राहदानी छपाइमा भ्रष्टाचार : १० अर्बको बिगो, अधिकतम पाँच लाख मात्रै धरौटी

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

अख्तियारले राहदानी छपाइसम्बन्धी भ्रष्टाचार मुद्दामा १० अर्बको बिगो तोकेर भ्रष्टाचार मुद्दा चलाएकोमा विशेष अदालतले साधारण तारेखदेखि अधिकतम पाँच लाखसम्म मात्रै धरौटीमा रिहा गर्न आदेश दिएको छ । सात अभियुक्तमा पाँच धरौटी र दुईजना साधारण तारेखमा छुटेका हुन् । 

राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल पाँच लाख, निर्देशक सुनीलकुमार केसी चार लाख, सोमेश थापा र विपिन प्रसाईं तीन–तीन लाख तथा जर्मन कम्पनीका नेपाली प्रतिनिधि मणिन्द्रकुमार मल्ल पाँच लाख धरौटीमा छुटेका छन् । त्यस्तै, परराष्ट्र मन्त्रालयका कानुन सेवा उपसचिव राजाराम दाहाल र लेखा अधिकृत तुलसीप्रसाद आचार्यलाई भने साधारण तारेखमा छाड्ने आदेश भएको छ । मुद्दा दायर भएको ठिक एक सातापछि विशेष अदालतले सोमबार थुनछेक आदेश दिएको हो । 

तत्कालीन महानिर्देशक अर्यालसहित पाँचजनाको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७(घ) आकर्षित हुने न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले दिएको आदेशमा उल्लेख छ । जुन दफामा ‘तत्काल प्रमाणबाट कुनै अभियुक्तलाई थुनामा राखी पुर्पक्ष गर्नुपर्ने नदेखिएमा निजसँग निजले हानि–नोक्सानी गरेको बिगो वा गैरकानुनी रूपमा लिएको रकम र निजलाई हुन सक्ने कैद वा जरिवानासमेतलाई दृष्टिकोण गरी धरौटी वा जमानत माग्ने’ भन्ने उल्लेख छ । 

दाहाल र आचार्यको हकमा भने दफा ७(ग) अनुसार आदेश भएको छ । जसमा खास समयमा हाजिर हुन आउने गरी तारेखमा नराखी पुर्पक्ष गर्ने उल्लेख छ । उनीहरू विभागबाट पहिले नै सरुवा भइसकेको देखिएको भन्दै विशेष अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत ८ असारमा १६ व्यक्ति र दुई जर्मन कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो । यसमा परराष्ट्रका कर्मचारीलाई १० अर्ब १३ करोड बिगो कायम गरिएको थियो । बिगोको तुलनामा विशेष अदालतले न्यून बिगो माग गरेको छ । अख्तियारले ठेक्काको कुल रकमलाई नै बिगो कायम गरेको छ । त्यसमध्ये पेस्की रकम मात्र भुक्तानी भएको थियो । 

सार्वजनिक खरिद नियमावली मिचेर दुई जर्मन कम्पनीलाई फाइदा हुने गरी बोलपत्रसमेत बदनियतसाथ पटक–पटक संशोधन गरी भ्रष्टाचार गरेको भन्दै आयोगले मुद्दा दायर गरेको थियो । यसमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध भने आयोगले दोस्रो चरणमा अनुसन्धान गरिरहेको छ । उनकै दबाबमा ठेक्कासमेत टुक्र्याएर यसमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको थियो । 

यस मुद्दामा प्रतिवादी रहेका जर्मन कम्पनीका नेपाली प्रतिनिधि सिद्धार्थ थापासहित परराष्ट्रका कर्मचारीहरू शत्रुध्वनप्रसाद पोखरेल, रवीन्द्र राजभण्डारी, भेषप्रसाद भुर्तेल र पुष्करराज नेपाल फरार सूचीमा छन् । त्यस्तै, जर्मन कम्पनीहरू भेरिडोस र म्युहलबाउरका दुई–दुई सञ्चालकलाई पनि प्रतिवादी बनाइएको छ । 

दुई कम्पनीलाई गरी गत वर्ष राहदानी विभागले विद्युतीय राहदानी छाप्न सात अर्ब ६६ करोडको ठेक्का दिएको थियो । सार्वजनिक खरिद नियमावलीका विभिन्न दफा मिचेर ठेक्का दिएको अख्तियारको निष्कर्ष छ । यसरी ठेक्का पाएका कम्पनीले गत फागुनमै राहदानी छाप्नुपर्नेमा अझै छपाइ सुरु गर्न सकेका छैनन् । जसकारण पासपोर्टको समेत अभाव हुने अवस्था देखिएपछि प्रधानमन्त्री कार्यालयले नै चासो दिएर यसमा छानबिन गर्न अख्तियारलाई आग्रह गरेको थियो । सोही आधारमा आयोगले फास्ट ट्र्याकमा अनुसन्धान गरी मुद्दा चलाएको हो । आयोगले तत्कालीन महानिर्देशकलगायत कर्मचारीलाई थुनामै राखेर अनुसन्धान गरेको थियो । 

पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति 
सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि हिरासतमा रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ । पौडेल एक साता हिरासतमा बसिसकेका छन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत ८ असारमा उनलाई सुर्खेतबाट पक्राउ गरेको थियो । अर्थमन्त्री हुँदा बिचौलिया दीपक भट्टको समूहलाई फाइदा हुने गरी निर्णयहरू गरेको र त्यसबापत प्राप्त गरेको धनलाई विभिन्न व्यक्तिको नाममा लुकाएर सम्पत्ति शुद्धीकरण गरेको अभियोग उनीमाथि छ । पौडेलले भने आफूलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटसमेत दर्ता गराएका छन् । जसमा मंगलबार सर्वोच्चमा सुनुवाइ हुँदै छ । 
 

See More On

सुझावित समाचार