राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को बोर्ड परीक्षामा गुल्मीकाे छत्रकोट गाउँपालिका वडा नं ४ दिगामकोटमा अवस्थित श्री आदर्श माध्यमिक विद्यालयले जिल्ला प्रथम भएको दाबी गरेको छ ।
यस विद्यालयमा अध्ययनरत छात्रा विविका पन्थ ३.८१ जिपिएसहित जिल्ला प्रथम हुन सफल भएको विद्यालयका प्रधानाध्यापक सरस्वती सिंजाली जानकारी दिइन् । 'जिल्ला भरका विद्यालयमा सम्पर्क र समन्वय गर्दा ३.८१ भन्दा माथिको अंक कुनै पनि विद्यालयका छात्रछात्राको नआएको हुँदा हामी नै जिल्ला प्रथम भएका छौं,' सिंजालीले भनिन्, 'सिद्धबाबा मावि तम्घासले पनि ३.८१ अंक ल्याएको भन्ने सुनेकी छु । तर यसको पुष्टि भएको छैन ।'
यस विद्यालयमा २५ जना विद्यार्थीले १२ कक्षाको परीक्षा दिएकोमा तीन जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
देशभर नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार नियमिततर्फ सहभागी तीन लाख ३२ हजार २४१ विद्यार्थीमध्ये दुई लाख ३१ हजार ७७० जना (६९.७५ प्रतिशत) उत्तीर्ण भएका छन् । यो गत वर्षको ६१.१७ प्रतिशतको तुलनामा करिब नौ प्रतिशतले बढी हो ।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ एक लाख ४७१ विद्यार्थी ननग्रेडेड भएका छन् । गत वर्ष अंग्रेजी विषयमा ६१ हजारभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएका थिए । यसपटक संख्या घटे पनि अंग्रेजी नै सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुने विषय बनेको छ । अंग्रेजीमा ३३ हजार दुई सय अनुत्तीर्ण छन् ।
आंशिकतर्फ ४२.३८ प्रतिशत उत्तीर्ण
आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ३६ हजार ४२० जना (४२.३८ प्रतिशत) उत्तीर्ण भएका छन् ।
ग्रेडवृद्धि परीक्षा साउनमा
दुई विषयसम्म ननग्रेडेड भएका विद्यार्थीका लागि बोर्डले १ र २ साउनमा ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ । साथै, उत्तरपुस्तिका पुनरावलोकन तथा रिटोटलिङका लागि शनिबारदेखि बोर्डको अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ । आवेदन अवधि एक सातासम्म रहने बोर्डले जनाएको छ ।