अछाम पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

अछाम पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ। सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले मंगलबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन्।

खोप उमेर समूह १६ देखि २३ महिनासम्मका एक हजार ८८० र २४ देखि ५९ महिनासम्मका ६ हजार ८९० बालबालिका गरी जम्मा आठ हजार ७७० जनाले पूर्ण खोप प्राप्त गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले घोषणा सभामा जानकारी गराए। उनका अनुसार अहिले पनि १५ महिनामुनिका तीन हजार ३२८ बालबालिकाले नियमित रूपमा खोप सुविधा लिइरहेका छन्।

अछाममा घरधुरी सर्वेक्षणका क्रममा १६ देखि ५९ महिना उमेर समूहका चारजना बालबालिकाले कुनै पनि खोप नपाएको र ११३ जनाले समयमा पूरा खोप नपाएको भेटिएपछि उनीहरूको विवरण तयार गरी नियमित खोपमार्फत पूरा गरिएको थियो। यसलाई घोषणा सभाका सरोकारवालाहरूले चुनौतीका रूपमा लिएका छन्।

सभामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक कुँवरले बालबालिकाप्रति गरेको लगानी भविष्यका लागि सुनौलो काम हुने भन्दै स्वास्थ्य र शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। त्यसमा स्थानीय तहहरूले विशेष भूमिका खेल्नुपर्ने उनले बताए। पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले बालबालिकाले समयमा खोप नपाउनु चिन्ताको विषय भएकाले यसमा सुधार गरिनुपर्नेमा जोड दिइन्। विशेष गरी आमाबुबा कमाइका लागि भारत जाने र बालबालिका पनि सँगै लैजाने गरेकाले यो समस्या आएको भन्दै उनले यसलाई निकै ठुलो चुनौतीका रूपमा लिइनुपर्ने बताइन्। 

अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले मौलिक हकका रूपमा रहेको यो अधिकारबाट कोही पनि बालबालिका वञ्चित हुन नहुने बताए। त्यसका लागि अज्ञानता, गरिबी वा अन्य के कारणहरु हुन्, त्यो पत्ता लगाएर समाधान खोजिनुपर्ने उल्लेख गरे।

जिल्लाका दशवटै स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुख एवं अन्य सरोकारवालाहरूको उपस्थितिमा सम्पन्न घोषणा सभामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि क्रियाशील स्वास्थ्यकर्मी, स्थानीय तह तथा सञ्चारमाध्यमहरूलाई सम्मानसमेत गरिएको थियो।
 

सुझावित समाचार