लामो खडेरीले सुक्न थाले बालीनाली

बुधबार, १० असार, २०८३
डिजिटल संस्करण
लामो खडेरीले सुक्न थाले बालीनाली

बाँकेको नरैनापुर गाउँपालिका– ५, मटेहियामा खडेरीले धाँजा फाटेको धानको ब्याड

केही दिनदेखिको अत्यधिक गर्मीले बाँकेको कृषि क्षेत्रमा असर पारेको छ । गर्मीले सबैभन्दा असर तरकारी खेतीमा पारेको जानकी गाउँपालिका– ३ का लालजी घरुकले बताए । उनले अकासे पानी नपर्दा फल्न लागेको तरकारी सुक्न थालेको जानकारी दिए । ‘फल लागेको तरकारी सुक्न थालेको छ । चर्को गर्मीले रोगसमेत लागेको छ,’ उनले भने ।

घरुकले अकासे पानी नपर्दा तरकारीमा फूल सुकेर झर्ने समस्या देखापरेको बताए । बोरिङबाट पानी सिँचाइ गरे पनि बढ्न नसकेको उनको भनाइ छ । ‘फल लाग्छ, तर सुकेर झर्छ । बोट पनि मर्न लागेको छ,’ उनले भने । गर्मीले ड्रागन खेतीमा पनि असर परेको छ । पानी नपरेका कारण ड्रागनको बोटसमेत सुक्न थालेको जानकी गाउँपालिका– ३ का कमल रानाले बताए । उनले पहिलो चरणको फल लिन नपाएको बताए । ‘यो दोस्रो लट हो । पहिलो लटको पनि फल लिन पाएनौँ । दोस्रो लटको फूल पनि सुकेर फल लाग्न पाएको छैन,’ उनले भने । फूल लागे पनि फल नलाग्ने र सानो फल्ने समस्या देखिएको उनले बताए । ‘यसपालि राम्रो आम्दानी लिने वेला थियो । पानी नपरेर फल लाग्न पाएको छैन,’ उनले भने, ‘पानी नपाएर बोट सुक्न थालेको छ ।’

गर्मीले धानको ब्याड राखेको खेतमा धाँजा फाटेको छ । समयमा पानी नपर्दा ब्याड राखेको खेतमा धाँजा फाटेको नरैनापुर गाउँपालिका– ५, मटेहियाका रामसोहन यादवले बताए । उनले बोरिङको पानीले धान्न नसकेको बताए । ‘लामो खडेरीले बोरिङबाट पानी आउन छाडिसक्यो । सिँचाइ गर्न नपाउँदा ब्याड राखेको खेतमा धाँजा फाटेको छ,’ उनले भने । 

नेपालगन्जमा फेरि गर्मी बिदा 
अत्यधिक गर्मी बढेपछि नेपालगन्ज उपमहानगरले फेरि तीन दिन गर्मी बिदा दिएको छ । यसअघि एक हप्ता गर्मी बिदा दिएको उपमहानगरले १०–१२ असारसम्म गर्मी बिदा दिएको हो । गर्मीले बालबालिकालाई विद्यालय आउजाउ गर्न र पठनपाठनमा समस्या भएकाले उपमहानगरभित्रका सम्पूर्ण विद्यालयमा तीन दिन बिदा दिने निर्णय भएको शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । ‘अत्यधिक गर्मीले साना बालबालिकालाई विद्यालय जान र आउन तथा अध्ययन–अध्यापनमा समस्या देखिएको छ,’ उनले भने ।

सुझावित समाचार