नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा १६ असारमा सुनुवाइ हुने भएको छ।
पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै १० असारमा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले १५ असारभित्र महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्न र १६ असारका लागि सुनुवाइ तोक्ने आदेश दिएको हो।
विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा ८ असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि ९ असारमा उनलाई विशेष अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।
विशेष अदालतले अनुसन्धानका लागि उनलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। हाल पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाइरहेको छ।