रास्वपा महाधिवेशन : निर्वाचन उम्मेदवारका प्रस्तावक–समर्थकसम्बन्धी नियम सार्वजनिक

मंगलबार, ९ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारकाे प्रस्तावक तथा समर्थकसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको सूचनाअनुसार सभापति पदका उम्मेदवारले मनोनयन दर्ता गर्दा एकजना प्रस्तावक र कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ।

त्यस्तै, पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि एकजना प्रस्तावक र २१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य गरिएको छ। निर्वाचन आयोगले कुनै पनि पदका उम्मेदवारका लागि एउटै व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने स्पष्ट गरेको छ। तर, समर्थकका रूपमा भने एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको मनोनयन फारममा हस्ताक्षर गर्न सक्ने व्यवस्था गरिएको छ।

सूचनामा प्रस्तावक वा समर्थक बन्ने व्यक्ति महाधिवेशन प्रतिनिधिको सूचीमा समावेश भएको पार्टी सदस्य हुनुपर्ने र प्रस्तावक वा समर्थक स्वयं उम्मेदवार बन्न नपाइने उल्लेख गरिएको छ। आयोगले जारी गरेको सूचनामा तोकिएका नियमविपरीत दर्ता भएका उम्मेदवारी फारम स्वतः अमान्य हुने चेतावनीसमेत दिएको छ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा हस्ताक्षरित उक्त सूचनामार्फत सबै उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिलाई निर्वाचन प्रक्रिया निष्पक्ष, व्यवस्थित र पारदर्शी बनाउन नियमहरूको पालना गर्न आग्रह गरिएको छ। रास्वपाको राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता तथा निर्वाचन कार्यक्रम हाल निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको छ।

सुझावित समाचार