सर्वोच्च अदालतले पूर्वमन्त्री एवं एमाले नेता विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको छ। पौडेलको हकमा उनकी श्रीमती दोमाया पौडेलले दर्ता गराएको रिट न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले खारेज गरिदिएको हो।
सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ परेका पौडेललाई विशेष अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएपछि दोमायाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन्। गैरकानुनी रूपमा हिरासतमा राखेको दाबीसहित दायर रिटमा विशेष अदालतसहित पाँचजनालाई विपक्षी बनाइएको थियो।
विशेषले बिहीबार नै पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
करोडौँको संदिग्ध आर्थिक कारोबार र सम्पत्तिको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेललाई सुर्खेतबाट नियन्त्रणमा लिएको थियो।