धनगढीबाट बैतडी आउँदै गरेको यात्रुवाहक बस पाटन नगरपालिका– ८, गैराखानमा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। उनीहरूमध्ये अधिकांशको अवस्था सामान्य छ भने गम्भीर चोटपटक लागेकाहरूलाई डडेलधुरा अस्पताल भर्ना गरिएको छ।
प्रहरीका अनुसार घाइते हुनेहरूमा पाटन नगरपालिका– ६ का जनकप्रसाद पन्त (४३), सिद्धार्थ भण्डारी (११) र मोहन पन्त (३१), पाटन– ३ का चालक दिनेश भाट (२५) र दुरा बोहरा (२५), पुर्चाैडी नगरपालिका– ८ की स्वास्थ्यकर्मी रत्नाकुमारी भण्डारी (३५), पुर्चाैडी– १ की स्वास्थ्यकर्मी अनुगरा ठगुन्ना (३५) रहेका छन्।
त्यस्तै, दशरथचन्द नगरपालिका– ९ का जनकराज जोशी (२६), दशरथचन्द– ६ बस्ने धना पहरी, रमेश महर (४०) र अरुण महर (१४), दशरथचन्द– २ का नरेश लाबड, दशरथचन्द– ४ का सागर ठगुन्ना र निर्मला कार्की (५४) रहेका छन्। डडेलधुरा बस्ने दीपा महरा, सुर्नया गाउँपालिका– २ बस्ने पुष्कर विष्ट (४०), माया विष्ट (२०) तथा परिचय नखुलेका अन्दाजी ६० वर्षका पुरुष र ५५ वर्षीया महिला पनि घाइते भएका छन्।
परिचय नखुलेका पुरुष र महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। त्यस्तै, चालक भाट र दशरथचन्द नगरपालिका– ९ का जनकराज जोशीलाई बढी चोटपटक लागेको छ।
बैतडीस्थित दशरथचन्द राजमार्गको पाटन नगरपालिका– ८, गैराखानमा सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो दुर्घटनामा परेको हो। स्थानीय खोड्पे प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दा तत्काल उद्धार कार्यमा खटिएको बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनको भनाइ छ।