- मेसीले विश्वकपमा सर्वाधिक १८ गोल गरेका दिन फ्रान्सका एम्बाप्पेले इराकविरुद्ध दुई गोल गर्दै विश्वकपमा गोल संख्या १६ पुर्याए
फ्रान्सका कप्तान केलियन एम्बाप्पेले विश्वकप फुटबलमा सर्वाधिक गोल गरेका अर्जेन्टिनी प्ले–मेकर लियोनल मेसीमाथि दबाब बढाएका छन् । अस्ट्रियाविरुद्ध दुई गोल गरेका मेसी विश्वकपकै सर्वाधिक गोलकर्ता बनेका थिए । उनले २८ खेलमा १८ गोलको रेकर्ड बनाएका छन् । मेसीले विश्व कीर्तिमान बनाएको दिन मंगलबार बिहान फ्रान्सका एम्बाप्पेले पनि इराकविरुद्ध दुई गोल गरे । जुन गोलपछि उनलाई विश्वकपको सर्वाधिक गोलकर्ता सूचीको दोस्रो स्थानमा पुर्यायो ।
एम्बाप्पेले दोस्रो स्थानमा जर्मनीका पूर्वखेलाडी मिरोस्लाभ क्लोसँग १६ गोल बराबरी गरेका छन् । एम्बाप्पेले केवल १६ खेलमा १६ गोल गरे । अब मेसीको कीर्तिमान बराबर गर्न उनलाई दुई गोल आवश्यक छ । खराब मौसमका कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ करिब दुई घण्टा ढिलो सुरु भयो । प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा लामो मौसमजन्य अवरोध देखिएको थियो । एम्बाप्पेले गरेका दुई गोलबिच झन्डै तीन घण्टाको अन्तर रह्यो । उनले पहिलो गोल खेलको १४औँ मिनेटमा गरेका थिए । गोल्डेन बुटको दौडमा पनि एम्बाप्पेले चार गोल गरेका छन् । मेसीले दुई खेलमा पाँच गोल गरेका छन् । उनले अल्जेरियाविरुद्ध ह्याट्रिक गरेका थिए ।
फ्रान्स र इराकबिचको खेलमा सबैभन्दा चर्चित पक्ष मौसम बन्यो । पहिलो हाफ सकिनेबित्तिकै चट्याङसहितको वर्षा सुरु भएपछि दर्शकलाई रंगशालाभित्र सुरक्षित स्थानमा जान निर्देशन दिइएको थियो । १ घण्टा ४० मिनेटपछि खेलाडी वार्मअपका लागि मैदान फर्किए । मैदानमा जमेको पानी हटाउन समय लाग्दा खेल पुनः सुरु हुन थप ढिलाइ भएको थियो ।