मनसुन प्रतिकार्य कमान्ड पोस्टको निर्णय
- जोखिमपूर्ण अवस्थामा जबर्जस्ती सवारी चलाए कारबाही
- १५ दिनका लागि खाद्यान्न जोहो गर्न स्थानीय तहलाई निर्देशन
मनसुन सुरु भएसँगै अब देशका राजमार्गमा जुनसुकै वेला सवारी आवागमन रोक्न सकिने भएको छ । बाढी, पहिरो र डुबानको जोखिम बढेपछि ‘मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ले मनसुन अवधिभर मौसमको अवस्था र विपत्को गाम्भीर्य हेरेर राष्ट्रिय राजमार्ग तथा जोखिमयुक्त सडकखण्डमा सवारी सञ्चालन रोक्न ७७ वटै जिल्ला सुरक्षा समितिलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बुधबार गरेको हो ।
यससँगै मनसुनका कारण सडक अवरुद्ध हुनासाथ तत्काल खुलाउन चालकसहितका हेभी इक्विपमेन्ट २४सै घण्टा तयारी अवस्थामा राख्न सडक विभाग, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गरिएको छ । कमान्ड पोस्टले जोखिमपूर्ण अवस्थाको निर्णय अटेर गर्दै बलजफ्ती सवारी चलाए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिएको छ ।
मनसुन भित्रिएसँगै यस वर्षको प्राकृतिक विपत् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि बसेको कमान्ड पोस्टको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ लाई केन्द्रदेखि स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।