मनहरी गाउँपालिकाले सार्वजनिक गर्‍यो नीति तथा कार्यक्रम, डिजिटल सुशासनदेखि कृषि आधुनिकीकरणसम्म प्राथमिकता

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि डिजिटल सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासलाई केन्द्रमा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले सूचना प्रविधिमैत्री सेवा प्रवाह, उत्पादनमुखी कृषि, गुणस्तरीय सार्वजनिक सेवा र समावेशी विकासलाई आगामी वर्षका प्रमुख प्राथमिकताका रूपमा अघि सारेको हो।

सोमबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशनको पहिलो बैठकमा अध्यक्ष रन्जन कालाखेतीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्थानीय सरकारलाई थप प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बनाउने लक्ष्य लिएको बताए।

गाउँपालिकाले आगामी वर्ष डिजिटल शासन प्रणालीलाई संस्थागत रूपमा विस्तार गर्ने नीति लिएको छ। यसअन्तर्गत विद्यालय, स्वास्थ्य संस्था तथा वडा कार्यालयहरूमा विभिन्न व्यवस्थापन सूचना प्रणाली (एमआइएस) लागू गरिनेछ। स्थानीय सरकारका सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै गाउँपालिकाको आफ्नै मोबाइल एप सञ्चालन गर्ने, अनलाइन सेवाको दायरा विस्तार गर्ने तथा प्रशासनिक कामकाजलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने योजना नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यसैगरी, स्थानीय तहको सामाजिक, आर्थिक तथा भौगोलिक विवरण समेटिएको डिजिटल प्रोफाइल तयार गरी तथ्यमा आधारित योजना निर्माण तथा कार्यान्वयन गरिने गाउँपालिकाले जनाएको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड

शिक्षा क्षेत्रलाई नीति तथा कार्यक्रमको प्रमुख प्राथमिकतामध्ये एक बनाइएको छ। सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न सूचना तथा सञ्चार प्रविधिको प्रयोग विस्तार, शिक्षकहरूको क्षमता अभिवृद्धि तथा प्राविधिक शिक्षाको विस्तार गरिने नीति लिइएको छ।

विद्यार्थीहरूको सिकाइ उपलब्धि सुधार गर्न अतिरिक्त कक्षा सञ्चालन, नियमित शैक्षिक परीक्षण तथा नवप्रवर्तनात्मक सिकाइ कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। विद्यालयहरूमा प्रविधिमैत्री शिक्षण प्रणाली विकास गर्दै प्रतिस्पर्धी र गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ।

‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता

स्वास्थ्य क्षेत्रतर्फ गाउँपालिकाले विगतदेखि सञ्चालन गर्दै आएको ‘जिरो होम डेलिभरी’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ। गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकतामा राख्दै संस्थागत प्रसूति सेवाको पहुँच विस्तार गरिने नीति लिइएको छ।

त्यसैगरी मानसिक स्वास्थ्य, किशोर स्वास्थ्य तथा नसर्ने रोग नियन्त्रणसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको छ। स्वास्थ्य संस्थाहरूमा डिजिटल स्वास्थ्य अभिलेख प्रणाली लागू गरी सेवाग्राहीको स्वास्थ्य विवरणलाई व्यवस्थित र प्रविधिमैत्री बनाइने योजना अघि सारिएको छ।

खानेपानी तथा सरसफाइतर्फ सुरक्षित खानेपानीको पहुँच नपुगेका बस्तीहरूमा सेवा विस्तार गरिने भएको छ। जलवायु परिवर्तनका असरलाई ध्यानमा राख्दै पानीका मुहान संरक्षण, जलस्रोत व्यवस्थापन तथा सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाइने गाउँपालिकाले जनाएको छ।

सडक, पुल र कृषि सडकमा निरन्तर लगानी

पूर्वाधार विकासअन्तर्गत सडक सञ्जाल विस्तार, पुल तथा कल्भर्ट निर्माण, कृषि सडक स्तरोन्नति तथा सार्वजनिक भवनहरूको निर्माण र मर्मतलाई निरन्तरता दिइने भएको छ। ग्रामीण क्षेत्रमा यातायात पहुँच विस्तार गरी उत्पादन र बजारबीचको सम्बन्धलाई थप सुदृढ बनाउने लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गाउँपालिकाले कृषि क्षेत्रलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम अघि सारेको छ। कृषकलाई प्रविधि, तालिम, अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। उन्नत बीउबिजन, सिँचाइ सुविधा, पशुपालन, दुग्ध उत्पादन तथा कृषि यान्त्रीकरणलाई प्रोत्साहन गरिने नीति लिइएको छ।

स्थानीय उत्पादनको बजारीकरण तथा कृषिमा युवाको आकर्षण बढाउन विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ। उत्पादनदेखि बजारसम्मको श्रृंखलालाई व्यवस्थित बनाउँदै कृषि क्षेत्रलाई आयआर्जन र रोजगारीको भरपर्दो माध्यम बनाउने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रममा सामाजिक समावेशीकरणलाई पनि प्राथमिकतामा राखिएको छ। ज्येष्ठ नागरिक, महिला, बालबालिका, दलित, आदिवासी जनजाति, अपांगता भएका व्यक्ति तथा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार, सहभागिता र पहुँच सुनिश्चित गर्न विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ।

गाउँपालिकाले सामाजिक न्याय, समान अवसर र सहभागितामूलक विकासलाई स्थानीय शासनको आधारभूत सिद्धान्तका रूपमा अघि बढाउने जनाएको छ।

सुझावित समाचार