनि नेपालमा भने पुरानै मूल्यमा बेच्नुपर्ने अवस्था छ । यसमा स्वचालित नियम वा मन्त्रालयसँग बैठक नबस्दासम्म कुनै निकास निस्किँदैन,’ औषधि आयातकर्ता संघ (मियान)का अध्यक्ष पवन आचार्यले भने ।

उक्त औषधि उत्पादन गर्न नभई नहुने प्लाटिनमको मूल्य पश्चिम एसिया (मध्यपूर्व) द्वन्द्वसँगै बढेको छ । त्यसैले औषधिको मूल्य पनि बढेको हो । उत्पादन घटेपछि भारत र बंगलादेशले औषधिको मूल्य समायोजन गरेका थिए । तर, नेपालमा मूल्य समायोजन हुन सकेको छैन । हाल नेपालमा एक दर्जनभन्दा बढी कम्पनीले विभिन्न औषधि आयातका लागि औषधि व्यवस्था विभागबाट अनुमतिपत्र पाएका छन् । तर, त्यसमध्ये चार आयातकर्ताले मात्रै कार्बोप्लाटिन र सिसप्लाटिन ल्याउने गरेका छन् । हाल उक्त औषधिमा स्वचालित मूल्य कायम हुनुपर्ने माग आयातकर्ताको छ ।

दुई साताअघि संसद्मा बोल्दै स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहताले कार्बोप्लाटिन, सिसप्लाटिन, रेबिजलगायतमा स्वचालित मूल्य लागू हुने बताएकी थिइन् । तर, उक्त स्वचालित मूल्य औषधि व्यवस्था विभागले स्विकारेको छैन । स्वचालित मूल्यभन्दा फरक ढंगले खरिद गर्न नसकिने पक्षमा औषधि व्यवस्था विभाग छ । तर, स्वचालित मूल्य लागू नहुने भए आयात गर्न नसकिने अडानमा आयातकर्ता छन् ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले हाल सिसप्लाटिन र कार्बोप्लाटिनको अभाव भएकाले अस्पतालमा फार्मेसीमा राख्न नसकिएको बताए । ‘अहिले सरकारी सिस्टममा उक्त औषधि छैन, यसअघि अभावकै बिचमा एक–दुई लट आयो, तर निरन्तर आपूर्ति हुन सकेन, मूल्य समायोजन नभएका कारण आपूर्तिकर्ताले ल्याउन मानेनन्,’ उनले भने, ‘हाम्रो अस्पतालमा दैनिक सय भायल सिसप्लाटिन चाहिन्छ, तर यो औषधि बिरामीले आफैँ खोजेर, महँगो मूल्य नितेर, कतिपय त आफैँले इन्डिया पुगेरसमेत औषधि ल्याउनुभएको छ ।’ 

सुझावित समाचार