समयमै वर्षा नहुँदा सल्यानमा धान रोपाइँ सुस्त, ४५ प्रतिशत मात्र रोपाइँ

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

समयमै मनसुन सक्रिय नहुँदा सल्यानमा धान रोपाइँ प्रभावित भएको छ । गत वर्ष असारको दोस्रो सातासम्म ६० प्रतिशभन्दा बढी राेपाइँ भइसकेको भए तापनि यस वर्ष भने वर्षा नहुँदा जिल्लाभर ४५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । 

वर्षात् नहुँदा धान रोपाइँ कम भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ। गत वर्षको तुलनामा कम भए पनि रोपाइँ गर्ने समय बाँकी रहेकाले वर्षात् हुनासाथ रोपाइँ ह्वात्तै बढ्ने कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । 

रोपाइँका लागि खेत जोतेर किसानले खेत तयार पारे पनि पानीको मुहानआसपासमा मात्र किसानहरूले धानखेती गर्न सकेको आचार्यको भनाइ छ । शारदा नदीआसपास, सिद्ध कुमाख, दार्मा, त्रिवेणी र छत्रेश्वरी गाउँपालिकाका केही क्षेत्रमा मात्र खेती भएको छ ।

६ हजार २९ हेक्टरमा बर्खे धानखेती हुँदै आइरहेको सल्यानमा हालसम्म अझै दुई हजार ७ सय हेक्टरमा मात्र खेती भएको कार्यालयले जनाएको छ । किसानको खेतसम्म सिँचाइ कुलो पुगे पनि वर्षात् नहुँदा रोपाइँ प्रभावित भएको आचार्यको भनाइ छ ।  गत वर्ष  सल्यानमा ६ हजार २९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा २८ हजार ९५८ मेट्रिकटन धान उत्पादन भएको थियो । 

See More On

सुझावित समाचार