- उपत्यकामा दैनिक चार–पाँच ठाउँमा देखिइरहेको छ संक्रमण, भक्तपुरको चाँगुनारायण र सूर्यविनायक ‘हट स्पट’
गत ४ चैतमा झापाबाट फैलन थालेको बर्डफ्लु यतिवेला काठमाडौं उपत्यकामा केन्द्रित भएको छ । देशभरका ११ जिल्लामा फैलिएको यो रोग अन्यत्र पूर्ण रूपले नियन्त्रणमा आइसकेको छ । तर, काठमाडौं, भक्तपुर र ललितपुरमा भने तीव्र रूपले फैलिएको छ । असारमा पनौती र पाँचखालमा देखिएको संक्रमण नियन्त्रण गरेयता काभ्रेमा थप स्थानमा बर्डफ्लु देखिएको छैन ।
पशु सेवा विभागका अनुसार उपत्यकाको तीन जिल्लामा भने दैनिक चार–पाँचवटा संक्रमण देखिने गरेको छ । संक्रमित स्थानमा पशु चिकित्सक पुगेर कुखुरा, अन्डा र दाना नष्ट गर्ने तथा वरिपरि सरसफाइ गरी रोग नियन्त्रणका लागि पहल भइरहेको विभागका महानिर्देशक डा. उमेश दाहालले बताए । उपत्यकामा अहिले बर्डफ्लुको संक्रमण बढिरहेको, तर अन्य जिल्लामा नियन्त्रण भइसकेको उनले बताए । ‘काठमाडौंका तीनवटै जिल्लामा संक्रमण फैलिएको छ । खासगरी, काँठ क्षेत्रमा संक्रमणको दर उच्च छ,’ उनले भने, ‘काभ्रेमा दुई स्थानमा देखिएयता अरू संक्रमण छैन । अन्य जिल्लामा भने नियन्त्रणमा आइसकेको छ ।’
विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार काठमाडौंको गोकर्णेश्वर, कागेश्वरी मनोहरा र बुढानीलकण्ठ नगरपालिकामा बर्डफ्लुको संक्रमण तीव्र दरले फैलिएको छ । ललितपुरको सुनाकोठी, महालक्ष्मी, चुनिखेल र गोदावरी नगरपालिका तथा भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बर्डफ्लुको संक्रमण उच्च छ । ‘उपत्यकाको तीन जिल्लामध्ये भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिका बर्डफ्लुको हट स्पट हो,’ उपाध्यायले भने, ‘यहाँका घर र फार्मपिच्छे संक्रमण दर उच्च छ ।’
उपत्यकाको काँठ क्षेत्रमा रहेका साना फार्ममा अहिले संक्रमण उच्च रहेको उनले बताए । ‘साना किसानले घरमा वा सानो फर्ममा पालेको लोकल कुखुरामा बर्डफ्लुको संक्रमण उच्च छ,’ उनले भने, ‘संक्रमण देखिएको एउटा फार्ममा तीन–चार सयदेखि अधिकतम हजारसम्म कुखुरा नष्ट गर्ने गरिएको छ ।’
उपत्यकाको काँठ क्षेत्रमा एक–दुई सय मिटरभित्रै कुखुरा फार्म भएकाले पनि छिटो संक्रमण फैलिने गरेको छ । ‘छोटो दूरीमै दुई वा सोभन्दा बढी फार्म छन्, दुई फार्मबिच नै कुखुराहरू यताउति गर्न भ्याउँछन्,’ उपाध्यायले भने, ‘त्यसैले एउटा फार्ममा बर्डफ्लु देखियो भने अर्कोमा सर्ने भइहाल्यो ।’
उपत्यकाको फार्ममा किसानहरूले रोग सर्न नदिने गरी अवलम्बन गर्नुपर्ने जैविक सुरक्षामा समेत धेरै ध्यान नदिएको महानिर्देशक दाहालले बताए । ‘मास्क र पन्जा लगाएर मात्र फार्मको काम गर्नुपर्ने, प्रत्येकपटक फार्ममा छिरेर आएपछि नुहाउनेलगायत काम किसानबाट हुन सकेको छैन,’ दाहालले भने, ‘एउटै क्रेटमा पटक–पटक अन्डा राखेर बजार पठाउने गर्नाले पनि संक्रमण फैलिन मद्दत मिलेको छ ।’ त्यस्तै, कोल्डस्टोरमा धेरै स्थानबाट जिउँदो कुखुरा ल्याएर मिसाउने गर्दा पनि संक्रमणको जोखिम बढ्दै गएको विभागको बुझाइ छ ।
काठमाडौंमा १३, भक्तपुरमा १६ र ललितपुरमा नौ स्थानमा बर्डफ्लु पुष्टि भइसकेको छ । जसकारण काठमाडौंमा ४७ हजार ८९१, भक्तपुरमा ३५ हजार २२३ र ललितपुरमा १८ हजार ५६६ कुखुरा नष्ट गरिएको छ । यसरी तीन जिल्लामा गरेर मंगलबारसम्म एक लाख एक हजार ६८० कुखुरा नष्ट गरिएको छ । बुधबार मात्रै भक्तपुरको चार–पाँच स्थानमा बर्डफ्लुको सूचना आएपछि निरीक्षणका लागि प्राविधिकहरू खटिएको उनले बताए ।
कुखुराको मासु बिक्रीमा रोक लगाउने योजना
अहिले उपत्यकामा लोकल र लेयर्स कुखुरामा मात्रै संक्रमण देखिएकाले स्थिति नियन्त्रणमै रहेको विभागका अधिकारीको भनाइ छ । तर, बोइलर कुखुरामा सर्यो भने नियन्त्रण गर्न नसकिने भएकाले अहिलेको संक्रमण दर एक सातासम्म निरन्तर रहेको खण्डमा भने कुखुराको मासु बिक्रीमै रोक लगाउनेबारे छलफल थालिएको विभागका वरिष्ठ पशु चिकित्सक उपाध्यायले बताए । ‘लोकल र लेयर्स कुखुरामा मात्रै संक्रमण भएकाले अहिले हल्लाखल्ला कम छ,’ उनले भने, ‘यही वेला नियन्त्रण गर्न सकियो भने पूर्ण रूपले निर्मूल पार्न सकिन्छ भन्ने हाम्रो बुझाइ छ ।’
लोकल कुखुराको संख्या थोरै भएको र लेयर्स कुखुराले पार्ने अन्डा नष्ट गर्ने काम भइरहेको विभागले जनाएको छ । तर, बोइलरमा सर्यो भने ठुलो मात्रामा कुखुरा नष्ट गर्नुपर्ने र रोग पनि छिटो फैलन सक्ने जोखिम हुने हुन्छ ।
विभागले बुधबार दिउँसो लेयर्स, ह्याचरी र बोइलर कुखुरा उत्पादक किसानहरूसँग छलफलसमेत गरेको छ । सो छलफलमा रोग नियन्त्रणका लागि कुखुराको खरिद–बिक्रीमा रोक लगाउनुपर्ने अवस्था आए सहयोग गर्न आग्रह गरेको उपाध्यायले बताए । छलफलमा सहभागी ह्याचरी उद्योग संघका वरिष्ठ उपाध्यक्ष डा. बलराम किसीले संक्रमण नियन्त्रण गर्न र क्षतिपूर्ति दिने व्यवस्था किसानमैत्री बनाउन सुझाव दिएको बताए । पशु चिकित्सक उपाध्यायले संक्रमण फैलिएर मानिसमा सर्न नदिन पनि उपत्यकामा मासुको कारोबार रोक्का गर्नुपर्ने बताए । ‘संक्रमण धेरै बढ्यो भने मानिसमा पनि सर्न सक्छ । त्यसैले मानिसमा सर्न नदिनका लागि पनि कारोबार रोक्का गर्नुपर्ने स्थिति हुन्छ,’ उनले भने, ‘किनभने सबै कुखुरा नष्ट गर्ने कुरा सम्भव हुँदैन । तर, कारोबार नै रोकियो भने त नियन्त्रण गर्न सघाउ पुग्छ नि ।’
मान्छेमा सर्न नदिन मारिन्छ कुखुरा
पशु सेवा विभागका वरिष्ठ पशु चिकिस्तक डा. मुकुल उपाध्यायले मानिसमा बर्डफ्लु सर्न नदिन संक्रमित कुखुरा र आसपासका क्षेत्रमा समेत रहेका जिउँदो कुखुरा, अन्डा, दानालगायत नष्ट गर्ने गरेको बताए । उनका अनुसार बर्डफ्लु सोझै मानिसमा सर्दैन । तर, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र रुघाखोकी लागिरहेको मानिस बर्डफ्लु संक्रमित क्षेत्रमा पुगेको खण्डमा सर्ने उच्च जोखिम हुन्छ । बर्डफ्लु संक्रमित क्षेत्रबाट तेस्रो भाइरस जन्मेर मानिसमा नसरोस् भन्नकै लागि कुखुरा, अन्डा र दाना नष्ट गर्ने गरेको उनले बताए । ‘बर्डफ्लु मानिसमा नसरोस् भन्नका लािग संक्रमित क्षेत्रको कुखुरा, दाना र अन्डा नष्ट गर्ने गरिएको हो,’ उनले भने, ‘यदि तेस्रो भाइसका माध्यमबाट मानिसमा नसर्ने भए कुखुरा, दाना, र अन्डा नष्ट गरिँदैनथ्यो ।’
११ जिल्लामा यस्तो छ संक्रमणको अवस्था
पशु सेवा विभागकी सूचना अधिकारी डा. इन्दिरा शर्माका अनुसार ४ चैतयता ११ जिल्लामा संक्रमण फैलिएको छ । यसमध्ये काठमाडौं, ललितपुर र भक्तपुरबाहेकका आठ जिल्ला चितवन, झापा, मोरङ, सुनसरी, नवलपरासी पश्चिम, बारा, महोत्तरी र काभ्रेमा बर्डफ्लु नियन्त्रणमा आइसकेको छ । बर्डफ्लु संक्रमण नियन्त्रण गर्न हालसम्म पाँच लाख ६९ हजार ८५८ जिउँदो कुखुरा, नौ लाख ८९ हजार ३१३ वटा अन्डा र एक लाख ९५ हजार ४८५ किलो दाना नष्ट गरिएको उनले जानकारी दिइन् । चितवनमा ५७ हजार ६३ कुखुरा, दुई लाख ९५ हजार ५० वटा अन्डा र १२ हजार किलो दाना नष्ट गरिएको विभागले जनाएको छ । झापामा २० हजार ९० कुखुरा, ९७ हजार ४५० वटा अन्डा र १० हजार ४६५ किलो दाना, मोरङमा एक लाख एक हजार ८६० कुखुरा, ९८ हजार ३२ वटा अन्डा र २३ हजार ८१० किलो दाना, सुनसरीमा दुई लाख ८५ हजार ५६४ वटा कुखुरा, चार लाख २७ हजार ५८० वटा अन्डा र एक लाख २० हजार २२५ किलो दाना नष्ट गरिएको विभागले जनाएको छ । नवलपरासी पश्चिममा २०८ वटा कुखुरा र सय किलो दाना, बारामा दुई हजार ८६५ कुखुरा, चार हजार १२२ वटा अन्डा र तीन हजार १२५ किलो दाना, महोत्तरीमा ७८ वटा कुखुरा र काभ्रेमा ४५० वटा कुखुरा नष्ट गरिएको विभागले जनाएको छ ।
उपत्यकामा कागबाट फैलिँदै छ संक्रमण
उपत्यकामा कागबाट संक्रमण उच्च दरले फैलिएको पशु सेवा विभागको बुझाइ छ । बर्डफ्लु संक्रमित केही कुखुरा किसानले बोरामा हालेर फाल्ने गरेका छन् । यस्ता कुखुरा कागले खाने र अर्को ठाउँ पुगेर फेरी आहारा टिप्ने गर्दा संक्रमण दर बढेको वरिष्ठ पशु चिकित्सक उपाध्यायले बताए । ‘कागले संक्रमित कुखुरा खाने र अर्को ठाउँ पुगेर आहारा टिप्ने गर्दा त्यस क्षेत्रका पक्षीमा तुरुन्तै संक्रमण फैलिएको छ,’ उनले भने, ‘कागले घाँस टिप्ने, दाना खानेलगायतका क्रियाकलाप गर्दा काँठ क्षेत्रमा बढी संक्रमण फैलिन पुगेको हो ।’ कुखुरामा ‘एच फाइभ एनवान’ भाइरसबाट बर्डफ्लु लाग्ने गरेको छ । तर, पछिल्लो देखिएको यो भाइरस विगतको तुलनामा बढी सक्रिय भइरहेको विभागको प्रारम्भिक बुझाइ छ । छिटो सर्ने र गाढा प्रभाव पर्ने हुन थालेपछि विभागले भारतमा नमुना पठाएर भाइरसको प्रकृतिबारे अध्ययन गर्न लागेको जनाएको छ ।